धर्मको सम्बन्ध मन्दिरमा गएर पूजा गर्नुसँग नभएर न्यायसँग छ । म धार्मिक छैन भन्नुको अर्थ म न्यायिक छैन भन्नु हो । हाम्रो धर्म, परम्परामा राम्रा कुरा धेरै छन्, ती शक्तिशाली पनि त्यतिकै छन् । तिनलाई कमजोर पार्नुको अर्थ हामी आफै कमजोर हुँदै जानु हो ।
- बबिता बस्नेत

अभ्यास हराउँदै गएका कारण हुन सक्छ, ‘स्वयंपाक्य’ शब्द हिजोआज त्यति चल्तीमा छैन । स्वयंपाक्यको अर्थ आफै पकाउने भन्ने हुन्छ । खाना आफै पकाउने कुरा मानिसको जीवनमा कति महत्वपूर्ण छ भन्ने कुरा आध्यात्मिक चिन्तन गर्नेहरू प्रायः सबैले उल्लेख गर्ने गरेका छन् । खाना बनाउने मान्छेको मुड कस्तो छ त्यसको ‘रिफ्लेक्सन’ खानामा पर्ने हुँदा आफ्ना प्रियजन या आफैले बनाउनु सबैभन्दा राम्रो मानिएको हो । ब्रह्मकुमारी राजयोगसम्बद्ध डा. शिवानीले त तरकारी काट्दाको मुडले खानामा मात्र नभइ खाइसकेपछि शरीरमा समेत असर या प्रभाव पार्ने बताउनेगरेकी छन् । कतिले स्वयम्पाक्यलाई अरुले छोएको नखाने अर्थ लिने गरे पनि खासमा यो खानामा आफैमा निर्भर हुने कुरा हो । मानिसको जीवनमा खानाको महत्व उल्लेख गरिरहनु परेन । आहारविहार राम्रो हुनुपर्छ भन्नुको अर्थ खाना सही खानुपर्छ त्यसपछि हिँड्ने घुमघाम गर्ने काम भनिएको हो । अहिलेको यो दौडधुपपूर्ण दुनियाँमा स्वयम्पाक्य करिव असम्भव झैँ मानिन्छ जसको प्रत्यक्ष परिणाम हाम्रो स्वास्थ्यमा पर्ने गरेको छ ।
आत्मियतापूर्वक बनाएको खानाको असर हामी सबैले अनुभव गरेकै कुरा हो । आमाले बनाएको खाना किन मिठो हुन्छ ? हामीलाई आमाले बनाएको खाना मिठो लागे पनि किन मिठो हुन्छ भनेर शायद सोचेका छैनौँ । यस्तो विषयमा खासै चर्चा र कुराकानी पनि हुँदैन । आमाहरूले कहिल्यै कुकको तालिम लिनुभएन, रेसिपी हेर्नुभएन न त उहाँहरूको पालामा खानेकुरा कसरी बनाउने भनेर हेर्नका लागि टेलिभिजन र युटुब नै थियो । न त भान्सामा आवश्यक मरमसला नै हुन्थ्यो ! पहाड, मधेश, हिमाल, कुना-कन्दरा, भीरपाखा, गाउँ शहर जहाँका आमाहरूले बनाएको खाना पनि उत्तिकै मिठो हुन्छ । गुन्द्रुक होस् या आलु, मसरुम या अन्य कुनै तरकारी जे बनाए पनि मिठो लाग्छ । खासमा त्यो खाना खानेकुराको कारणले नभइ उहाँहरूको सोचको कारणले मिठो भएको हो । आफ्ना सन्तानलाई मिठो लागोस् भन्ने सोच्दै बनाउने हुनाले नुन, भुटन या बेसार हाल्दादेखि नै खानामा आमाको आत्मियता मिसिएको हुन्थ्यो, हुन्छ । विश्वमा जहाँ पुगे पनि, जति विद्ववान् या सम्पन्न भए पनि मानिसले आफ्नी आमाले बनाएको खाना ‘मिस’ गरिरहेका हुन्छन् ।
आमाको हातको खाना अहिलेसम्म त्यति पुरानो कुरा बनिसकेको छैन । बाबुहरूको हातको खानामा पनि सकारात्मक भाव पक्कै आउँथ्यो होला, हाम्रो समाजमा ज्यादै कमले मात्रै यस्तो अवसर पाउने गर्छन् । थोरै मानिसमा भए पनि अभ्यासमा आएको स्वयम्पाक्यदेखि अन्य धेरै पुराना कुराहरू राम्रा थिए तर तिनलाई हामीले हँसीमजाकमा उडाइदियौँ । र, कतिचाहिँ ब्यवहारिक रूपमा लागु गर्नै सकिएन । हिजोआज धेरैको कम्मरमा डाक्टरले दिएको पेटी बाँधेको देखिन्छ । कुर्सीमा बसेर काम गर्नेहरूमध्ये धेरैको कम्मर दुख्ने (ब्याक पेन) भएकाले डाक्टरहरूले फराकिला बेल्ट दिँदै यसलाई जीवनशैली बनाउन सुझाव दिने गरेका छन् । हाम्रा पुर्खाहरू कम्मरमा सुतीको पटुका बाँध्ने गर्थे । महिलाहरू सारी-चोलोमा पटुका बाँध्थे, पुरुषहरू दौरा-सुरुवालमा पटुका बाँध्थे र पटुकामा खुकुरी, कचिया लगायतका घाँस-दाउरा काट्ने हतियार सिउरिन्थे । कम्मरमा पटुका बाँध्ने कुरा शरीरको भरथेगका लागि कति राम्रो रहेछ भन्ने डाक्टरले बेल्ट बाँध्नुपर्ने अवस्था आएपछि मानिसले बुझ्न थालेका छन् । पुर्खाहरूले पटुकालाई जीवनशैली बनाएका थिए ।
पलेटी मारेर खाना खाने हाम्रो पुरानो चलन हो तर भान्साका पिरालाई अहिले आधुनिक किचनका कुर्सी-टेबलले बिस्थापत गरिदिए । तामाको गाग्री हटाएर प्लाष्टिकका जारले भान्सामा स्थान पाए । पहिला-पहिला मानिस बिरामी भएर अन्तिम अवस्थामा पुग्न लाग्दा तुलसीको मठमा लैजाने चलन थियो । तुलसीको बोटमा मर्न पाए धर्म कमाइन्छ भन्ने ब्याख्या गरिएकाले मानिसहरू अन्तिम अवस्थामा प्रायः तुलसीको मठमा पुऱ्याउँथे । अहिले थाहा भयो तुलसीले अक्सिजन अत्यधिक प्रवाह गर्ने हुँदा सास फेर्न सजिलो होस् भन्नका लागि त्यसो गरिएको रहेछ । तुलसीको बोटको काम अहिले अस्पतालमा महँगा भेन्टिलेटरहरूले गरिरहेका छन् । पिपलको बोटको पूजा गर्नुको कारण पनि पिपलको संरक्षणसँग जोडिएको छ । मानिसहरू आवतजावत गर्ने खास-खास ठाउँमा चौतारो बनाइ पिपल रोप्नुको कारण मानिसको श्वास-प्रश्वाससँग जोडिएको रहेछ । पिपल अक्सिजनको राम्रो श्रोत मानिन्छ ।
खाना खानेवित्तिकै हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ भनी डाक्टरहरूले भन्ने गरेका छन् । हाम्रा धर्मशास्त्रहरूमा खाना खाएपछि गाइको दुध दुहुञ्जेलसम्मका लागि थकाइ मार्नु भनिएको छ । गाइको दुध दुहुनुभरीको समय १५ या २० मिनेट हुन सक्छ । आफूसँग घडी नहुँदा त्यतिबेला समयलाई यसरी विभाजित गरिन्थ्यो ।
हामी सानै छँदा उत्तर सिरानी लगाएर सुत्न हुँदैन भनिएको थियो । कारण सोधियो भने जवाफमा- ‘मरिन्छ’, ‘पाप लाग्छ’ भन्ने हुन्थे । अहिले थाहा भयो, लगातार उत्तर सिरान लगाएर सुत्यो भनेँ ‘हार्ट एट्याक्ट’ हुने निश्चित रहेछ । उत्तर सिरान मुटुको रगत सञ्चालन र पृथ्वीको गुरुत्वाकर्षणसँग सम्बन्धित छ भन्ने कुरा वैज्ञानिकहरूले स्पष्ट पारिसकेका छन् । यस्तै खाना खानेवित्तिकै हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ भनी डाक्टरहरूले भन्ने गरेका छन् । हाम्रा धर्मशास्त्रहरूमा खाना खाएपछि गाइको दुध दुहुञ्जेलसम्मका लागि थकाइ मार्नु भनिएको छ । गाइको दुध दुहुनुभरीको समय १५ या २० मिनेट हुन सक्छ । आफूसँग घडी नहुँदा त्यतिबेला समयलाई यसरी विभाजित गरिन्थ्यो ।
सूर्य या चन्द्रग्रहण लागेको बेला खाना खानु हुन्न भन्ने हाम्रो पुरानो मान्यता हो । ग्रहण लागेका बेला पकाएर राखेको खाना बिग्रिएको देख्ने, भोग्नेहरू धेरै छन् । शरीरमा त्यसको खराब असर नपरोस् भनेर मूल्य–मान्यताहरू पहिल्यै बनेका छन् । हामीले अपनाउँदै आएका धेरै कुराहरू शक्तिशाली छन् तर हामी तिनलाई त्यागेर गर्वका साथ नयाँ अभ्यासमा जुटेका छौँ, जुन अभ्यासहरू हेर्दा झिलिमिली त छन् तर स्वास्थ्यको हिसाबले लाभदायक भने छैनन् । हामीले तिहारमा गाईको गोबर र रातो माटो छोडेर विषाक्त रङ्गको रङ्गोलीमा दङ्ग पर्न थालेको निकै भयो ।
कतिपय मानिसहरू आफू आधुनिक बन्न र आधुनिक सोचलाई अब्बल देखाउनका लागि पुराना चलनको विरोध गर्छन् । पारम्परिक कालमा पाप–धर्मसँग जोडिएका कुराहरू अहिले कानूनको रुपमा बाँधिएका छन् । अहिले जस्तो प्रहरी, कानून, अदालतलगायतको ब्यवस्था नभएकाले तत्कालिन समाजले अपराधिक कार्य नहोस् भनेर धेरै कुराहरूलाई धर्मसँग जोड्यो । पाप-धर्म छुट्याउन मन्दिरमा कसम खाने चलन थियो । अहिलेका कतिपय अदालतका फैसला हेर्दा ती कसम नै पो न्यायिक थिए कि जस्तो पनि लाग्छ ।
आधुनिक हुन कतिपय मानिसले म धर्म मान्दिनँ भनेको पनि सुनिन्छ । धर्मको सम्बन्ध मन्दिरमा गएर पूजा गर्नुसँग नभएर न्यायसँग छ । म धार्मिक छैन भन्नुको अर्थ म न्यायिक छैन भन्नु हो । हाम्रो धर्म, परम्परामा राम्रा कुरा धेरै छन्, ती शक्तिशाली पनि त्यतिकै छन् । तिनलाई कमजोर पार्नुको अर्थ हामी आफै कमजोर हुँदै जानु हो । अहिलेको जीवनशैलीमा स्वयम्पाक्यदेखि पटुकासम्म ब्यवहारिक नहुन सक्छन् तर तिनले दिने सन्देश जीवनभर काम लाग्ने छन् ।
प्रतिक्रिया