आईपीइलका बाँकी खेल सेप्टेम्बरदेखि सञ्चालन हुने

आईपीइलका बाँकी खेल सेप्टेम्बरदेखि सञ्चालन हुने



भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले संयुक्त अरब इमिरेटमा आयोजना हुने वीवो आइपीएलका बाँकी खेलहरूको आयोजनाको मिति घोषणा गरेको छ । जसअनुसार आईपीएलका बाँकी खेलहरू सेप्टेम्बर १९ देखि यूएईमा आरम्भ हुनेछ । युएईमा २७ दिनको समयमा कुल ३१ खेलको आयोजना हुनेछ । भारतमा कोरोना माहामारीका कारण आईपीएलको १४औँ संस्करण बीचमै रोकिएको थियो ।

बीसीसीआईको नयाँ खेल तालिकाअनुसार आगामी १९ सेप्टेम्बरमा दुबईमा चेन्नई सुपर किङ्ग र मुम्बई इन्डियनबीच हुने खेलसँगै आईपीएलको १४औँ संस्करणको पुनः सुरुवात हुनेछ । दोश्रो दिनको खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्गलुरूबीच आबुधाबीमा हुने छ । त्यस्तै २४ सेप्टम्बरमा र रोयल च्यालेञ्जर्स बेङ्गलुरू र चेन्नई सुपर किङ्गबीच शारजहाँमा अर्को खेल हुनेछ । आईपीएलका सबै खेल नेपाली समयअनुसार ७ः४५ देखि शुभारम्भ हुने आयोजक कमिटीले जानकारी गराएको छ ।

लिगको अन्तिम खेल ६ अक्टुबरमा रोयल च्यालेञ्जर्स बेङ्गलुरू र दिल्ली क्यापीटल्सका बीच हुनेछ । पहिलो क्वालिफायरको भीडन्त १० अक्टुवरमा दुबईमा हुनेछ । त्यस्तै एलिमिनेटर र क्वालिफायर दुईको खेल ११ र १३ अक्टुबरमा शारजाँहमा हुनेछ । आईपीएलको फाइनल खेल १५ अक्टुबरमा दुबईमा हुनेछ ।

संयुक्त अरब इमिरेटमा सञ्चालन हुने आईपीएलको बाँकी खेलमा विदेशी खेलाडीहरूको सहभागिताको बारेमा अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । प्राप्त जानकारीअनुसार विदेशी खेलाडी त्यसमा पनि अष्ट्रेलिया र इङ्गल्याण्डका खेलाडीले यी खेलमा सहभागिता जनाउने सम्भावना ज्यादै न्युन रहेको छ । त्यसमा स्टार अलराउण्डर बेन स्टोक्स र फास्ट बलर पेट कमिङ्सले आईपीएल नखेल्ने प्रबल सम्भावना देखिएको छ ।

यसैलाई मध्यनजर राख्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विदेशी खेलाडीको अनुपस्थितिमा कडा नियम लागु गरेको छ । बीसीसीआईका एक अधिकारीका अनुसार यदि विदेशी खेलाडीले बाँकी १४ खेल नखेलेमा प्रो–राटाको आधारमा उनीहरूलाई रकम भुक्तानी गरिने छ । सो नियमअनुसार फ्रेन्चाइजी टीमले ति खेलाडीको पाउने रकममा कटौती गर्न पाउने छन् ।

बीसीआईले जस्तोसुकै कडा नियम अपनाए पनि आफ्ना खेलाडी आईपीएलका बाँकी खेल नखेल्ने इङ्गल्याण्ड क्रिकेट बोर्डले जनाएको छ । इसीबीका प्रबन्ध निर्देशक एश्ले जाएल्सले भने- ‘हामी हाम्रो वार्षिक तालिका अनुसार खेल्छौँ, सो सययमा खेलाडीलाई टी–२० वल्र्ड कप र एशेजको लागि तयारीमा राख्नुपर्ने भएकोले त्यतिबेला इङ्गल्याण्डका खेलाडी आईपीएलको लागि रिलिज नहुने बताए ।’ त्यस्तै उनले आईपीएलकै कारण आफ्नो वार्षिक तालिका कुनै हेरफेर नहुने बताए ।

त्यस्तै, बंगलादेश क्रिकेट बोर्डले पनि आईपीएलका बाँकी खेलमा आफ्ना खेलाडीको सहभागिता नरहने जनाएको छ । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमूल हसन पापोनले उक्त समयमा शाकिब अल हसनलाई आईपीएल खेल्न समय नहुने बताए । त्यतिबेला एक क्रिकेट सिरिजको लागि इङ्गल्याण्ड बंगलादेश आउने भएका कारण हसनलाई रिलिज गर्न नसकिने बताएका छन् ।

त्यस्तै, क्रिकेट अष्ट्रेलिया (सिए)ले आईपीएलमा आफ्ना खेलाडीहरूको सहभागिताको वारेमा कुनै खुलासा गरेको छैन । यो बारेमा सिएका अध्यक्ष निक हकले आईपीएलको वारेमा चर्चा भैरहे पनि यसको लागि केही समय कुर्नु नै राम्रो हुने बताए । सेप्टेम्बरमा अष्टे«लिया कुनै पनि अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम नभएकोले अष्ट्रेलियाका खेलाडीले आईपीएलका बाँकी खेलमा सहभागिता जनाउन सक्ने अनुमान गरिएको छ, तर सिएको निर्णय अन्तिम हुनेछ ।