नयाँ सरकारलाई नमागिएका केही सुझाव

नयाँ सरकारलाई नमागिएका केही सुझाव


वास्तवमा नेपालीले वार्षिक नीति तथा कार्यक्रम, बजेट आदिमा त्यति रुचि राख्दैनन्, किनकि भनेका कुरा पुग्दैनन् र, जनताको कष्टपूर्ण जीवनमा (थोरैको बाहेक) केही परिवर्तन भएको छैन । तसर्थ अब प्रस्तुत हुने बजेटमा जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेतर्फ कार्यान्वयनयोग्य कार्यक्रम बन्ने अपेक्षा राखिएको छ ।
  • डा. तिलक रावल

कोभिडको मारमा परेको अर्थतन्त्रलाई उकास्न समयमा नीति-नियम तर्जुमा गरेर सफल कार्यान्वयन गर्नुपर्ने बेलामा सरकार परिवर्तन हुन जाँदा अन्यौल बढेको छ । विवादका बीच ओली सरकारले अध्यादेशबाट आर्थिक वर्ष (आ.व.) २०७८/७९ को लागि सार्वजनिक गरेको रु. १६४७ अर्ब बढीको महत्वाकाङ्क्षी बजेटबारे स्वभावतः हामी सबैले धेरै टिप्पणी गरिसक्यौँ । वर्तमान देउवा सरकारका अर्थमन्त्री शर्माजी यो बजेटको प्रतिस्थापनको गृहकार्यमा लाग्नुभएको खबर सुनिँदै छ । आकाशिएको ब्यापार घाटा कम गर्न उक्त बजेटले बालुवा, ढुङ्गा निर्यातलाई दिएको हास्यास्पद र वातावरणीय दृष्टिकोणले अति निन्दनीय उक्त प्राथमिकता, सामाजिक सूरक्षा शीर्षकमा ३३ प्रतिशतको कर्णप्रिय वृद्धि र महामारीको मारमा परेको अर्थतन्त्रलाई उकास्न ठोस कार्यक्रमको अभाव यस बजेटका दुर्बल, विवादित पक्ष हुन् भने ओली सरकारले आ.व. २०७७/७८ मा बिजुलीबाट चल्ने गाडीमा वृद्धि गरेको भन्सार महसुललाई कम मात्र नगरी यस्ता सवारीसाधनको प्रयोग बढाउन केही राम्रा व्यवस्था पनि गरेको रहेछ, यो चाहिँ आ.व. २०७८/७९ का लागि सरकारले ल्याएको बजेटको सवल पक्ष हो जस्तो लाग्छ । समग्रमा सरकारले पीडित जनता र पिल्सिएको अर्थतन्त्रलाई राहत दिन विगतका वर्षहरूमा सकेन भन्ने जनगुनासो छ । बजेट तर्जुमा गर्दा विचार गर्नुपर्ने, धेरैले पटक-पटक भन्ने गरेका केही तथ्यहरू यहाँ प्रेषित छन् ।

हाम्रो अर्थतन्त्रको अति दुर्वल पक्षको रूपमा विगतदेखि नै ठूलो व्यापार घाटा रहँदै आएको छ, जुन हालका वर्षहरूमा झन् आकाशियो । भनिन्छ आ.व. २०७७/७८ मा हाम्रो देशले १६१ देशसँग व्यापार गऱ्यो र, १४० देशसँग व्यापार घाटा भोग्यो, अर्थात् २१ देशलाई मात्र नेपालले आफ्ना सामान ती देशबाट किन्नेभन्दा बढी बेच्यो । भारत र चीन दुवैसँग ठूलो व्यापार घाटा वार्षिक रूपमा हामीले ब्यहोरेका छौँ । आयात र निर्यात दुवैमा ६० प्रतिशत बेसी भाग ओगेटेको भारतसँगको घाटा सबभन्दा बढी हुनु स्वभाविक नै हो । आ.व. २०७७/७८ मा नेपालको आयात रु १५३९.८३ अर्ब रह्यो भने निर्यात मात्र रु १४१.१२ अर्ब । निर्यात पनि यस्ता सामाग्रीको भएको छ जसमा मूल्य अभिवृद्धि राम्रो छैन । जस्तै अर्जेन्टिना, ब्राजिलदेखि डलर तिरेर ल्याएको भटमासलाई पेलेर भारतमा निर्यात गर्दा हाम्रो अर्थतन्त्रले कति फाइदा पाउँछ होला ! अहिलेका मूख्य निर्यात सामान (भटमासको तेल) र अलि अघिको पामआयलको एउटै किस्सा हो । भारतमा हुने सामान्य नीतिगत परिवर्तनले पामआयलको जे हाल भयो सो भटमास तेलको पनि हुन सक्छ । आफ्ना उत्पादक र उपभेक्ताको हित संरक्षण गर्नु प्रत्येक राष्ट्रको परम कर्तव्य हो ।

यहाँनेर स्मरणयोग्य कुरा यो छ कि हामीसँग व्यापार गर्ने देशहरूले आयात शुल्क बढाएर वा गैह्रशुल्क ब्यवधान खडा गरेर हाम्रो निर्यातलाई हतोत्साहित गरेका होइनन् । हाम्रो उत्पादन आधार नै कमजोर छ र, निर्यातयोग्य वस्तुको अभाव छ, हाम्रो देशमा । यो कृषिप्रधान देश नेपालमा आ.व. ०७७/७८ मा रु. ८० अर्बको खाद्यान्न आयात भयो जसमा चामलको हिस्सा करिब रु. ५० अर्ब बराबरको रह्यो भने रु. ३८ अर्ब बराबरको सागसब्जी हामीले विदेशबाट किनेर खायौँ । उत्पादन नै भएन भने के निर्यात गर्ने ? यसैले होला बजेटमा निर्यात प्रवर्द्धनका लागि नगद अनुदानको व्यवस्था गरिँदा पनि निर्यात उकालो लाग्न नसकेको ।

केही दिनअघि आदरणीय वैज्ञानिक महावीर पुनले एउटा टेलिभिजन कार्यक्रममा देशको व्यापार घाटाबारे गम्भीर चिन्ता व्यक्त गरेको सुनेँ । उहाँको वैज्ञानिक कार्य/अनुसन्धानबाट उत्पादन बढाइ निर्यातमा पनि सुधार ल्याउन सकिन्थ्यो कि भन्ने उत्तम सोचाइ रहेछ । निश्चय नै यो ठूलो चिन्ताको विषय बनेको छ जसबारे सबभन्दा बढी गम्भीर देशका शासकहरू बन्नुपर्ने हो ।

आ.व. २०७८/७९ को बजेट सार्वजनिक गर्दा ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले २-३ वर्षको समयसीमा तोकेर चामल, दुध, सब्जी, मासु आदिमा आत्मनिर्भर हुने कुरा उल्लेख गर्नुभएको थियो । अब देउवाजीका अर्थमन्त्री जनार्दन शर्माजीले कति समयमा हामीलाई कम्तिमा चामलमा आत्मनिर्भर बनाउने कुरा उल्लेख गर्नुहुने हो, उहाँले रच्दै गरेको बजेटमा । यसैबीच हामीले सरकारको (सहभागी पार्टीहरूको) साझा न्यूनतम कार्यक्रमबारे जानकारी पायौँ जसले आमनेपालीको ध्यानाकर्षण गरेन, तर प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले ओलीजीले सदनमा यसउपर कटाक्ष गर्दै बहुचर्चित एमसीसी र कालापानी लिपुलेकबारेको भारतसँगको विवादबारे प्रष्ट धारणा राख्न नसकेको आरोप प्रधानमन्त्रीलाई लगाउनुभयो । आफ्नो भाषिक क्षमता र वाकपटुताको बलमा ओलीजी केही क्षण त आफ्ना कटु आलोकलाई पनि मुग्ध पार्न सक्नुहुन्छ ।

अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र पनि त्यति रोचक पाएनन्, नेपालीले । राष्ट्रऋण बढे पनि, ४ वर्षमा रु. १० खर्बले, सोको सदुपयोग, पूँजी निर्माणमार्फत हुन नसकेको छर्लङ्ग छ, तर दुरुपयोग कति र कहाँ भयो भन्नेबारे पत्र समग्रमा मौन छ । केही वामपन्थी झुकाव राख्ने विज्ञहरूले यो श्वेतपत्रमा नचाहिँदा लान्छना रहेको दस्तावेज भनेर पनि टीका-टिप्पणी वा चित्रण गरे । तथापि, विगतका पत्रहरूको तुलनामा कमै आलोचना भेटिन्छ । हो पनि, सबैले आलोपालो मिलेर देश चलाएकोले एउटा सरकारलाई मात्र दोष दिनु राम्रो पनि होइन । जनार्दनजीले बुझ्नुभएकै होला २०७७/७८ आ.व. मा ४ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन नसक्ने स्थितिमा २०७८/७९ आ.व. मा नाटकीय परिवर्तन हुन सम्भव छैन, त्यो पनि कोभिड नियन्त्रणमा आउने लक्षण कतै नदेखिएका घडीमा । न्यून आर्थिक वृद्धि दर, आकाशिएको व्यापार घाटा, ऋणात्मक चालु खाता र भुक्तानी सन्तुलनको स्थिति अनि घट्दो विदेशी विनिमय मौज्दातले वर्तमान कठिन स्थिति अझ सकसपूर्ण हुने छर्लङ्ग छ ।

पुनश्चः, पर्याप्त मात्रामा आकाशबाट पानी झरे पनि यसपाली धानीबाली विगत वर्षको भन्दा कम लगाइएको उपलब्ध तथ्याङ्ले देखाएको छ । हाम्रो गार्हस्थ उत्पादनमा धानको योगदान हालसम्म उल्लेख्य रहेको छ । पेश हुने बजेटमा ६ प्रतिशतसम्मको आर्थिक वृद्धिदर राख्नैपर्ला । हालै सार्वजनिक भएको आ.व. २०७८/७९ को मौद्रिक नीतिले कोभिडको मारमा परेका उद्योगहरूलाई राहत पुऱ्याउने विगत वर्षको नीति कायमै राखेको छ । यसो गर्न राष्ट्र बैंकले पुनर्कर्जाको (रु.२०० अर्ब) व्यवस्था गरेको छ भने कर्जा पुनर्तालिकीकरणको व्यवस्था पनि गरेको छ । कोभिड महामारी नियन्त्रणका लागि बनाइने खोपलाई पनि सुलभ कर्जा उपलब्ध हुने उद्घोष राष्ट्र बैंकले गरेको छ । यी उद्घोषित क्रियाकलापको सफल कार्यान्वयन गर्दै मुद्रास्फीतिलाई ६ प्रतिशतको हाराहारीमा राख्न केन्द्रीय बैंकलाई सफलता मिलोस् ।

वास्तवमा नेपालीले वार्षिक नीति तथा कार्यक्रम, बजेट आदिमा त्यति रुचि राख्दैनन्, किनकि भनेका कुरा पुग्दैनन् र, जनताको कष्टपूर्ण जीवनमा (थोरैको बाहेक) केही परिवर्तन भएको छैन । तसर्थ अब प्रस्तुत हुने बजेटले जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेतर्फ कार्यान्वयनयोग्य कार्यक्रम बन्ने अपेक्षा राखिएको छ । शीर्ष नेताका धारामा फालाफाल पानी भए पनि हावासम्म यदाकदा फाल्ने धारा भएका, आमनागरिकको प्यास मेटिँदैन । महिनौँसम्म पानी नआउने धाराको मासिक शुल्क सरकारले उठाउन मिल्छ ? विद्युत खपतमा तल्लो वर्गलाई राहत पुग्ने गरी दिइएको छुट (मासिक २० यूनिट) राम्रो हो र, यसले नेपाल विद्युत् प्राधिकरणको वित्तिय स्वास्थ्यलाई प्रतिकुल असर नपरोस् र लोडसेडिङ भन्ने चिज नेपालीले कहिल्यै ब्यहोर्नु नपरोस् । सेवावापत शुल्क तिर्न गाह्रो मान्दैनन्, तर हामीले उपभोग नगरे पनि पानीको भने शुल्क तिर्नुपरेको छ । यो पीडा बुझ्नुपऱ्यो, सरकारले ।

बालुवा, ढुङ्गाको निर्यातबाट व्यापार घाटा कम गर्ने कुरा त आउने बजेटमा पर्दैन होला, तर के गर्दा यो घाटा, जुन वार्षिक खर्च भएको बजेट रकमभन्दा बढी छ, कम गर्न सकिन्छ भन्नेबारे केही सुन्न त अवश्य पाइएला । यस सम्बन्धमा केही कुरा राख्ने घृष्टता यहाँ गरिएको छ ।

आयातित वस्तुमा पेट्रोलियम पदार्थको स्थान प्रमुख छ र, आन्तरिक ऊर्जा उत्पादन (जल, सौर्य, वायू) र सोको समुचित वितरणबाट मात्र यसमा कमी ल्याउन सम्भव छ । भारतले जल, सौर्य, वायू र आणविक ऊर्जा उत्पदनलाई हालका वर्षमा दिएको महत्वलाई दृष्टिगत गर्दा उसले नेपाली विद्युत्लाई कुरेर बस्ने स्थिति छ जस्तो लाग्दैन । ऊर्जा उत्पादनको साथै सोको आन्तरिक खपतलाई विभिन्न उपाय, जस्तै- मौद्रिक र वित्तियबाट बढाउनुको विकल्प छैन । यसबाट व्यापार घाटामा कमी त हुन्छ नै, वातावरणीय प्रदुषणमा पनि उल्लेख्य सुधार हुन्छ । भटमासको तेलको निर्यात यति शय प्रतिशतले वृद्धि भयो भनेर झ्याली पिट्ने समय होइन यो । आवश्यक कपडा, धागो, बटन र दर्जीसमेत सिमापारिबाट आएर तयार गरिएका गार्मेन्टको अर्बौं डलरको निर्यातबाट देशले कति लाभ उठायो ? आज यो उद्योगको स्थिति के छ देशमा ? किन उही समयमा आरम्भ भएको गार्मेन्ट बङ्लादेशमा फष्टाउन पुग्यो छिमेकीहरूले ऱ्याल काढ्ने गरी ? सोचौँ न ! आयात र निर्यातले नै विश्वव्यापार चलेको हुन्छ, तर प्रत्येक देशले आफ्नो बस्तु बढी बेचौँ र बाहिरबाट कम किनौँ भन्ने चाहन्छ र, सोअनुरुप प्रयत्न पनि गर्छन् । हामीले पनि नचाहेका होइनौँ तर प्रयत्न भएन जस्तो लाग्छ । हामी चिया राम्रो उत्पादन गर्छौं र निर्यात पनि, केही आयात पनि हुन्छ । अर्बको निर्यात हुँदा सोही वस्तुको करोडको आयातले अर्थतन्त्रलाई नराम्रो गर्दैन । समय सिमा तोकेर उत्पादन वृद्धि कार्यक्रम ल्याउनु पऱ्यो, खासगरी कृषिलाई प्राथमिकता दिएर ।

लामो अनुभव भएका प्रधानमन्त्री र सफलतापूर्वक अरु मन्त्रालय हाँकिसकेका अर्थमन्त्रीज्यू भएको बखत सर्वसाधारणले पण्डित्याइँ छाँट्नु राम्रो होइन, तथापि केही अन्य सुझाव भने ग्रहणयोग्य हुन सक्छन् ।

केही महिनाअघिको अनु्भवलाई हेर्ने हो भने सरकारले हतारमा उद्घाटनका काम नगरे बेस ! अझ बालुवाटारबाट स्वीच थिचेर उद्घाटन गर्ने काम नगरे बेस ! मेलम्ची, तामाकोशी, गोदावरीस्थित सम्मेलन केन्द्र, धरहरा, सयभन्दा बढी सडक आदिको विवाद, टिप्पणी त हामी सबैले सुनेकै छौँ । बजेटमा राख्ने तर अर्धवार्षिक समीक्षामा ठूलो कटौटी गर्ने परम्पराको अन्त्य हुनुपर्छ, किनकि यी कार्यले खर्चलगानी गर्ने वातावरण नेपालमा रहेनछ भन्ने कुरा विदेशीले सहजै बुझ्दछन् ।

बाढी-पहिरोले विगतदेखि ठूलो क्षति वर्षेनी पुऱ्याउँदै आएको छ । बाढीपीडितले वर्षौंसम्म राहतको प्रतीक्षा गर्नुपर्छ (जस्तै बर्दियाका निमुखा जनता), र यो क्रम जारी नै रहने हुनाले विपत व्यवस्थापनको लागि एक छुट्टै निकायको आवश्यकता छ । गृहमन्त्रालयको एक शाखाले गर्न सक्ने काम होइन यो, हालसम्मको अनुभवको आधारमा ।

प्रधानमन्त्रीज्यू, नेपाली जनता शासन गर्न सजिला छन् र वर्तमानमा यिनको ठूलो आशा/अपेक्षा पनि छैन । कहालीलाग्दो ब्यथिति रहेन भने, लुटमार, भ्रष्टाचार सहन सक्ने सिमाभन्दा बाहिर गएन भने, सर्वसाधारण अप्रशन्न नहोलान्, अहिले यत्ति कामना गरौँ ।