राष्ट्रपति बाइडेनले अफगानिस्तान योजना नपछ्याएको पूर्वराष्ट्रपति ट्रम्पको आरोप

राष्ट्रपति बाइडेनले अफगानिस्तान योजना नपछ्याएको पूर्वराष्ट्रपति ट्रम्पको आरोप



अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राखेका छन् ।

अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या भएको डिमोक्र्याटिक नेता बाइडेनविरूद्ध ट्रम्पले आरोप लगाएका हुन् ।

अमेरिकी समय अनुसार शनिबार जारी गरिएको विज्ञप्तिमा ट्रम्पले भनेका छन्, ‘हाम्रो प्रशासनले नयाँ सरकारका लागि छोडेको योजना पछ्याउनुको सट्टा उहाँ अफगानिस्तानबाट बाहिर निस्किनुभयो ।’

हाम्रो योजनाले अमेरिकी जनता र सम्पत्तिको सुरक्षा गऱ्यो र तालिबानले कहिल्यै पनि अमेरिकी दूतावास लिने वा अमेरिकाविरुद्ध नयाँ आक्रमणका लागि आधार प्रदान गर्ने सपना देख्ने छैन भन्ने सुनिश्चित गरेको थियो । त्यो अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने तथ्यद्वारा निर्देशित थियो ।”

अमेरिकी रिपलिकन नेता ट्रम्पले भनेका छन्, ‘मैले आइएसआइएसलाई पराजित गरेपछि एउटा भरपर्दो रोकथाम गर्ने सोच बनाएँ । त्यो रोकथामको उपाय अहिले प्रभाबहीन बनेको छ । तालिबानलाई अब अमेरिका वा अमेरिकाको शक्तिप्रति डर वा सम्मान छैन ।’

काबुलमा रहेको अमेरिकाको दूतावासमाथि तालिबानले झण्डा उठाउँदा अपमान हुने उनको धारणा छ । कमजोरी, अक्षमता र पूर्ण रणनीतिक असमझदारीका कारण यो पूर्ण असफल हुने जिकिर ट्रम्पले गरेका छन् ।

बाइडेनले अफगानिस्तानमा थप एक हजार सेनाको तैनाथी गर्ने अधिकारमा हस्ताक्षर गरे पनि कावुलमा समेत तालिबानी सेना प्रवेश गरी कब्जा जमाइसकेका एएनआईले जनाएको छ ।