ब्याडमिन्टनको निर्णायक कोर्ष सम्पन्न

ब्याडमिन्टनको निर्णायक कोर्ष सम्पन्न



नेपाल ब्याडमिन्टन संघको आयोजनामा संचालन भएको भर्चुअल ब्याडमिन्टन राष्ट्रिय निर्णायक कोर्ष सम्पन्न भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्य अनुरुप संघको पहलमा पहिलो पटक राष्ट्रिय निर्णायक कोर्षको आयोजना गरिएको हो ।

केन्द्रिकृत नीतिलाई विकेन्द्रिकरण गर्दै जाने संघको उद्धेश्य अनुरुप संघसंग आवद्ध प्रत्येक जिल्लामा अव कम्तिमा दुई निर्णायक स्थानीय हुनेछन् । यसअघि प्रायः जिल्लामा आयोजना हुने प्रतियोगिताहरुमा केन्द्रबाट नै निर्णायकहरुको पूर्ति हुने गरेको थियो ।

यसका साथै नेपाली सेना, नेपाल एपिएफ कलबमा पनि निर्णायकहरुको अभावलाई पूर्ति गर्नेछ । यसअघि पनि विभिन्न जिल्लाहरुले आफ्नै पहलमा राष्ट्रिय रेफ्रि र अन्तर्राष्ट्रिय अम्पायरहरुमार्फत निर्णायक तालिमहरु प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेकोमा संघको कार्यक्रमअनुरुप आधिकारिक रूपमै प्रमाणपत्र प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो नै पहिलो निर्णायक तालिम हो ।

श्रावण १७ गते देखि २७ गते सम्म दुई चरणमा गरेर संचालन भएको कोर्षमा सहभागी निर्णायकहरुलाई ब्याडमिन्टन एशियाका सर्टिफाईड अम्पायर दीपक थापाले ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायरहरु सुमित शाक्य, समन इकवाल र कृतन खड्काले ब्याडमिन्टनको प्राविधिक ज्ञान प्रदान गरेका थिए ।

सहभागी निर्णायकहरूले नेपाल ब्याडमिन्टन संघले आगामी दिनमा संचालन गर्ने राष्ट्रिय प्रतियोगितामा प्रयोगात्मक परीक्षा लिइने र त्यसैका आधारमा प्रमाणपत्र प्रदान गरिनुका साथै राष्ट्रिय अम्पायरमा दर्ता गरिने संघले जनाएको छ ।

कोभिड–१९ को महामारीको अवस्थामा खेलकुदका कार्यक्रम ठप्प रहेको अवस्थामा नेपाल ब्याडमिन्ट संघले गतिविधि संचालन गरेकोमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले नेपाल ब्याडमिन्टन संघलाई धन्यवाद प्रदान गर्दै कार्यक्रमको सफलताको कामना गर्नुका साथै कार्यक्रममा सहभागीहरुलाई शुभकामना दिएका थिए ।

ब्याडमिन्टन एशियाका अध्यक्ष एन्टोन सुबोले प्रशिक्षण कार्यको शुभारम्भ गरेकोमा नेपाल ब्याडमिन्टन संघ, अध्यक्ष रामजी बहादुर श्रेष्ठ, प्राविधक टिम र सहभागीलाई धन्यवाद तथा शुभकामना प्रदान गर्दै उज्वल भविष्यको कामना गरेका थिए ।
यस्तै अध्यक्ष एन्टोनले ब्याडमिन्टन एशियाका अन्य राष्ट्रले पनि यस कार्यक्रमबाट सिक्नु पर्ने बताए । यस्तै महासचिव मुसा नासिद र कोषाध्यक्ष जसेम कान्सोले पनि कार्यक्रम र सहभागीहरुलाई शुभकामना प्रदान गरेका थिए ।

यस्तै ब्याडमिन्टन एशियाका टेक्निकल अफिसियल कमिटीका चेयरपर्सन चि चेन सेनले यस्तो कोभिडको महामारीका बेलमा नेपाल ब्याडमिन्टन संघले भर्चूअलमार्फत ब्याडमिन्टनको कार्यक्रम र कोर्ष संचालन गरेकोमा संघ तथा प्राविधक टोलीलाई बधाई र धन्यवाद प्रदान गर्दै कार्यक्रममा सहभागीहरुलाई शुभकामनाका साथ उज्वल भविष्यको कामना गरेका थिए ।

संघले आगामी दिनमा कोर्ट अफिसियलको रुपमा आवश्यक पर्ने जनशक्ति जस्तै म्याच कन्ट्रोल, लाईन जज लगायतको कोर्ष कार्यक्रमलाई पनि अगाडी बढाउने सोच राखेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए ।

प्रशिक्षणमा अर्घाखाँची, बाँके, बारा, भक्तपुर, भोजपुर, दैलेख, दोलखा, दाङ्ग, धनकुटा, डोटी, इलाम, सिन्धुपाल्चोक, झापा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, कास्की, काठमाण्डौ, काभ्रे, महोत्तरी, मोरङ्ग, नवलपरासी, नवलपुर, पर्सा, पाल्पा, पाँचथर, पर्वत, रुपन्देही, सल्यान, संखुवासभा, सर्लाही, सिन्धुली, सोलुखुम्बु, सुर्खेत, तनहु, ते¥हथुम, उदयपुर, नुवाकोट, ओखलढुंगा, धादिङ्ग, चितवन, सप्तरी, सुनसरी, एपिएफ क्लब रहेका छन् ।

यस्तै नेपाली सेनाको त्रिभुवन आर्मीक्लब, गुल्मी, बर्दिया र त्रिभुवन बिश्व बिद्यालय स्पोर्टस् साईन्सले पनि चाहना राखेका कारण प्रशिक्षणमा समावेस गरिएको कार्यक्रम संयोजक नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य एवं प्रशिक्षक थापाले जानकारी गराए । प्रशिक्षण कार्यक्रममा १० महिला सहित ९७ जनाको सहभागिता रहेको थियो ।