हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १,९४१ पुग्यो

हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १,९४१ पुग्यो



गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १,९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले जानकारी दिएको छ । यस भूकम्पमा परी ९,९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ ।

उक्त भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको थियो ।

एएफपीले जनाएअनुसार भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६ जनालाई जीवित उद्धार गरिएको छ ।

भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने, ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवन भत्किएका छन् । यस प्रकोपको कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसङ्घको बालबालिका एजेन्सी युनिसेफले जनाएको छ ।

हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

सन् २०१० को जनवरीमा हाइटीमा गएको ७।० रेक्टर स्केलको भूकम्पले पोर्ट–औँ–प्रिन्स र नजिकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेका थिए । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा एक लाख ५० हजारभन्दा बढी हाईटीवासी घरबारविहीन भएका थिए ।