सरकारी कार्यालय कब्जा गर्ने कार्य बन्द गर्न तालिबानलाई युएन महासचिवको आग्रह

सरकारी कार्यालय कब्जा गर्ने कार्य बन्द गर्न तालिबानलाई युएन महासचिवको आग्रह



संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन् ।

आफ्ना सशस्त्र विद्रोही लडाकूलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन उनले तालिबान लडाकू समूहसँग आग्रह गरेका हुन् ।

हालका लागि यो कार्यलाई रोकेर शान्तिपूर्ण रुपमा आफ्ना काम गर्न र आफ्ना कुरा राख्न उनको आग्रह रहेको सिन्ह्वाले जनाएको छ ।

उनले अफगानिस्तानको तालिबान समूहलाई शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न सुझाव दिँदै वार्ताको टेबलमा बस्न भनेका छन् ।

हाल तालिबानले अफगानिस्तानमा एकपछि अर्को कार्यालय कब्जा गरिरहेका छन् भने अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट यतिबेला फर्किसकेको छ ।

विदेशी सैनिक फर्किएलगतै तालिबान लडाकूले अफगानिस्तान कब्जा गर्ने गरी कार्यक्रम अघि सारेका छन् र उनीहरु एकपछि अर्को गरेर अघि बढ्दैछन् ।

जसका कारण अफगानिस्तानमा हिंसा भइरहेको छ । तालिबानले शहर कब्जा गर्न सशस्त्र विद्रोह गरिरहेका छन् भने अफगानिस्ताको सेनाले तालिबानका विरुद्ध कारबाही पनि जारी राखेको छ । जसका कारण पछिल्ला दुई हप्तायता मात्र अफगानिस्तानबाट दुई लाखभन्दा बढी व्यक्ति घरबास छोडेर भागेका छन् भने कैयौँ सर्वसाधारण नागरिक सरकारी सेना र तालिबानी लडाकूको भिडन्तमा परेर मारिएका पनि छन् ।

महासचिव गुटर्रेसले बलपूर्वक गरिएका कुनै पनि कार्यको सट्टामा शान्तिपूर्ण रुपमा वार्ताको टेबलमा बसेर सबै कुरा गर्न तालिबान लडाकूको समूहलगायत सरोकारवाला सबैलाई आग्रह गरेका हुन् ।