तालिबान काबुल प्रवेश गरेपछि घानीले देश छोडे
देश छोडेका राष्ट्रपति घानीले फेसबुकमा पोस्ट गर्दै ‘दोहोरो भीडन्त भई नागरिक हताहत हुन सक्ने सम्भावनालाई रोक्न आफूले देश छोड्ने अप्रिय निर्णय लिनुपरेको’ भन्दै आफ्नो बचाउ गरेका छन् ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेको स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनी देश छोडेर ताजिकिस्तान पुगेका जनाइएको छ ।
उनको साथमा उनका नजिकका केही मानिसहरुले पनि अफगानिस्तान छोडेका छन् । उनीहरुका बारेमा विस्तृतमा केही बताइएको छैन ।
स्रोत उल्लेख गर्दै एएनआईले जनाएअनुसार तालिबान लडाकूहरुको तर्फबाट अब अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् । घानी सरकारका मन्त्रीहरुले भने आम नागरिकलाई धैर्यधारण गर्न र नडराउन आग्रह गरेका छन् । उनीहरुले नागरिकको सुरक्षा हुने आश्वासन दिएका छन् ।
तालिबान विद्रोहीका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजधानी काबुलस्थित जिल्ला प्रहरी कार्यालय पनि नियन्त्रणमा लिइसकिएको बताएका छन् । यसबारेमा घानी सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया जनाइएको छैन ।
आइतबार दिउँसैदेखि तालिबानी लडाकूहरु राजधानी काबुल प्रवेश गरेका थिए । तालिबान लडाकूहरुले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू नियन्त्रणमा लिएका छन् । आफ्नो सरकारले तालिबान विद्रोहीहरुलाई रोक्न नसकेपछि घानी राजीनामा दिनुपर्ने अवस्थामा पुगेका थिए ।

तर आइतबार दिउँसोसम्म पनि राष्ट्रपतिको कार्यालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । सरकारी अधिकारीहरुले स्थिति नियन्त्रणमा नै रहेको दाबी गरेका थिए ।
राष्ट्रपतिको कार्यालयले ट्वीटरमा लेखेको थियो, “काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन । सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरूले विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ ।”
तालिबान समूहले भने काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो । विद्रोहीहरुले देशका अन्य भागलाई आफ्नो नियन्त्रणमा लिन थालेपछि हजारौँ मानिस शरणका लागि काबुल प्रवेश गरेका थिए ।
यसैक्रममा देश छोडेका राष्ट्रपति घानीले फेसबुकमा पोस्ट गर्दै ‘दोहोरो भीडन्त भई नागरिक हताहत हुन सक्ने सम्भावनालाई रोक्न आफूले देश छोड्ने अप्रिय निर्णय लिनुपरेको’ भन्दै आफ्नो बचाउ गरेका छन् ।
बीबीसीले जनाएअनुसार रक्तपात रोक्नका लागि आफूले यस्तो अप्रिय निर्णय लिनुपरेको घानीले फेसबुकमा पोस्ट गरेका छन् । तरबार र बन्दुकको आधारमा देश कब्जा गरे पनि तालिवानले जनताको मन जित्न नसक्ने घानीको तर्क छ ।
प्रतिक्रिया