पारा तेक्वान्दोद्वारा व्यक्तित्व सम्मानित

पारा तेक्वान्दोद्वारा व्यक्तित्व सम्मानित


जापानमा आयोजना हुने पारालम्पिकको तयारी गरिरहेको नेपाली पारा तेक्वान्दोलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ ।
आगामी अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म जापानको टोकियोमा गृष्मकालीन पारालम्पिक २०२० को आयोजना हुँदै छ ।

नेपालको पारा टोलीको रूपमा एक खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्नेछिन् । टोकियोमा हुने पारालम्पिकलाई लक्षित गर्दै करिब डेढ महिनादेखि विशेष प्रशिक्षणमा रहेको पारा तेक्वान्दोलाई सहयोग गर्ने संस्था र व्यक्तिहरू सम्मानित भएका हुन् ।

नेपाल तेक्वान्दो संघअन्तर्गत रहेको पारा तेक्वान्दो कमिटीले प्रेरक वक्ता (मोटिभेसन स्पीकर) रमण भट्टराई, फिजियो नेहा शाह, योगा प्रशिक्षक प्रकाश खड्कालाई सम्मान गरेको हो ।

तीनै जनाले पारालिम्पकको तयारीमा रहेकी पलेशा गोवर्धनलाई आ-आफ्ना क्षेत्रबाट बिना सुविधा सहयोग गरेका थिए । जसको कदर गर्दै नेपाल तेक्वान्दोका संघका कोषाध्यक्षसमेत रहेका पारा कमिटीका संयोजक कासिम मियाँ धोबी र कमिटीका सचिव दीपक विष्टले मायाको चिनोसहित सम्मान गरे ।