मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा

मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा



मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएका छन् ।

विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको सिन्ह्वाले जनाएको छ ।

मन्त्री जमालुद्दीनले सोमबार सामाजिक सञ्जालमा भनेका छन्, ‘हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको छ ।’

राजा अब्दुल्लाहले प्रधानमन्त्रीको राजीनामा स्वीकृत पनि गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उनलाई नै दिएका छन् ।

मलेसियाको तल्लो सदनबाट वर्तमान सरकारले विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा बुझाउनु परेको हो । ‘प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेपछि सत्तामा बस्न हुँदैन भन्ने मान्यता र नैतिकताका आधारमा हामीले राजीनामा गर्ने निर्णय गरेका हौँ’, विदेशमन्त्री हिशाम्मुद्धिन हुसेनले लेखेका छन् ।

सामाजिक सञ्जालमा उनले राजीनामाका विषयलाई जनता र देशप्रतिको माया र जिम्मेवारी बोधका रुपमा समेत व्याख्या गरेका छन् । गत वर्षको मार्चमा उनी झिनो मतान्तरले बहुमतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए, तर सत्तारुढ गठबन्धनकै एउटा दलका नेताहरुले समर्थन फिर्ता लिएपछि उनी अहिले अल्पमतमा परेका हुन् ।