तीन तहको सरकार जनताको निमित्त ‘झिकीदेउ गाँड भन्दा थपिदेउ गाँड’ भएको त हैन भनेर विवेचन पनि गर्न नपाउने हो भने यो कस्तो सार्वभौमसत्तासम्पन्नता ? कस्तो वैचारिक स्वतन्त्रता ? अनि शासन व्यवस्था जनताले कस्तो अनुभव गरेका छन् भनेर विवेचन गर्न नपाउनु कस्तो अग्रगमन ?
- स्वयम्भूनाथ कार्की
सनातनमा प्रचलित धार्मिक आख्यानहरूमा एक पात्रको उल्लेख आउँछ, त्यो पात्र हो घण्टाकर्ण । घण्टाकर्णको आख्यानमा जोडिएर एक जात्रा नेवाःहरूले मनाउने गर्दछन् । चन्द्र महिनाको श्रावण कृष्ण चतुर्दशी अर्थात् नेपाल सम्वत्को दिल्लगा महिनाको चौधौँ दिन मनाइने यो जात्रालाई गथामुँग भनिन्छ । संस्कृति, परम्परा अनि जात्राहरूको धनी नेवाः समुदायले सनातनका यस्ता आख्यानहरूलाई जीवित राखेको छ । भनिन्छ एक दुष्ट व्यक्ति थियो, जो अधर्मी, नास्तिक हुनको साथै लोकपीडक पनि थियो । बाटो ढुकेर जगाती लिने र नदिनेलाई मारेर खानेसम्म गर्दथ्यो । जगात एक किसिमको कर नै हो जो बाटो रोकेर लिने गरिन्छ । उ यतिसम्म नास्तिक थियो कि कसैले भगवानको नाम लिए भने त्यो सुन्नु नपरोस् भनेर दुवै कानमा घण्टा झुण्ड्याएर हिँड्थ्यो । त्यसैले उसको नाम कर्ण अर्थात् कानमा घण्टा भएको वा, घण्टाकर्ण रहेको थियो ।
वर्तमान नेपालमा गणतन्त्रका त्यस्ता घण्टाकर्ण छन् जो राजा वा राज शब्द नै सुन्न चहान्नन् । तिनलाई ‘राजमार्ग’ शब्द पनि अपच हुने गर्दछ र त्यसलाई ‘लोकमार्ग’ भन्न पुग्छन् । कतै कसैले राजा शव्द उच्चारण गरेको सुने भने त्यसलाई गैरकानुनी भनेर कोकोहोलो मच्चाउँछन्, धम्कीयुक्त विरोधको पर्रा छोड्छन् । गणतन्त्रको यत्रो अवधिसम्म पनि यिनीहरू हमेसा डरले थुरथुरी हुन्छन् । राजा र राजपरिवारका सदस्यहरूको सानोभन्दा सानो छिद्र खोज्नु र त्यो भेटेमा जघन्य अपराध गरेसरह खनिनुलाई ठूलो पराक्रम मान्छन् । चाहे त्यो रात्रीभोजमा राजाको हातमा रहेको वाइन ग्लास होस् वा युवराजको हेल्मेटबेगरको मोटरसाइकल सवारी । भगवानको नाम सुनिएला कि भनेर कानमा घण्टा बाँधेर हिँड्ने घण्टाकर्ण र यस्ताहरूको सोचको धरातलमा खासै फरक छैन । जनताले यस्ता महत्वहीन बर्बराहट प्रशस्त सुनिसकेका छन् ।
जब रवीन्द्र मिश्र जस्ता कसैले शासन-व्यवस्थाका ‘कथित उपलब्धि’बारे छलफल हुनुपर्छ भन्ने कुरा उठाउँछ तब सभ्यताको परिधि नै स्वाहा पारेर गालीगलौजमा उत्रने घण्टाकर्णहरू नै हुन् । गणतन्त्रको संविधानमा जनताको सार्वभौमसत्ता उल्लेख गरेर कुनै कुराको विवेचन गर्न पनि जबर्जस्ती रोक लगाउने प्रवृत्ति भन्दा तानाशाही अरु के हुन सक्ला ? धर्मनिरपेक्षता कायम भएपछि देखिएका धार्मिक द्वन्द्व अनि विकृतिहरूको विरोध त के समीक्षा पनि गर्न हुन्न भनेर खनिनेहरू भन्दा धार्मिक अतिवादी अरु को होलान् ? त्यस्तै तीन तहको सरकार जनताको निमित्त ‘झिकीदेउ गाँड भन्दा थपिदेउ गाँड’ भएको त हैन भनेर विवेचन पनि गर्न नपाउने हो भने यो कस्तो सार्वभौमसत्तासम्पन्नता ? कस्तो वैचारिक स्वतन्त्रता ? अनि शासन व्यवस्था जनताले कस्तो अनुभव गरेका छन् भनेर विवेचन गर्न नपाउनु कस्तो अग्रगमन ?
व्यवस्था र त्यसको व्यवहारबारे चर्चा, छलफल हुँदैमा पल्टिने डर हुने हो भने त्यो जनमुखी र अग्रगामी नभएको साविती बयान नै हो । जुन व्यवस्था, संविधान, नियम, कानुन आदिको समीक्षा नै गर्न नपाइने हो भने त्यो भन्दा तानाशाही अरु हुनै सक्दैन । मिश्रजीको छलफलका निमित्त अगाडि सारिएका अवधारणाहरू कसैले पढ्ने वा सुन्नेवित्तिकै उसको हृदय परिवर्तन नै भइहाल्छ भन्ने लाछी सोच हो । त्यस्तै युवराज पारसले बिनाहेल्मेट मोटरसाइकल चलाउँदा कोकोहोलो मच्चिनु उनमा रहेको अन्तरनिहीत शक्तिको डरले हो । अर्थात् घण्टाकर्णहरूका अनुसार कसैले राजाहरूलाई अर्थात् राजगद्दी कायम रहँदै स्वर्गारोहण भएका राजाको नाममा श्री ५ लगाउँदैमा ढल्ने गणतन्त्र हो भने त्यो कमजोर व्यवस्था कति थाम्ला ? उसै पनि राजसंस्थाका दाबेदार अनि उत्तराधिकारीहरूले अनिच्छा देखाएको पुनस्र्थापना आपैmमा कत्तिको बलियो होला ?
त्यसैले घण्टाकर्णहरूमा रहेको राजसंस्था पुनर्स्थापनाको डरभन्दा हजारौँ गुणा आशंका पुनर्स्थापना चाहनेहरूमा छ । त्यसैले उपलब्धि भनिएका गणतन्त्र, धर्मनिरपेक्षता अनि सङ्घीयताको कुरा आउँदा राजाले जस्तै गणतन्त्र भने जनताको इच्छामा भनेर भन्छन् । जे होस् राजसंस्था पाखा लगाएको युग (१२ वर्षलाई एक युग पनि भनिन्छ कतै-कतै) पछि पनि राजपरिवार गणतन्त्रको मुटु थर्काउने शक्ति राख्दोरहेछ । अनि युगसुहाउँदो पात्र भने युवराज पारस रहेछन् भन्ने सोच जनतामा पलाउँदैछ । यो सबै गणतन्त्रका घण्टाकर्णहरूको योगदानले भएको हो ।
प्रतिक्रिया