सुत्केरी हिँड्ने बाटोको हालत !
मुलुकमा असल मान्छेहरूको कमी छैन तर तिनलाई राजनीति राम्रा मान्छेले गर्ने कुरा होइन भन्ने छ । दार्शनिक प्लेटोको भनाइमा असल मान्छेहरूले राजनीति नगरेर राजनीति खराब भएको हो ।
- बबिता बस्नेत
‘थापाथली’ राजधानीको केन्द्रमा रहेको स्थान हो जहाँ दुई ठुला अस्पताल छन्, प्रसूतिगृह र नर्भिक । प्रसूतिगृह महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित अस्पताल हो जहाँ गर्भवती, पाठेघरसँग सम्बन्धित समस्या भएका र सुत्केरी हुनका लागि महिलाहरू पुग्ने गर्छन् । नर्भिकमा प्रायः मुटुरोगी तथा अन्य बिरामीहरू जाने गर्छन् ।
ती दुई अस्पतालअगाडिको बाटो खनेर छोडेको महिनौँ भयो । वर्षाको पानीले बाटो पूरै हिलो त छ नै, खनेर छोडेकाले कतै खाल्डो र कतै ढुङ्गाले गर्दा सवारी साधनहरू गल्ट्याङगुल्टुङ गर्दै हिँड्छन । तिनले छ्यापेको फोहोर पानीले पैदल यात्रीका लुगा हिलाम्मे हुन्छन्, जुत्ताभरी हिलो पानी छिर्दा मोजाको हालत के होला अनुमान गर्न सकिन्छ । उक्त बाटो सर्वसाधारण मात्रै नभएर भीभीआईपी र भीआइपीहरू पनि हिँड्ने बाटो हो । कतिपय भीआइपीहरू ट्याँट्याँ र टुँटुँ साइरन बजाउँदै आफन्त र अन्य भीआइपीहरूलाई भेट्न ती अस्पतालमा पुग्ने गर्छन् । नर्भिकबाट हिलो बाटोमा पानी छ्याप्तै हिँडेका कतिपय परिचित भीआइपीलाई यो पङ्क्तिकारले फोन गरेर ‘तपाईं भरखरै जुन बाटो भएर आउनुभयो त्यो बाटोको हालत यस्तो भएको धेरै भयो, यसलाई बनाउन सकिँदैन ?’ भनेर सोधेकी छु । जवाफमा उनीहरूको भनाइ करिब उस्तै-उस्तै पाएँ- ‘खै ! ठेकेदारहरूले जताततै यस्तै बनाएर राखेका छन् हेर्नुस् न… !’ एक जनाले त ‘तपाईंहरू जस्तो मान्छेले लेखेर आवाज उठाइदिनु पऱ्यो’ पनि भन्नुभयो । ती ठेकेदारले सम्बन्धित निकाय र पदाधिकारीलाई किन टेरेनन् होला ? यस्तो वर्षाको बेला सडक खनेर छाड्ने ठेकेदारलाई कारवाही गर्न केले रोक्यो होला ? नेतृत्वमा रहने मान्छे स्वच्छ भएको भए एउटा ठेकेदारले त्यस्तो हिम्मत गर्थ्यो होला ?
यहाँ प्रश्न उठ्न सक्छ- ठेकेदारले काम अड्काएर राख्छ अनि नेतालाई गाली किन ? के हाम्रो देशमा राजनीतिकर्मीहरू मात्रै दोषी हुन् ? होइनन् । हामीकहाँ ठेकेदारले संरचना बनाउँदा आफूले रेखदेख गरेको मात्रै पैसा लिँदैन हरेक सामानमा दोब्बर-तेब्बर पैसा खान्छ । त्यति गर्दा पनि काम इमान्दारीपूर्वक गर्दैन । ठुला आयोजनाका कुरै छोडौँ, सडकमा तरकारी र फलफूल बेच्नेले पनि गाडीमा हिँड्नेलाई एउटा भाउ गर्छन्, मोटरसाइकलमा हिँड्नेलाई अर्को र पैदल हिँड्नेलाई अर्कै ! आखिर फलफूल, तरकारीको दाम त एउटै हो नि ! तर मान्छे हेरेर मूल्य तोकिन्छ । यदि उनीहरूले इमान्दारीपूर्वक आफ्नो पेशा अपनाउने हो भने मूल्य फरक हुने थिएन । डाक्टर, पत्रकार, वकिल, प्रहरी, कर्मचारीलगायत विभिन्न पेशा-ब्यवसायमा भएका मानिसहरू इमान्दार भइदिएका भए देशको अवस्था फरक हुने थियो । त्यसैले राजनीतिकर्मी मात्र यसमा दोषी छैनन् तर राजनीतिकर्मीहरू सबैभन्दा बढी दोषी किन छन् भने यदि नेतृत्वमा रहेकाहरू स्वच्छ भइदिएका भए उनीहरूले सबै क्षेत्रमा सुधार गर्न सक्ने थिए । देशमा कानूनी शासन उनीहरूबाटै उल्लङ्घन नभएको भए अरुले उल्लङ्घन गर्ने हिम्मत गर्ने थिएनन् ।
देश बनाउनका लागि राजनीतिलाई पेशा ठान्ने नभई विभिन्न पेशामा सफल र देशलाई केन्द्रमा राखेर सोच्ने मानिसहरूको आवश्यकता छ । साथै तमाम ती राजनीतिकर्मीहरू जो अहिले राजनीतिमा छन्, असल छन् तर अवसर पाएका छैनन् तिनले सरकारमा पुग्ने अवस्थाको सिर्जना हुनुपर्छ ।
मुलुकको विकासका लागि वर्षैपिच्छे छुट्याइने गरेको बजेट के मा, कसरी खर्च भइरहेको छ ? खर्च भएको बजेटमध्ये कति कर्मचारीको भागमा प¥यो र कति नेताको भागमा पऱ्यो भन्ने कुराको खोजी कसले गर्ने ? नेतृत्वमा रहनेहरू नै भागबण्डामा सहभागी भएपछि जवाफदेहिता कोसँग खोज्ने ? पारदर्शिताको अपेक्षा कोसँग गर्ने ? विगत केही वर्षदेखि राजनीति ब्यवसाय झैँ बनेको छ । पदमा पुग्नेहरूले थप आम्दानीका श्रोतहरूको खोजी र तिनबाट लाभ लिँदैमा कार्यकाल सकिने गरेको छ । राजनीति सार्वजनिक हितका लागि नभएर ब्यक्तिगत र पारिवारिक हितका लागि हुन पुगेको छ । नियुक्तिदेखि सामान खरिद बिक्रि सम्ममा राजनीतिकर्मीले पैसा नलिने हो भने कर्मचारीले मात्रै खान सक्दैनन् । नियुक्तिहरूमा प्रायः राजनीतिकर्मीले एकलौटी लिने गरेका छन् । सबै त नहोलान् तर धेरैजसो राजनीतिक नियुक्तिहरू लेनदेनबाट हुने गरेका छन् । जब कोही पैसा तिरेर कुनै पदमा पुग्छ भने उसले पैसा कमाउने उपायहरू खोज्छ नै ।
विगत केही वर्षदेखि मुलुकमा राजनीतिकर्मीहरूका ब्यक्तिगत महत्वकाङ्क्षाले मुलुक बन्धक झैँ बनिरहेको छ । मुख्य नेता मानिएकाहरूलाई पदमा पुग्नु छ, आफू नपुगे आफ्नालाई पुऱ्याउनु छ । सत्तामा हुने, नहुने सबैको स्वार्थ आफू र आफू वरिपरिकाको हितसँग जोडिएको छ । यस्तो हुनुको मुख्य कारण राजनीतिको बारेमा गलत अवधारणा नै हो । मुलुकमा असल मान्छेहरूको कमी छैन तर तिनलाई राजनीति राम्रा मान्छेले गर्ने कुरा होइन भन्ने छ । दार्शनिक प्लेटोको भनाइमा असल मान्छेहरूले राजनीति नगरेर राजनीति खराब भएको हो । हामीकहाँ राजनीति गर्ने सबै नै खराब छन् भन्ने होइन तर गलत नियतले जानेहरूको अगाडि असल मनसायले राजनीतिमा जानेहरूको सङ्ख्या सानो छ ।
राजनीति विचार हो तर हामीकहाँ ब्यक्तिगत लान्छना, घृणास्पद अभिब्यक्ति (हेट स्पिच), कसले कसलाई बढी होच्याउन सक्छ, कसले बढी खिसीट्युउरी गर्न सक्छ भन्ने प्रतिस्पर्धामा वर्षहरू बिते, बितिरहेका छन् । राजनीतिक दलहरूमा वैचारिक छलफल हुन छोडेको वर्षौं भयो । दलका बैठकमा मात्र होइन यसबीचमा क्याविनेटको बैठक समेत अर्को पक्षका नेताहरूलाई गाली गर्ने अभ्यासको सुरुवात गरियो । नेताहरू मुलुक विकासको अवधारणालाई पन्छाएर ब्यक्तिगत लान्छनामा उत्रिएपछि कसले कसलाई के भन्यो भन्ने समाचारले मिडिया भरिएको पनि धेरै भयो । नेताको दृष्टिमा सडक, खानेपानी, महामारी या भोकमरी सबै गौण बन्नुको कारण राजनीतिमा गुणस्तरीय मानिसको अभाव नै हो । विचार र अवधारणा अघि सारेर विधिको शासनमा रही काम गर्नुपर्ने स्थानमा रहेकाहरूले स्तरहीन गालीगलौजमा समय खर्चिन थालेपछि सुत्केरी र गर्भवतीलाई राखिने अस्पतालअगाडिको सडकको हालत सुध्रिन वर्षौं लाग्नु स्वभाविक हुन जान्छ ।
प्लेटोले दिमाग चलाउन सक्नेहरू राजनीतिमा र साहसिला मानिसहरू सुरक्षा क्षेत्रमा जानुपर्ने बताएका थिए । तर हामीकहाँ विचारसँग खेल्ने मानिसहरू कम र ब्यक्तिगत आकाङ्क्षा पूर्ति गर्ने चाहनाका मानिसहरू बढी राजनीतिमा छन् । जसका कारण न्याय टाढाको लक्ष्य बन्दै गएको छ । भत्किएको बाटोमा गर्भवती र सुत्केरीलाई हिँडाउनु, महामारीमा जनता भोकै पेटीमा रात बिताउने अवस्था आउनु, सरकारी कार्यालयमा काममा बाधा ब्यवधान खडा गर्नु, महँगी रोक्न नसक्नु, हिंसा र अपराधले प्रश्रय पाउनु सबै नै न्यायसँग जोडिएका कुरा हुन् । न्याय कानूनी प्रक्रिया मात्र होइन जीवन पद्दति बन्नुपर्नेमा कुनै पनि क्षेत्रमा त्यस्तो हुन सकेको छैन ।
यी सबै कुरा सम्झिएर र भोगेर हामीमध्ये धेरैलाई नेताहरूको ताल यही हो, उनीहरू जिम्मेवार नभइ केही हुँदैन र नेताहरू जिम्मेवार र जवाफदेही हुनेवाला छैनन्, यो देशमा अब के हुन्छ र ? भनी फ्रष्ट्रेसन हुन थालेको छ । तर नेतृत्वले चाह्यो भने यो देश बन्न धेरै समय लाग्दैन । त्यसका लागि उनीहरू आर्थिक रूपले स्वच्छ र मुलुकप्रति इमान्दार भने हुनैपर्छ । विचारबाट ब्यक्तिगत लान्छनामा झरेका नेताहरूबाट शायद यो सम्भव छैन । देश बनाउनका लागि राजनीतिलाई पेशा ठान्ने नभई विभिन्न पेशामा सफल र देशलाई केन्द्रमा राखेर सोच्ने मानिसहरूको आवश्यक्ता छ । साथै तमाम ती राजनीतिकर्मीहरू जो अहिले राजनीतिमा छन्, असल छन् तर अवसर पाएका छैनन् तिनले सरकारमा पुग्ने अवस्थाको सिर्जना हुनुपर्छ ।
प्रतिक्रिया