माधव नेपाल न यता न उता !

माधव नेपाल न यता न उता !



सत्तारुढ नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले पार्टीका कामहरू नरोक्ने भन्दै सोमबार स्थायी र केन्द्रीय कमिटी बैठक राखेर महत्वपूर्ण निर्णयहरू गरेपछि एमालेको विवाद दुःखद् अन्त्यमा पुग्ने सङ्केत देखिएको हो । यी बैठकका निर्णयले अध्यक्षलाई अझै शक्तिशाली बनाएको र अबको महाधिवेशनमा प्यानलअनुसार चुनाव लड्न नमिल्ने नयाँ साङ्गठनिक मार्ग तय गरेको छ । संस्थापन पक्षले यति ठूला निर्णयहरू गर्दा इतरपक्षलाई गरिएको वेवास्ताले एमालेको विवाद साम्य हुन सक्ने सम्भावना क्षीण बनाएको छ ।

एमालेको यो विवादमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको भूमिकालाई मुख्य रूपमा जोडेर हेरिएको छ । खासगरी, दोस्रो तहका नेताहरूले पार्टी एकतामा जोड दिए पनि ओली र नेपालको बोली र व्यवहारका कारण विवाद झन् चर्किएको सजिलै अनुमान गर्न सकिन्छ । दोस्रो तहका नेताहरूले ओली र नेपाललाई केही लचक हुन आग्रह गर्दा पनि आरोप प्रत्यारोपमा दुवै जना उत्रिएकोले ओली-नेपालको दूरी फराकिलो बन्दै गएको हो ।

ओलीसँगको दूरी टाढा हुँदा शुरुका दिनहरूमा माधव नेपाल पक्षको स्थायी र केन्द्रीय कमिटीमा बलियो उपस्थिति थियो । तत्कालिन नेकपा फुटेपछि बनेको पछिल्लो एमालेमा माधव नेपाल पक्ष कमजोर थिएन । जब माधव नेपाल आफ्नै अध्यक्षविरुद्ध अघि बढ्न थाले, त्यसपछि संस्थापन पक्ष झन् बलियो बन्दै गयो भने खनाल-नेपाल पक्ष कमजोर बन्दै गयो । माधव नेपालले एमाले इतरपक्षको गठनबन्धन बनाउने मूख्य भूमिका निर्वाह गरेपछि उनलाई साथ छोड्नेहरूको सङ्ख्या बढ्दै गयो । त्यसपछि, विस्तारै नेपाल पक्षका धेरै नेताहरूले ओलीलाई साथ दिन थाले । पछिल्लो पटक स्थायी कमिटीका सुरेन्द्र पाण्डेदेखि योगेश भट्टराईसम्मका नेताहरू माधव नेपालसँग त्यति सन्तुष्ट छैनन् । उनीहरूले नेपाल पक्षले बोलाएका बैठकहरू पनि कुनै न कुनै काम देखाएर अनुपस्थित रहँदै आएका छन् ।

एमालेको यो विवादमा माधव नेपाल पक्ष कति कमजोर बन्दै गएको छ भन्ने विषय नेता भीम आचार्यले बेलाबेलामा प्रकट गर्दै आएका छन् । आचार्य झलनाथ खनाल पक्षमा भए पनि शुरुमा उनले माधव नेपाललाई पनि साथ दिँदै आएका थिए । तर, जब माधव नेपाल देउवालाई प्रधानमन्त्री बनाउन कस्सिए, त्यसपछि आचार्य नेपालसँग टाढिँदै गए । अहिले आचार्यले माधव नेपालका कतिपय विषयहरूमा असहमति देखाएका छन् । नेपाल पक्षको तेस्रो धारमा रहेका केही युवा नेताहरू पार्टी फुटाउने पक्षमा भए पनि पहिलो र दोस्रो तहका नेताहरू विभिन्न बैठकहरूमा ओलीसँग मिल्नुपर्ने धारणा राख्दै आएका छन् । आफूसँग भएका नेताहरूले पनि क्रमशः साथ छोड्दै जानु अनि धेरै नेताहरू ओलीसँग मिल्नुपर्ने दबाबले अहिले माधव नेपाल न यता न उताको दोसाँधको स्थितिमा पुगेका छन् । एकातिर नयाँ पार्टी गठन गर्न ४० प्रतिशत सङ्ख्या नपुग्ने अर्कोतिर ओलीले माधव नेपालको हस्ताक्षर चल्नेगरी समान हैसियतमा स्थान नदिने भएपछि नेपालको अबको राजनीति झन् अन्योल देखिएको हो ।

त्यति मात्र होइन, सरकार बनाउन गठबन्धनको बैठकमा जाने, देउवालाई अनावश्यक ढङ्गले साथ दिने बताएर उपाध्यक्ष भीम रावललगायतका नेताहरू पनि माधव नेपालसँग टाढिन थालेका छन् । अहिले रावलसहितका नेताहरू नैतिक रूपमा मात्र नेपाल पक्षको बैठकमा बस्ने गरेका छन् । तर, भित्री रूपमा रावल अध्यक्ष ओलीसँग नियमित सम्पर्कमा छन् भने संस्थापन पक्षका गतिविधिलाई उनले मौन रूपमा समर्थन जनाइसकेका छन् । देउवा प्रधानमन्त्री हुनुअघि रावल ओलीका सबैभन्दा ठूला आलोचक थिए । अहिले रावल ओलीसँग नरम नेपालसँग गरम देखिन थालेका छन् । आफ्ना पक्षका मुख्य हस्तीहरूले पनि विस्तारै साथ छोड्ने सङ्केत पाएपछि माधव नेपाललाई अहिले के गरौँ र कसो गरौँको स्थितिमा पु¥याएको छ ।

उता, नयाँ पार्टी निर्माण नगरेसम्म माधव नेपाललाई माओवादी केन्द्रसँग मिल्न जाने परिस्थिति पनि छैन । अलग पार्टीको अस्तित्व नभएसम्म माओवादी केन्द्रसँगको मिलन माधव नेपालका लागि झन् प्रत्युपादक बन्ने अवस्था छ । प्रचण्डसँग सम्मानजनक एकता गर्न माधव नेपालले नयाँ पार्टी जन्माउनुपर्ने बाध्यता पनि छ । तर, तत्काल अलग पार्टी निर्माण गर्न केन्द्रीय कमिटीका बहुसङ्ख्यक सदस्यले मानिरहेका छैनन् । रामकुमारी झाँक्री र मेटमणि चौधरीसहितका केही सदस्य मात्र नयाँ पार्टी बनाउनुपर्ने अडानमा छन् । तर, स्थायी र केन्द्रीय कमिटीका अधिकांश माधव नेपाल पक्षका नेताहरू ओलीसँग मिल्ने अडानमा बलियो बन्दै गएका छन् । पछिल्ला दिनहरूमा माधव नेपाललाई चौबाटोको बटुवा बनाइदिएको छ । यता जाने कि उता जाने वा थचक्क ओलीसँग मिलेर बस्ने !