- नवीन देवकोटा
आफ्ना भोगाइ तथा काठमाडौंमा घटेको प्रधान–सुनार डेरा घटनाले विवादमा तानेको जातीय विभेद र सद्भाव बारे मैले २१ असार २०७८ मा ‘घटना र विचार’ अनलाइन मार्फत राखिसकेको हुँ । आज त्यही सन्दर्भमा मानिस ठूलो कसरी हुन्छ भन्ने चिन्तनमा छु ।
जहाँ समाज हुन्छ त्यहाँ ठूलासाना अपराध हुन्छन्; हरेक युगमा भए र भइरहनेछन् ! मानिसका कर्महरू अपराध हुन् वा होइनन् भन्ने विषय समय र भूगोलले पनि निर्धारण गर्छ । हाम्रो समाजमा छुवाछुतलाई पहिले अपराध मानिँदैन थियो; आज मानिन्छ । त्यस्तै, कसैको सामान चोर्नु अपराध नै हो; तर, केही वर्षअघि पश्चिमी समाजको अदालतले थला परेकी एउटी महिलाको १५ वर्षीय बालकले पसलबाट चीज र पाउरोटी चोरेको घटनामा त्यो बालक हैन, समाजको सम्पन्न वर्ग नै दोषी भएको फैसला सुनाएको थियो । चोरले घरका सानातिना कुराहरू चोरेको अवस्थामा हामी सतर्क मात्र हुन्छौँ; गरगहना नै चोरेको अवस्थामा प्रहरी बोलाउँछौँ । मैले काम गरेको अफ्रिकी समाजमा कुनै पुरूषले एउटी वालिग महिलालाई बलात्कार गरेको भन्दा चोरीको उद्देश्यले उ कसैको घरमा छिरेको विषयलाई ठूलो अपराध मानिँदो रहेछ । बलात्कारको मुद्दामा मिलापत्र गर्ने सम्भावना रहे पनि चोरी गर्दागर्दै भेट्टाएको चोरलाई प्रहरीमा नबुझाई भक्कुमार कुटेर छाड्ने चलन रहेछ । त्यस्तै, सूर्यको ‘आराधना’ बाट कर्ण जन्मिए झैँ कुनै कन्याले शिशुलाई जन्म दिन सक्ने कुरा अहिलेको हाम्रो समाजले स्वीकार्दैन; र विडम्बना, कुन्तीको दोषलाई मन्थर गराउन शुक्रकिट र डिम्बको भौतिक संसर्गले मात्र भ्रुणको जन्म हुन्छ भन्ने कुरा यो समाजले पचाइदिएको छ । मुद्दा अपराधको भन्दा बढी त्यसलाई पचाउन सक्ने वा नसक्ने समाजको क्षमताको हो ।
हिन्दु समाज बाहेकका समाजमा ‘जातीय’ विभेद र उत्पिडन छैन भन्नु गलत हुनेछ । गोरा, गहुँगोरा र काला बीचको कुरा छाडौँ, कालाहरूकै बीचमा पनि बाक्लो र पातलो छालाको विभेद छ । एक पश्चिमा समाजशास्त्रीले तिमीहरू जातीय विभेद हटाएर हामीजस्तै वर्गीय विभेद कायम गर्न लागिपरेका रहेछौँ भनेको सम्झन्छु (त्यहाँका कतिपय क्लबहरूको सदस्य हुन एउटै वर्गको व्यक्ति हुनुपर्छ) । मालिकको मृत्युपश्चात् आफूलाई प्राप्त घरमा कुलीन अमेरिकी समाजले एक नेपालीलाई बस्न नदिएको समाचार पुरानै भएपनि सान्दर्भिक नै छ । यस सम्बन्धमा विश्वका सबै हिन्दुइतर समाजको अध्ययन गरे धेरै कुरा प्रष्ट हुन्छ । यस्तै तनावयुक्त समाजमा जातपात, रंगभेद आदि केहिपनि नमान्ने एकथरि समूह पनि भेटिन्छ जसले समाज जम्मा दुई जातमा विभाजित मान्दछः स्त्री र पुरूष ! यो वर्ग जातीय भेदभावको सन्दर्भमा प्रगतिशील देखिए पनि लैङ्गिक विभेदको दृष्टिकोणबाट दोषी नै छ । त्यसो त, अहिलेको समयमा कसैले आफुलाई राम र अरू सबैलाई रावण देख्छ भने त्यो नै सबैभन्दा ठूलो दोषी हो । सबैका आफ्ना दोष र गुण हुन्छन्; कुन गुणलाई नमन गर्ने र कुन दोषलाई पचाइदिने भन्ने निर्णय नै सामाजिक सद्भावको सूत्र हो । दोषीका सन्तानलाई दोषी मान्ने वा उपेक्षितका सन्तानलाई उपेक्षा गर्ने विगतको सामाजिक ढाँचा अन्यायपूर्ण देखिएकोले त्यसको अन्त्य गर्न कानूनहरू ससक्त बनाइएका छन् । तर, समाजको अन्य पाटोमा यस्तो पीडा व्याप्त भए त्यो समाजलाई स्वीकार्य हुन्छ कि हुँदैन भन्ने एउटा उदाहरण प्रस्तुत गर्न चाहेँ–
‘…………….
तिमीबाट टाढा हुनु मलाई कसैको कर थ्यो, तिमीलाई साथ दिन्थेँ, जन्म नाता टुट्ने डर थ्यो’
……………..
‘यो मन कहाँ खुसी छ तिमीलाई अरूले छुँदा, किन त्यसै गाली गर्छौ बाध्यतामा टाढा हुँदा ?’
एकदिन एक्लै गाडी चलाइरहेको बेला रेडियोबाट यो गीत बज्दा म यसका शब्द-शब्द केलाउन थालेँ; यसको सामाजिक परिवेश कोट्याउन थालेँ । पहिले मिठो लाग्ने गीत त्यस समय मलाई तीतो लाग्यो ! र, मनमा अनेक प्रश्नहरू उब्जिन थाले- माया अल्पपरिचितहरू बीच आफैं बस्ने कुरा हो कि सोचेर गरिने कुरा हो ? पहिले गरेर आफ्ना बाबुआमालाई बताउने कुरा हो कि बाबुआमाको स्वीकृति लिएर गर्ने कुरा हो ? मायाको सम्बन्ध भन्दा जन्म-नातालाई सर्वोपरि मान्ने प्रेमीले प्रेमिकाको भावना र शरिरसँग खेलेर (अरुले छुँदा खुसी नहुने !) उसलाई दोबाटोमा अलपत्र पारेर छाडेको विषयलाई त्यो प्रेमीको बाध्यता मानेर समाजले यसरी सजिलै पचाउन मिल्छ ? जातीय विभेदको वकालत गर्दै हिंड्नेहरूले लैङ्गिक विभेदविरुद्ध पनि स्वतः आवाज उठाउनुपर्ने हो ! कमसेकम, महिला हिंसाविरुद्ध वकालत गर्नेहरूले त यो गीतको प्रसारणमा रोक लगाउन माग गर्नुपर्ने हो ! ती कता हराएका हुन् ?!! प्रश्न उब्जिने क्रम पनि पराकाष्टमा पुगेछः यो गीतमा, बाध्यताले टाढा हुने प्रेमी प्रेमिकाकै वा तल्लो जातको भए एउटा साधारण घटनाको रूपमा समाजले यसलाई पचाउने तर, ऊ माथिल्लो जातको भए जातीय विभेदको मुद्दा बन्ने हो ?
जातीय विभेदको सन्दर्भ जोडिन आएपछि प्रधान-सुनार डेरा घटना पनि मस्तिष्कमा पुनः घुम्न थाल्यो । यो गीतमा जसरी प्रेमीले बाबुआमाको कारण आफू बाध्य भएको कुरा प्रेमिकासामु दर्शाएका छन् त्यसरी नै प्रधानले हजुरमाँको कारण आफू वाध्य भएको कुरा सुनारसामु जनाएकी छन् । कानुनी रुपमा दुबै बराबर दोषी छन्; जसरी आफ्नो हकको लागि सुनार कानूनको सरण परेकी छन्, त्यसरी नै कुनै पिडक प्रेमीविरुद्ध कानूनको सरणमा जान चाहे पीडितको अधिकार कानूनमा सुरक्षित नै छ । प्रधान-सुनार घरभाडा घटना कुख्यात हुनु तर जन्मनाताको कारण एउटी प्रेमिका पीडित भएको गीत समाजमा घन्किरहनुको जड समाजको रूढीवादी मान्यतामा आएर ठोक्किन्छः जातीय विभेद असामाजिक व्यवहार हो भनेर स्वीकार्ने समाजले अझै पनि बाबुआमाको गलत निर्णयसामु समेत नतमस्तक हुने छोराछोरीलाई आदर्श सन्तान मान्दै आएको छ । सारमा, हामी मन (हृदय, दिल, mind) ले प्रगतिशील हुन खोज्दाखोज्दै पनि मान्यता (values) हरूलाई अन्ठ्याएर पितृसत्तात्मक समाजले दिमाग (मगज, brain) मा जे भऱ्यो त्यसैको दास भएका छौँ (मन भनेको दिमाग र व्यक्तिगत मान्यता को योग हो); हजुरमाँको कारण डेरा नदिने र जन्मनाताको लागि प्रेमिकालाई धोका दिनेहरू उदाहरणमात्र हुन् !
जात र मनको कुरा उठ्दा महाकविको दर्शनलाई सन्दर्भमा नल्याई रहन सकिन्नः ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन; मानिस ठूलो दिल (मन) ले हुन्छ, जातले हुँदैन’, (‘मुना-मदन’बाट) । तबको समाज एकातिर जातीय विभेदले ग्रसित थियो भने अर्कोतिर मनले नामानेको कुरा गर्न हच्किन्थ्यो पनि । आधुनिक प्रतिष्पर्धी समाजमा मन मारेर (मान्यतालाई दबाएर) दिमागको पछाडि लाग्नु अस्वभाविक देखिँदैन, ‘भैगो नि त’ भन्ने भावनाले भन्दा ‘कसले कहाँ चुक्छ र त्यसबाट मलाई के फाइदा हुन्छ’ भन्ने सपनाले मानिसलाई डोऱ्याइरहेको हुन्छ । र, यस्तै सपना देख्नेहरू व्यवहारिक वा कानूनी रूपमा सफल पनि हुन्छन् ।
साधारणतया जो सफल हुन्छ, त्यही ठूलो पनि हुन्छ । एउटा मिहेनती सदाचारी कर्मचारी उच्च पदमा पुगेर ठूलो मान्छे बन्न सक्छ; एउटा भ्रष्ट कर्मचारी पनि कानूनबाट उम्किउन्जेल ‘ठूलो मान्छे’ बन्न सक्छ । त्यस्तै, तोकिएको नाफा खाने खुद्रा व्यापारी ठूलो नबन्न सक्छ, तर भन्सार छलेर नाफा खाने व्यक्ति ‘ठूलो’ बन्न सक्छ । समाजले नकारात्मक रूपमा ठूला मान्छे मान्नुपरेका भ्रष्टाचारी नेता, कर्मचारी व्यापारी आदि महाकविको ‘ठूलो मानिस’को दर्शन भित्र पक्कै समेटिँदैनन् । सो दर्शनभित्र बरू आफूसँग भएको एकटुक्रा खानेकुरा आफ्नो अगाडि पुच्छर हल्लाएर टुलुटुलु हेरिरहने कुकुरसँग बाँडेर खाने भिखारी पर्न सक्छ । दिमागका कारण न्यूटन र आइन्सटाइन उन्नाइस-बीस भए पनि ‘हरेक व्यक्ति वा प्राणीको अआफ्नै योग्यता हुन्छन्, सबैलाई एउटै कसीमा जाँच्न सकिंदैन (उ. माछा र बाँदरलाई रुख चढ्ने कसी)’ जस्ता व्यक्तिगत मान्यतका कारण समाजमा आइन्सटाइनको छवि ठूलो छ । अर्कोतिर, नकारात्मक चरित्रका नभए पनि सफलता हासिल गर्न आफ्ना मान्यताहरू दवाउन तयार हुने मानिसहरू पनि छन् । नेपाल वातावरण पत्रकार समाजले सन २००५ मा काठमाण्डौंमा बाहिरी चक्रपथको आवश्यकता बारे आयोजना गरेको गोष्ठीमा मैले कार्यपत्र प्रस्तुत गर्दा पत्रकारद्वारा सोधिएको प्रश्नमा तत्कालीन आयोजना प्रमुखको ‘यो आयोजना ठीक छ वा छैन भन्ने विषयमा म प्रवेश गर्न चाहन्न; यसलाई सम्पन्न गर्ने जिम्मा मलाई दिइएको छ, म त्यो गर्छु’ भन्ने दिल (मन) माथि दिमाग हावी रहेको उत्तर यहाँ सान्दर्भिक देख्दछु । यस्ता मानिसहरू एक हदसम्म सफल हुन सके पनि ‘ठूलो मानिस’ बन्न सक्छन भन्ने छैन ।
अन्त्यमा, औसत मानिसहरूको सपना अरूको भन्दा आरामदायी जिन्दगी विताउनु र आफूलाई अरूभन्दा ठूलो ‘प्रमाणित’ गर्नखोज्नुमै सिमित हुन्छ; यिनिहरू सकारात्मक वा नकारात्मक कुनै न कुनै रूपमा एक हदसम्म आफ्ना मान्यताहरूसँग सम्झौता गर्न पुग्छन् । जातीय विभेदको रुकुम घटनाका दोषी विरुद्ध समाजले आफ्नो मानवीय मान्यतासंग सम्झौता गरेको देखिँदैन; तर, प्रधान-सुनार घरभाडा घटनामा समाज कमसेकम ठूलासाना तीन खण्डमा विभाजित देखिन्छः प्रधान पक्षका (घरमाथि घरबेटीको अधिकार मान्नेहरू), सुनार पक्षका (डेरालाई सार्वजनिक स्थल मान्नेहरू) र समाजमा सद्भाव कायम गर्न यो घटना समाजले पचाउन सक्ने मान्यताका । पहिलो दुई खण्डका विवाद अदालतले टुङ्गो लगाउला, तेश्रो खण्डकाको कुरा गरौँ । प्रधानले दिमागको प्रयोग गरेर सुनारलाई ‘हजुरमाँले कोठा अरूलाई दिने वचन दिइसक्नुभएछ, अन्त खोज है नानी’ भनेर उत्तर दिएको भए उनि सफल त हुन्थिन् तर, उनलाई समाजले ठूलो मान्ने कुरा हुँदैन थियो । त्यस्तै, प्रधानलाई फोनको जालमा पारेर सुनार कानूनी रूपमा सफल त होलिन् तर, उनलाई पनि सशंकित समाजले ठूलो मान्नुपर्ने ठाउँ छैन । समग्रमा भन्नुपर्दाः दिमाग हुने मानिस सफल हुन्छ नै तर, उसको सफलतामा सद्भावनाको अंश छैन भने समाजले उसलाई ठूलो मान्नुपर्छ भन्ने छैन । निजी स्वार्थभन्दा माथि उठेर आफ्नो जीवन अरूको लागि समर्पित गर्ने वा कमसेकम समाजमा सद्भाव कायम गर्न आफ्नो निजी स्वार्थसंग सम्झौता गर्ने हृदय (दिल) भएको मानिसलाई नै समाजले ठूलो मान्दै आएको छ । उप्रान्तः जनजिब्रोमा झुण्डिएको महाकविको ‘मुनामदन’को पंक्तिलाई समयसापेक्ष परिमार्जन गर्ने दुष्टता गरेँ- मानिस ठूलो दिलले हुन्छ, दिमागले (मात्र) हुँदैन !
प्रतिक्रिया