‘गर्न नहुने केही काम’

‘गर्न नहुने केही काम’


भन्छन्, एउटा मिठो मुस्कानले दुश्मनलाई सजिलै मार्न सकिन्छ तर विरक्त अनुहार र बोलीले अनावश्यक पीडा देखाए मित्र पनि टाढा भाग्छन रे !
  • शेखर ढुंगेल

मानिसहरू जीवन यात्राको क्रममा जानेर वा नजानेर यस्तो काम पनि गर्न पुग्छन् जसको कारणले आफ्नो निजी जीवनको लक्ष्यप्राप्तिमा बाधा पुग्न जान्छ । बाटो अल्मलिन्छ वा अबरुद्ध हुन पुग्छ । नगर्नुपर्ने त्यस्ता कामहरूको लामो सूची नै हुन सक्छ, तर मानिसले दैनिक रूपमा आइपर्ने त्यस्ता काम नगर्न वा सोचलाई बढावा नदिन सचेत हुनु आवश्यक छ । कतिपय मानिसको स्वभाव नै सकारात्मक हुन्छ । सकारात्मक सोचका मानिसहरू दुःख, नोक्सान आइपर्दा पनि शान्त र सुखी नै रहन सक्ने क्षमताका हुन्छन् । दुःखका साथ भन्नुपर्छ समाजमा त्यस्ता स्वभावका मानिसहरू छन् जो नकारात्मक सोच र कार्यशैलीलाई आफ्नो सफलताको बाटो बनाउने गर्दछन् । जसले गर्दा हमेसा विवाद, तनाव, दुःख एवम् अशान्तिको भारी मात्र बोक्छन् र अन्तमा जीवन असफल बनाउँछन् । सुकरातले आफ्ना शिष्यलाई सफलताको रहस्य बताउँदै भन्नुभएको थियो- ‘सफलताको लागि मानिस यसरी नै लाग्नु पर्दछ जसरी हरपल मानिस स्वास लिन चाहन्छ ।’

बौद्ध धर्मगुरु दलाई लामा भन्नुहुन्छ- ‘मानिसको जीवन आजको दिन र अर्को दिन जस्तै हो, एउटा साथी छुट्छ अर्को भेटिन्छ, एउटा दिन सकिएर अर्को दिन आएजस्तै एउटा विश्वास मरेर अर्को आशा पलाए जस्तै । । ’, अर्थात् समय सधैं एउटै हुँदैन, आजको दुःख भोलि सुखमा बदलिन्छ, आजको सुख भोलि दुःखमा बदलिन्छ । संसारमा जन्मने प्रत्येक व्यक्तिको केही न केही लक्ष्य हुन्छ । व्यक्तिको उमेर, समय र तत्कालीन सामाजिक वातावरणअनुसार लक्ष्यको प्रकार फरक-फरक हुन्छ । भनौँ एउटा विद्यार्थीको लागि उच्च अङ् ल्याएर परीक्षामा उत्कृष्ट हुनु तत्कालको ठूलो र महत्वपूर्ण लक्ष्य हुन्छ भने एउटा ब्यवसायीको लागि अधिकतम मुनाफा नै लक्ष्य हुन्छ । त्यस्तै एउटा राष्ट्रसेवकको लक्ष्य सम्बन्धित सेवाको उच्च तहको पदसम्म पुग्ने हुन्छ । तर, मानिसले आफ्नो लक्ष्यमा बिचलित हुनु हुँदैन र लक्ष्यप्राप्तिको लागि व्यक्तिमा योग्यता, प्रतिबद्धता, लगन, धैर्य, समय र आफ्नो मानसिक उर्जा जस्ता महत्वपूर्ण विषयमा ध्यान दिनु आवश्यक हुन्छ । त्यसको बाबजुद आफ्नो लक्ष्यप्राप्तिको लागि मानिसले केही निम्न उल्लेखित कार्य नगरेमा मात्र पनि लक्ष्यप्राप्ति वा व्यक्तित्व विकास गर्न ठुलो सहयोग पुग्दछ । आफ्नो लक्षित उद्देश्य पूरा नभए पनि मानिस दुःखी हुनु पर्दैन ।

१. अरुमा भर पर्ने काम नगर्ने

कुनै उद्देश्यप्राप्तिको लागि अरुमा भर पर्ने काम जीवनको सबैभन्दा पीडादायक हुन्छ । नीतिशास्त्री चाणक्यलेले भनेका छन्– ‘अरुमा भर पर्नु जस्तो दुःख अरु केही हुँदैन ।’ धेरै मानिसले शुरु गरेका राम्रा र असल काम वा सफल हुने काम पनि अरुको कारणले बिग्रेको वा असफल भएको देखिएको छ । हाम्रो समाजमा कहावत नै छ ‘आफूले गरे पूरा काम अरुलाई लगाए आधा काम !’ नकारात्मक परिणाम हात लागेपछि अरुलाई घाती वा अविश्वासिलो भनेर दोष दिनु त आफूले आफैलाई ब्यङ्ग्य गर्नु र दुःखित बनाउनु मात्र हो । तसर्थ, आफ्नो लक्ष्यप्राप्तिको लागि आफ्नो कार्यलाई समय-सीमाअन्तर्गत पूरा गर्न सक्ने र आफ्नो योग्यता अनुसारको काममा मात्र हात हाल्नुपर्छ र, सफलता वा असफलताको जश-अपजश पनि आफैले लिँदा एक प्रकारको आत्मविश्वास बढ्न जान्छ । फलतः त्यसले अर्को बाटो वा अर्को काम (लक्ष्य) तय गर्न हौसला बढाउँदछ ।

त्यसैले आफ्नो प्रतिकुल भयो भनेर अर्कोलाई दोष दिने वा गुनासो गर्ने मानसिकताको त्याग पनि अनिवार्य छ । जे-जस्तो उपलब्धि खोज्ने हो आफ्नो योग्यता, दक्षता र क्षमतामा प्रतिष्पर्धी भएर वा आफ्नो सोचमा खोज्ने योग्यको भाग खोस्ने अर्थात् अनियमितताको लागि प्रेरित हुने प्रेरित गर्ने जस्तो दुर्नियत नराख्ने ।

जीवन एउटा संघर्ष मात्र होइन चुनौती पनि हो भन्ने सम्झी आगाडि बढे एक त आफूमा आत्मविश्वास वृद्धि हुन जान्छ, अर्को- आत्मनिर्भर बन्न पनि सहायक हुन्छ । अरुको मद्धतले प्राप्त सफलतामा क्षणिक खुशी वा आनन्द मिले पनि दीर्घकालिन भविष्यप्रति निश्चित हुन सकिँदैन । तसर्थ, मानिसले कहिले पनि अरुको भरमा बस्नु हुँदैन वा अरुको भरमा पर्नु हुँदैन । केही काम गर्ने वा केही कमाउने लक्ष्य राख्दा मानिसले आफ्नो ‘योग्यता+दक्षता+मानसिक उर्जा+प्रतिबद्धता+समय=पैसा’ को सुत्रलाई आत्मसात गर्नु पर्दछ ।

२. आफूलाई अरुसित दाँज्ने काम नगर्ने

जीवनमा केही कमी हुँदैन भने आवश्यकताको महसूस पनि हुँदैन । कमी वा अभाव प्रत्येक मानिसको जीवनमा हुन्छ । राजा-महाराजा, धनाड्य ब्यापारी वा साधारण मानिस सबैमा आ-आफ्नै प्रकारको अभाव अनि आवश्यकता खड्किएको हुन्छ । सबैको मनमा थप अरु थप अरुको चाहनाले बास गरेको हुन्छ । महान् मनोवैज्ञानिक मास्लोका अनुसार मानिसको जीवन निम्न पाँच प्रकारका आवश्यकताको वरिपरि घुमिरहेको हुन्छ, १– शरीरको आवश्यकता (भोक, प्यास र यौन), २– जीवनको सुरक्षा, ३– सम्पर्क र प्रेमको चाहना, ४– आत्मसम्मान वा प्रतिष्ठाको लालच, ५– आत्मसिद्धि । भनिन्छ, मानिसले आफ्नो कमीलाई शक्तिमा परिवर्तन गर्दछन् । उदाहरणको लागि अल्बर्ट आइन्स्टाइन र अब्राहम लिङ्कनको नाम लिन सकिन्छ । अझ भनिन्छ मानिसमा सपूर्णता हुने हो भने त यहाँ इश्वर नामको अस्तित्व समेत रहँदैनथ्यो ।

मानिसको जीवनलाई नजिकबाट गौण अध्ययनकर्ताले के निष्कर्ष निकालेका छन् भने मानिसको धेरै दुःखको कारक तत्व स्वयमको नभएर अर्काको खुशी भएको देखिन्छ । सबैले सबैको आन्तरिक असलियत थाहा पाएका हुँदैनन् । अनि अर्को मानिसको महँगा कार, ठुलो घर, लवाइखवाइ जस्ता बाहिरी आडम्बरसित आफ्नो आन्तरिक असलियत अवस्थालाई दाँज्ने गर्दछन् र आफ्नो अपूर्णतामा दुःखी हुने गर्दछन् । तर एक्कैछिन अर्काको बाहिरी आडम्बरभित्रको यावत झुठ, धोखा, अनैतिकता, भ्रष्टतासित आफ्नो इमान्दारिता, नैतिक आचरण र सदाचार तौलिने हो भने जीवन गर्व गर्नलायक, उच्च मनोबलयुक्त हुन्छ र शान्त हुन्छ । महात्मा गौतम बुद्धले भन्नुभएको छ- ‘सन्तोष नै सबैभन्दा ठूलो सम्पति हो ।’ त्यो सम्पति संसारको कुनै पनि असन्तोषी र आडम्बरीले पाउन सक्दैन । तसर्थ मानिसले आफूलाई कहिले पनि अर्काको आडम्बरसित दाँज्ने गर्नु हुँदैन, जसले आफूलाई दुःखी अपूर्ण वा हीन भावनायुक्त बनाएर लक्ष्यको बाटो बिचलित गराइदिन्छ । आफ्नो योग्यता, क्षमता समय अनि प्रतिबद्धतामा निर्भर वा विश्वास गरेर त्यसमा नै सन्तोष हुन सक्नु पर्दछ, आफूलाई अरुसित दाँजेर सधंै कमजोर वा अपूर्ण मानसिकता बोक्नु हुँदैन । त्यसो गर्दा आफूअनुकुल र आफ्नो क्षमताको सफल हुने कामसमेत छुट्दै जान्छ । मानिस झन्–झन् पछाडी पर्ने र असफल हुने गर्दछ । जीवनको अपूर्णता र अभाव नै मानिसको अगाडि बढ्ने प्रेरणा हो ।

३. अरुको कुरो काट्ने, व्यङ्ग्य गरेर रमाउने गर्न हुँदैन

हुन त हाम्रा पुर्खा वा बुज्रुकहरूले हामीलाई सुनाउँदै आएका हुन् कि कसैका सामु पनि अर्का को कुरो काट्ने वा खिस्सी गरेर रमाइलो गर्नु अनुचित हो । यदि कोही कसैको दुःख वा केही कमजोरीमा ब्यङ्ग्य गरेर हाँसो उडाइरहेको छ भने त्यस्तोमा कहिल्यै साथ दिनु हुँदैन । कुरो काट्दै जाँदा केही अनावश्यक केही अति र केही नितान्त गोप्य राखिदिनु पर्ने कुरो पनि फुस्किन सक्छ र, सो कुरो अर्को मित्रले त्यस्तै कुरो काट्ने मानिसमार्फत खबर पाउँछ अनि भएको मित्रता टुट्ने वा एक-अर्कामा अविश्वास गर्ने अवस्था आइपर्दछ । विचार गर्नुपर्ने कुरो के भने हामी जति सहज तरिकाले मुखबाट शब्द निकाल्छौँ त्यो शब्द चाहेर पनि फिर्ता हुँदैन, त्यसैले आफ्नै वा अरुको बारेमा कम र सन्तुलित तरिकाले बोल्ने स्वभावको विकास गर्नुपर्छ । स्पष्ट के हुनुपर्छ भने मेरो अगाडि अरुको कुरो काट्ने वा ब्यङ्ग्य र खिसी गर्नेले अरुको अगाडि मेरो पनि कमी-कमजोरीको कुरो काट्ने वा हाँसो उडाउने गर्छ ! यस्ता प्रवृत्तिका मानिससित संगत नै नगर्ने वा टाढा रहने गर्नुपर्छ । तसर्थ, आफ्नो व्यक्तित्व विकास र समाजमा असल नागरिक भइ सफलता हासिल गर्न अरुको कुरो काट्ने, मजाक उडाउने काम गर्नु हुँदैन र त्यस्ताको संगतसमेत गर्नु हुँदैन । जसले मानिसलाई तनावमुक्त गरी अफ्नो लक्ष्य हासिल गर्न समाजबाट सहयोग वा सकारात्मक भावनायुक्त सम्मान मिल्दछ र उ सफल हुन्छ ।

४. आफ्नो लक्ष्य वा चासोभन्दा बाहिरको कुरोमा ध्यान नदिने

यो संसारका प्रत्येक मानिसमा केही गर्ने आ-आफनै प्रकारको लक्ष्य वा चाहना हुन्छ । र, मानिसले आफ्नो लक्ष्य वा चाहना हासिल गर्न उपायको खोजी वा प्राप्त उपायलाई अवलम्बन गर्दछ । जसलार्ई प्राप्त गर्न कठोर परिश्रम, धैर्य, दृढता प्रतिबद्धता वा कोही-कोही त तपस्यासमेत भन्न रुचाउँछन् । आफ्नो घोषित लक्ष्य वा चाहना प्राप्त गर्नमा नै तनमन र धनलाई केन्द्रित गर्नुपर्छ अनि मात्र सफल हुन सकिन्छ । तसर्थ, अफ्नो लक्ष्य र चाहना भन्दा बाहिरको विषय वा कुरोमा मनलाई केन्द्रित नगर्नु राम्रो हुन्छ । यो कुरोमा ध्यान दिने मानिस आत्मसुधारको मार्गमा द्रुत गतिमा अगाडि बढ्न सक्छ र लक्ष्य हासिल गरेर खुशी र आनन्दित रहन सक्छ ।

५. विगतको नकारात्मक प्रभावलाई अगाडि राख्न नहुने

यो संसारमा सबै मानिस सधैं सफल हुँदैनन् न त सबै मानिसलाई सधैं दुःख नै दुःख वा सुखैसुखले साथ दिएको छ । अँध्यारो डरलाग्दो रातपछि उज्यालो र आशा बोकेर बिहान आए झैँ समयको परिवर्तनसँगै राजाका छोरा पाजी र पाजीका छोरा राजा हुन्छन् र भएका पनि छन् । कतिपय मानिसहरू आफ्नो विगतको दुःख, नोक्सान वा दुःखद् घटना सम्झेर चिन्तामा रहने, तनावमा हुने गर्दछन् । यो स्वभावले मानिसलाई असफल बनाउने र सधैं नैरास्य तुल्याउने गर्दछ । र, साथी आफन्तहरूलाई बारम्बार विगतको कथाब्यथा सुनाएर दुःखित बनाउने पनि गर्दछन्, त्यो राम्रो होइन । अरुलाई सुनाएर सहानुभूति पाउनुको बदला तिनले उल्टै अर्ती-सुझाव दिन थाल्नेछन् जसले विगतको दुःखलाई सुखमा बदल्न सक्दैन । आफ्नो व्यथा सुनाएर दुःखी बनाउनुभन्दा हँसाउने उपाय खोज्नुपर्छ र स्वयम् हाँस्नुपर्छ । जीवन हो यसले पहिले परीक्षा लिन्छ अनि पाठ सिकाउँछ । विगतका तितामिठा घटनाबाट जति पनि पाठ सिक्न सक्छौँ सिक्ने र अगाडि बढ्ने गर्नुपर्छ । तसर्थ विगतमा फस्ने होइन उम्कने हो । जो बित्यो-बित्यो त्यो विगतलाई सुत्ने भन्दा अगाडि ढोकाबाहिर, कार्य क्षेत्रमा कम्पाउण्डबाहिर नै छोडिदिने गर्नुपर्छ । वर्तमानको सही सदुपयोग र भविष्यलाई आशा र सुखको कल्पनामा पाल्नु पर्दछ । विगतलाई बिर्सेर अगाडि बढ्नुपर्छ । भन्छन्, एउटा मिठो मुस्कानले दुश्मनलाई सजिलै मार्न सकिन्छ तर विरक्त अनुहार र बोलीले अनावश्यक पीडा देखाए मित्र पनि टाढा भाग्छन रे !
सम्पूर्ण नेपालीका साथै संसार नै सुखद् र शान्तिमय बनोस् !