बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु



कोरोना महामारीमा थप शक्तिशाली रुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्र रुपमा बढ्न थालेको छ ।

बेलायती अधिकारीहरुले जनाएअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको छ ।

यहाँ गएको २४ घन्टामा १४६ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो ।

गत हप्ताको तुलनामा यसको सङ्क्रमण दुई गुणाले बढेको तथ्याङ्कले देखाएको सम्बद्ध अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।

यो समेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । यहाँ पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ ।

कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन यहाँको सरकारले भनिरहेको छ । यहाँ सङ्क्रमणको दर पनि बढ्दै गएको देखिएको छ ।

स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा यहाँ २३ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको उल्लेख गरेका छन् । यो समेतगरी अहिलेसम्म यहाँ यो सङ्क्रमणबाट ६१ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

बेलायत सरकारले कोरोना विरुद्धको खोप कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।