अफगान निर्वासन जारी राख्न यूरोपेली ६ मुलुकको आग्रह

अफगान निर्वासन जारी राख्न यूरोपेली ६ मुलुकको आग्रह



तालिबानले अफगानिस्तानमा चलाएको कारबाहीका बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई यूरोपेली संघ (ईयू) का ६ मुलुकले आह्वान गरेका छन् ।

अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, ग्रीस र नेदरल्याण्डका सरकारहरूले यूरोपली संघको कार्यकारी यस निकायसँग शरणसम्बन्धी कानूनअनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भएमा स्वदेश फिर्ता पठाउन अनुमति दिनुपर्ने बताएका हुन् ।

अफगानिस्तानले जुलाईमा यूरोपेली राष्ट्रलाई अगस्त ३१ मा अफगानिस्तानबाट अमेरिकी सम्पूर्ण सेनालाई फिर्ता लानुअगाडि सुरक्षा बलले तालिबान आक्रमणको प्रतिरोध गरिरहेको सन्दर्भमा तीन महिनासम्मका लागि अफगान प्रवासीहरूलाई जबरजस्ती निर्वासनमा नपठाउन आग्रह गरेको एएफपीले जनाएको छ ।

बेल्जियमका शरण तथा प्रवासमन्त्री स्यामी मेहदीले भनेका छन्, “मैले जर्मनी, अष्ट्रिया, नेदरल्याण्ड, डेनमार्क र ग्रीससँगै आयोगलाई केही अफगानीलाई जबर्जस्ती फिर्ता गर्ने प्रत्याभूति दिइरहन आग्रह गरेको छु ।”

ट्विटरमार्फत् सार्वजनिक एक सन्देशमा उनले कुनै देशका क्षेत्रहरू खतरनाक भएकाले मात्र त्यस देशका प्रत्येक व्यक्तिलाई सुरक्षाका लागि शरण दिनुपर्छ भन्ने कुरा बेठीक भएको तर्क गरेका छन् ।

डेनमार्कको न्याय मन्त्रालयले पनि ब्रसेल्सलाई जबर्जस्ती निर्वासन निलम्बन नगर्न आग्रह गरेको कुरा पुष्टि गर्दै ‘अफगानिस्तानमा भएको विकासलाई नजिकबाट पछ्याइरहेको’ बताएको छ ।

डेनिस आप्रवासन मन्त्री म्याटियस टेस्फायले यस मामिलामा इयूका ६ वटा मुलुकको एउटै विचार भएकोमा आफू ‘खुसी’ भएको बताएका छन् ।

गत हप्ताको अन्ततिर उक्त पत्र पठाएपछि जारी गरिएको बयानमा उनले भनेका छन्, “सरकारका लागि शरण नपाउनेहरूलाई उनीहरूकै देशमा पठाउनु राम्रो विकल्प हुनेछ ।”

अफगानिस्तानको उत्तरमा तालिवान लडाकूद्वारा भएका आक्रमणले दशौँ हजार मानिस आफ्नो घर छोडेर भाग्न र विभिन्न विदेशी मुलुकमा शरण लिन बाध्य भएका छन् । पछिल्लो समय तालिबानले आफ्ना गतिविधिलाई सशक्त पार्दै देशका छ वटा प्रान्तीय राजधानीलाई नियन्त्रणमा लिएको छ ।

अमेरिकामा सन् २०११ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछि तालिबानलाई परास्त गर्न वासिङ्टनले आफ्नो सबैभन्दा लामो युद्धको अन्तमा अगस्ट पूरा हुनुभन्दा अगाडि युद्धभूमि छोडेको छ ।

जुलाई ११ मा ईयु देशहरूलाई काबुलले गरेको अपिलपछि स्वीडेन र फिनल्याण्डले अफगान शरणार्थीलाई जबर्जस्ती फिर्ता गर्न रोकेका थिए ।

यूरोपेली तथ्याङ्कअनुसार सन् २०२० मा यूरोपेली मुलुकहरूमा शरण खोज्नेहरूमध्ये १०.६ प्रतिशत अफगानीहरूलाई शरण दिइएको थियो अर्थात् लगभग चार लाख १६ हजार अनुरोधमध्ये ४४ हजार ००० भन्दा बढी थिए । यो १५.२ प्रतिशत सिरियाली पछि दोस्रो सबैभन्दा धेरै हो ।