तालिवानी कब्जाबाट नेपाललाई तीन सन्देश

तालिवानी कब्जाबाट नेपाललाई तीन सन्देश


नेपालमा अग्रगमनको आवरणमा धर्मनिरपेक्ष, संघीयता र गणतन्त्रलाई सिँगारिँदै छ भने, यीबाहेकका विचारलाई प्रतिक्रियावादीको संज्ञा दिइँदै छ । अफगानिस्तानबाट पाठ नसिकी यस्तै रवाफबाट अघि बढ्दा करिब ४५ प्रतिशत समर्थित तालिवानले नाटकीय ढङ्गबाट सत्ता हत्याउन सक्छन् भने ८१ प्रतिशत हिन्दूसहित ९० प्रतिशतभन्दा बढी समर्थित ओमकारहरूले चमत्कारी शैली देखाउनन् भन्न कहाँ सकिएला र ?
  • धीरज निष्पक्ष

बीस वर्षको अन्तरालमा बीस दिनमै नाटकीय ढङ्गबाट अफगानिस्तानमा पुनः तालिवानराज उदाउन लागेको छ । सुक्ष्म व्यवस्थापन गर्ने भनी कहलिएको र संसारकै बौद्धिक विश्लेषकको दर्जा पाएको अमेरिकी खुफिया एजेन्सी सिआईएले ९० दिनभित्र तालिवानमा काबुल आइपुग्ने भनी गरेको अनुमानलाई समेत लोप्पा खुवाउँदै अन्ततः तालिवान ९० घण्टाभित्रै नाटकीय ढङ्गबाट काबुल भित्रियो । यस मानेमा परम्परागत अनुमान झूटो सावित हुन पुगेको छ ।

यो पङ्क्तिकार अफगानिस्तानमा तालिवानको पुनरागमनप्रति न कुनै समर्थन गर्दछ न त विरोध नै ! अर्थात्, वस्तुगत विश्लेषण र उदाहरणीय करणीहरूलाई इङ्गित गरी आलेखमा उतार्नेबाहेक ।

पहिला हिन्दू त्यसपछि बौद्ध र हाल मुस्लिम राष्ट्रको नामबाट परिचित अफगानिस्तान, विद्रोही तालिवान तथा अमेरिका–रुस टकरावलाई बुझ्न केही वर्ष पछिल्तिर फर्कनु आवश्यक छ । सन् १९१९ मा भारतबाट अंग्रेजले डुरण्ट रेखालाई सीमाक्षेत्र मानी, स्वतन्त्रता पाएको अफगानिस्तानमा शाहवङ्शीय शासन शुरु भयो । जब राजा १९७३ मा उपचारको गर्न युरोप गए, सेनापति दाउद खानले सत्ता कब्जा गरी ४ वर्षपछि नयाँ संविधान लागू गरे । यसकारण राजा मोहम्मद जहीर शाह अफगानिस्तानका अन्तिम राजा हुन् । यद्यपि दाउदको बागडोरलाई अफगानीले पचाएनन् र विद्रोह भयो, जसलाई सोरक्रान्तिको नामबाट जानिन्छ । सोरक्रान्तिको उपज रुससमर्थित नूर मोहम्मद तारिकरको उदय भयो । यसैबेलादेखि अमेरिका र रुसको कृयास्थल बनेको अफगानिस्तान राजनीतिक दलदलमा फसेको प्रस्थानबिन्दू मान्न सकिन्छ ।

नूर मोहम्मद नेतृत्वको सरकारका विदेशमन्त्री हपिजुद्दिन अमिन भने अमेरिकासमर्थित थिए । नूर मोहम्मद कम्युनिष्ट पृष्ठभूमिका भएका र रुससमर्थित रहेको कारण उनमा पनि धर्म अफिम हो भन्ने मनोवृत्ति हुँदा त्यसबाट मुस्लिम जनता क्रुद्ध हुन थाले । बिस्तारै नूर मोहम्मद जनताको घृणित पात्रको रूपमा छवि बन्दै जाँदा त्यसमा थप विदेशमन्त्री हपिजुद्दिनले अफगानिस्तानमा आधुनिकीकरणलाई तीव्रता दिए, ताकि जनतामा नूर मोहम्मदप्रति जनताको अझ बढी रोष थपियोस् ! आफ्नै विदेशीमन्त्रीबाट असहयोग र जनतामाझ आफ्नो नकारात्मक छविमा बढावा दिएपछि रुसको सल्लाहमा हपिजुद्दिनलाई पदमुक्त गर्ने योजना पूरा नहुँदै विदेशमन्त्रीबाट नूर मारिन्छन् । त्यसको बदलामा रुसद्वारा १९७९ मा अफगानिस्तानमाथि आक्रमण गरी हपिजुद्दिन पनि मारिन्छन् । अमेरिकाले रुसविरुद्ध ४२ प्रतिशत जनसंख्या रहेको पस्तो जाति र ओसामाविन लादेनलाई प्रयोगमा ल्याइ अफगानिस्तान छोड्न बाध्य पार्दछ । पस्तो भाषामा विद्यार्थीलाई तालिक भनिन्छ । विदेशीविरुद्ध मुल्लाह उमरको नेतृत्वमा १९९४ मा ५० सदस्यीय तालिक नै आजको तालिवान हो । जुन आज अमेरिकाको लागि ‘टाउकोदुखाइ’को विषय बनेको छ ।

पच्चीस वर्षअघिको राजकीय तालिवान र आजको विद्रोही तालिवानको बीचमा पनि पृथकता त पर्याप्त हुने नै भयो । काल, परिवेश, सामरिकता र विश्वसमुदायको निकट उपस्थितिले चाहेर पनि २५ वर्षअघि उभिन गुञ्जायस नहोला । विश्वमञ्च एकातिर उभिँदा २५ वर्षअघिको जस्तो सरिया कानुन लागू गर्न तालिवानका वर्तमान नेतृत्वकर्ता हिवातुल्लाह अखुन्जाडा र अब्दुल घानी बरादरलाई पनि त्यति सुविधा नहोला । तसर्थ चाहेर/नचाहेर पनि २५ वर्षअघिको जस्तो कट्टरपन्थी र क्रुरता न्यूनीकरण गरी थोरबहुत उदारताको छवि देखाउन सक्नु बाध्यता र चुनौती दुवै हो, तालिवानलाई । तर, आफ्नो नीतिबाट भने तालिवान त्यति सजिलै पछि हट्न भन्न गाह्रै छ । दैनानुदिन बढोत्तरी भावबाट अफगानिस्तान कब्जा गर्न सफल तालिवानका जोखिमसँगै सफलताका कथा र नेपथ्य भूमिका कयौँ होला, त्यो फरक विश्लेषणको पाटो हो ।

चाणक्यको एक भनाई यहाँ सान्दर्भिक होला कि; चलाख व्यक्ति अरुको घटनाबाट शिक्षा लिन्छन्, किनकि हर विधाको परीक्षण गर्न आफ्नो पूरा जीवनले पुग्दैन÷सम्भव हुँदैन । त्यस्तै मूर्खहरू आफैं घटनाको शिकार भइ अरुलाई शिक्षित बनाउँदछन् । यो वाणीको तात्पर्यता पछिल्लो विकसित घटनाक्रमबाट अफगानिस्तान शिकार भइरहँदा नेपाल शिक्षित हुन सक्नुपर्नेछ भन्ने हो ।

अफगानिस्तानमा तालिवानको पुनरागमनले स्पष्ट रूपमा तीन सन्देश दिन भने सफल छ । अझ नेपालको परिप्रेक्ष्यमा त यो घटनाले शिक्षासमेत दिएको छ ।

१) खराबलाई आफूअनुकूल वा प्रतिकूल जे भए पनि ‘खराब’कै दृष्टिकोणबाट व्यवहार गर्नुपर्दछ :

अमेरिका यस्तो राष्ट्र हो, जो आफूअनुकूल वा प्रतिकूलता अनुसार ‘सेतोलाई कालो र कालोलाई सेतो’ किटान गर्न कुनै लाज मान्दैन । सन् १९७९ तिर धार्मिक कट्टरपन्थी मानिने इरानमा अमेरिकाले प्रभाव बढाउँदा त्यहाँ आधुनिकताको आवरणभित्र मुस्लिम जगतमा पहिलोपटक पार्टी, बीयर, डान्सबार तथा छोटा लुगालगायतका पश्चिमी संस्कृतिले व्यापक मात्रामा तीव्रता पायो । जबकि रुसप्रभावित अफनागिस्तानमा पनि त्यस्तै प्रकृतिको आधुनिकताको अभ्यास भइरहँदा त्यही अमेरिका आधुनिकताको नाममा तिमीहरूको धर्म, सभ्यता र संस्कृति सिद्धिँदै छ भनी, अफगानहरूलाई रुसविरुद्ध भड्काउन सफल रह्यो । जवाफमा रुसले पनि इरानमा अमेरिकाविरुद्ध भन्न थाल्यो कि, अमेरिकी सुधारवादभित्र तिमीहरूको मजहर खत्तम हुँदैछ । फलस्वरूप अमेरिका इरानबाट भाग्नुपऱ्यो । हो त्यही दिनदेखि आजको दिनसम्म पनि अमेरिकाले इरानलाई आतङ्ककारी र दुश्मनको रूपमा चित्रण गर्दै आएको छ ।

आज फेरि अमेरिका अफगानिस्तानमा हारेर फर्केको छ । यो पनि विगतकै नजीरको अर्को परिष्कृत संस्करण हो, न कि नयाँ घटनाक्रम । यो उसलाई विश्वमञ्चले नियालेको तेस्रो संस्करणको हराइ हो । भियतनाम, अलकायदाद्वारा सेप्टेम्बर ११ का दिन अमेरिकामा भएको आतङ्ककारी हमला र अफगानिस्तानबाट लज्जास्पद बहिर्गमन । हुन तः यस्ता प्रत्येक कसीहरूलाई जोड्दै जाने हो भने, कति निस्कन्छन्, कति ! अमेरिकाको स्वभाव र व्यवहारलाई उसैको भाषाको ‘युज एण्ड थ्रो’ले भन्दा राम्रोसँग नेपाली एक उखानले पुष्टि र चरितार्थ गरिदिन्छ, ‘काम परुञ्जेल भाँडो, काम सिद्धिएपछि ठाँडो !’

उखान पुष्ट्याइँको अर्को एक प्रसङ्ग : जब अफगानिस्तानलाई आक्रमण गर्दै रुस डिसेम्बर २५, १९७९ घुसेको थियो, त्यसलाई रोक्न अमेरिकाले पाकिस्तानमार्फत् मुजाहिद्दिनलाई पैसा, हतियार र तालिम प्रदान गर्दथ्यो । प्रविधिसम्पन्न रुसका हेलिकप्टर तथा लडाकु जहाजहरूलाई खसाल्न तीर पनि चलाउन नआउने मुजाहिद्दिनका हातमा अमेरिकाले स्ट्रिङ्गर मिसाइल थम्यायो र, एकपछि अर्को गर्दै सबै रुसी जहाज मैदानमा बज्रिन थाले । जसका कारण रुस आफ्नो ठूलो क्षति व्यहोर्दै रित्तो हात फर्कन बाध्य भयो । काम परुञ्जेल अमेरिकाले आफ्ना सहयोगी मान्दै आएको हिजोको मुजाहिद्दिन नै आजको अमेरिकाको दुश्मन अलकायदा, तालिवानलगायका चरमपन्थी सङ्गठनहरूको जननी हो । अमेरिकाले दुश्मन भनी किटान गरेका ओसामाविन लादेन, अलकायदा तथा तालिवान हिजो अमेरिकाका कार्यसिद्धिकर्ता हुन् । बुवाको निर्माण कम्पनीमा अभ्यस्त ओसामा विन लादेनलाई अमेरिकाले साउदी अरेबियादेखि लगेर रुसविरुद्ध अफगानिस्तानमा उतारेको थियो । यस बुँदाको निष्कर्ष भनेको गलत विषय, वस्तु वा व्यक्ति गलत नै किटान गर्न सक्नु पर्दछ । गलतलाई पनि आफूअनुकूल रहँदासम्म ढाकछोप गरी असलको कसी लगाउने र प्रतिकूल हुँदा मात्रै खराब भन्ने दोहोरो मापदण्ड कालान्तरमा आफूमाथि नै प्रत्युत्पादक बन्ने तालिवानबाट सिक्न सकिन्छ ।

२) परम्परागत मतलाई कम आँकलन नगर्नु :

अमेरिकी राष्ट्रपति जो वाइडेनले मे महिनाबाट शुरु भएर सेप्टेम्बरसम्ममा आफ्ना सैनिक अफगानिस्तानबाट निकालिसक्ने बयान दिएसँगै मे महिनामै दक्षिण-पश्चिमक्षेत्र हेल्मेण्डमा तालिवानीले कब्जा गरिसकेका थिए । ४ महिनाभित्रै नाटकीय ढङ्गबाट तालिवानको अफगानिस्तानमा पुनरागमन भएको छ । अफगानिस्तानमा करिब ४२ प्रतिशत जनसंख्या रहेको पस्तोभाषीको विद्यार्थी अर्थ बुझाउने शब्द तालिकको तालिवानलाई पस्तोसहित झण्डै ४५ प्रतिशत जनसंख्याको भावनात्मक समर्थन छ । २५ वर्षअघि पनि अफगानिस्तानको बागडोर सम्हालिरहेको तालिवानी सरकार ओसामा विन लादेन खोज्दै आएको अमेरिकीनेतृत्वको नेटो सेनाद्वारा विस्थापित भएको थियो ।

विदेशी व्यवस्थापन र शैलीद्वारा निर्देशित अफगानी सरकार देशभित्रैको परम्परागत मत बोक्ने तालिवानसँग कहिल्यै समदूरीमा बढ्न चाहेन वा सकेन । अमेरिकाको पृष्ठशक्तिलाई ‘…को न्यानो’ झैँ आडम्बर देखाउँदै अघि बढिरहेका हमिद कारजाइ र अशरफ गनीका सरकारहरू आफूलाई प्रगतिशील र अग्रगमनकारी देखाउने चेष्टामा तालिवानलाई पश्चगमनवादीको बिल्ला भिराइ मात्रै रह्यो । फेरि पनि ध्यान रहोस्, यो पंक्तिकार तालिवानको समर्थनमा किमार्थ छैन र रहँदैन । हुन त कारजाई र गनीका सरकारले तुलनात्मक रूपमा धार्मिक सहिष्णुता, महिलाअधिकार तथा विकास-निर्माणमा गति लिएकै देखिन्छ । तर, स्वदेशी शक्तिलाई विदेशी आडभरोसामा कम आँकलन भने गरेकै हो । तालिवानलाई पनि विश्वास र साथमा लिँदै अफगानिस्तानको पुनःनिर्माण र शासकीय यात्रामा साझेदारी बनाएको भए, सायद आजको जस्तो दिन आउँदैनथ्यो कि ? राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्चपदस्थ पदाधिकारी भाग्नु पर्दैनथ्यो कि ? यी प्रश्नहरू जन्मिदैन थिए कि ? नेपालमा पनि अग्रगमनको आवरणमा धर्मनिरपेक्ष, संघीयता र गणतन्त्रलाई सिँगारिँदै छ भने, यीबाहेकका विचारलाई प्रतिक्रियावादीको संज्ञा दिइँदै छ । अफगानिस्तानबाट पाठ नसिकी यस्तै रवाफबाट अघि बढ्दा करिब ४५ प्रतिशत समर्थित तालिवानले नाटकीय ढङ्गबाट सत्ता हत्याउन सक्छन्, भने ८१ प्रतिशत हिन्दूसहित ९० प्रतिशतभन्दा बढी समर्थित ओमकारहरूले चमत्कारी शैली देखाउनन् भन्न कहाँ सकिएला र ? भलै त्यस्तो हिंसात्मक विद्रोह नहोस् ।

३) एकविरुद्ध अर्कोको प्रयोगकर्ता आफैंमा आत्मघाती :

राजनीतिशास्त्रानुसार राज्य हुनलाई ४ शर्त अनिवार्य छ; निश्चित भूगोल, जनसंख्या, सरकार र सम्प्रभुता । बलियो, कमजोर, सानो, ठूलो यी विविध विधाबाट राज्यको मापन गर्न सकिएला तर, सम्प्रभुता यस्तो विषय हो जसको मापन र तुलना गर्न सकिँदैन । देश ठूलो-सानो, सरकार बलियो-कमजोर, जनसंख्या धेरै-थोरै भनी, तुलनात्मक लेखाजोखा गर्न सकिएला, तर कुनै एक देशको सम्प्रभुता अर्को देशको सम्प्रभुताभन्दा धेरै र थोरै भन्न वा मान्न सकिँदैन । यहाँ सम्प्रभुता समान र उत्तिकै हैसियत कायम हुन्छ । आजको अफगानिस्तान कुनै बेला रुस (तत्कालीन सोभीयत संघ) विरुद्ध त कुनैबेला अमेरिकाविरुद्ध प्रयोग भएको भूमि हो । तसर्थ कुनै देशको सम्प्रभुतालाई कम आँकलन गर्नु निश्चित रूपमा त्यो देशको उँधोमार्गको शुरुवाती विन्दू हो । संयोग वा भाग्य/दुर्भाग्य जसरी परिभाषित गरे तापनि नेपाल पनि दुई ठूला भीमकाय छिमेकीको बीचमा अवस्थित छ । भारत र चीन मिल्दा पनि नेपाललाई सङ्कट आउन सक्छ, नमिल्दा त महासङ्कट । नेपालले यी दुई विशाल देशबाट घाटाभन्दा फाइदा उठाउन सक्नुपर्ने जति धेरै चुनौती छ, अवसर पनि त्यति ‘महाधेरै’ नै छ । नेपालले आफ्नोभूमि कसैका विरुद्धमा रणनीतिको होस् वा सामरिकतामा होस् प्रयोग हुनबाट बचाउने मात्रै होइन, सन्तुलित भूमिका खेल्न सक्नु आजको आवश्यकता, सायमिक परिवेशता र संवेदनशीलताको परीक्षासमेत हो ।