यो हिन्दु संस्कृति भनेको कर्मकाण्डी हिन्दु र धर्मको रूपमा भनिने हिन्दुत्व होइन । यो झिनो अन्तर नदेखिनाले हिन्दु संस्कृतिलाई हिन्दुत्व र त्यसलाई राजसंस्थासँग जोडिएको छ । यो भ्रमलाई राजसंस्थाविरोधि विचार अर्थात् गणतन्त्रको विचारका अनुयायीहरूले थप उर्जा दिएका छन् । किनभने, राजा यसरी साम्प्रदायिक र एक धर्मको मात्र हो भन्ने पार्न सकिएमा गणतन्त्र अकङ्टक हुन्छ भन्ने सोचले काम गरेको छ ।
- स्वयम्भूनाथ कार्की
गिरिजाप्रसाद कोइराला मुलुकको वर्तमान अवस्थाका प्रवर्तक हुन् । तात्कलिन संविधानअनुसार भङ्ग गरिएको र त्यो भङ्ग गर्ने कामलाई सर्वोच्च अदालतले संविधानसम्मत भनेको थियो । शेरबहादुर देउवालाई हटाएर प्रधानमन्त्री बन्ने इच्छामा संसद् भङ्गको सिफारिसले हिस्स बनाएको थियो । त्यो संसद् भङ्गको पूरा प्रकरण नै शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाको मल्लयुद्ध थियो । त्यसैले जसरी भए पनि संसद् पुनर्स्थापना गिरिजाप्रसाद कोइरालाको हठ थियो । ज्यादा समय भएको छैन, त्यसबेलाका पत्रकारहरूले आफूले नै लेखेका समाचार/विचारका पाना पल्टाएर हेरून्- यो कुराको सत्यता उनीहरूले पुनः बोध गर्नेछन् । किनभने, केही पत्रकारहरू आत्मा लिलाम गरेर भजने बने पनि धेरैमा त आत्मा जीवित नै होला ।
दाजु बीपी कोइरालाको अन्तर्राष्ट्रिय प्रभाव, नेपाली काङ्ग्रेसको इतिहास सबै खर्च गरेर उनले आफ्नो त्यो हठ पूरा गरि छोडे । उनको यो हठ पूरा हुँदा के-के बलि चढ्यो भन्ने कुरा अरुले भन्न पर्दैन, नेपाली काङ्ग्रेसका कर्मठ अनि इमान्दार कार्यकर्ताले नै भन्छन् । २०६३ साल जेठ ४ गतेको त्यो घोषणापत्र पढ्दै गर्दा स्वयम् गिरिजाप्रसादले पूरा गर्न सकेका थिएनन् । किनभने, त्यस घोषणामा नेपाल अब धर्मनिरपेक्ष हुनेछ भनिएको थियो । यो भाग पढ्ने आत्मबल उनमा थिएन, आधा पढेपछि रोष्ट्रम छोडेर अस्पताल जानुपरेको थियो । पछि त्यसलाई सभामुखको रूपमा सुवास नेम्वाङले पढेका थिए । प्रत्यक्ष प्रसारणमार्फत यो दृष्य लाखौँले देखेका छन् ।
वि.सं. १९१० को धार्मिक कट्टरतामा आधारित दण्डसंहिता ‘मुलुकी ऐन’मा वर्णव्यवस्था, जातपात, छुवाछुत आदि नमान्नेलाई दण्डको व्यवस्था थियो । यसरी शासकको काँधमा बन्दुक राखेर शिकार गरे पनि पण्डा, स्वामी, महात्मा आदिको रूपमा प्रत्यक्ष शासनमा हस्तक्षेप थिएन । अर्थात्, पश्चिमा मुलुकमा चर्चको जस्तो बलजफ्ती थिएन । त्यसलाई २०२० साल भदौ १ गते ‘नयाँ मुलुकी ऐन’ले विस्थापित गरेर राजा महेन्द्रले शासनमा धर्मको प्रभाव न्यून गरेका थिए । सार्वजनिक स्थानमा छुवाछुत गरेवापत सजाय हुने व्यबस्था गरेको आधा शताब्दी भन्दा धेरै भएको छ । अझ फेरि नयाँ नेपालले छुवाछुतमुक्त नेपाल घोषणा गरेको पनि दोश्रो दशक भइसकेको छ, तैपनि यो कायम छ । अर्थात् कानुनले मात्र नहुने रहेछ सामाजिक पुनर्निर्माण पनि चाहिने रहेछ ।
प्रतिनिधिसभा घोषणाले नेपाललाई धार्मिक विद्वेषमा धकेलेको छ । नेपाललाई चार जात छत्तिस वर्णको साझा फुलबारी बनाउन खोज्ने राजसंस्थालाई हिन्दुहरूको पेवा बनाइएको छ । हिन्दु आचरण, समाज व्यवस्था सबै शान्तिपूर्ण सहअस्तित्वको आधारमा रहेको छ । यसले अरूप्रति विद्वेष राख्न सिकाउँदैन, चाहे अरुले जे भनुन् । सबै आ-आफ्नो धर्ममा रहनुपर्दछ भन्ने दर्शन बोकेको सनातनमा अरुलाई अपमान गर्नु धर्मकै अपमान हो । त्यसैले धर्मलाई राजनीतिमा हतियार बनाउनु स्वयम् धर्मकै अपमान हो । यस्तो अवस्थामा नेपालमा हिन्दुधर्मको नाममा नै राजनैतिक दलहरू खुल्ने क्रम शुरु भएको छ । राजसंस्थालाई एक धर्मको पेवा बनाउन खोजिएको छ ।
स्वभाविक रूपमा राष्ट्रवादीहरूले राष्ट्रको रूपमा चिन्ने परम्परा, संस्कृति, पारम्परिक विविधता, त्यसमा आवद्ध जनता र एकताको सूत्रमा राजमुकुट नै हो । संस्कृतिक भागको रूपमा सनातन संस्कृति हो । बहुसङ्ख्यक र अहिलेसम्म बहुमान्यता पाएको हिन्दु संस्कृति हो । यो हिन्दु संस्कृति भनेको कर्मकाण्डी हिन्दु र धर्मको रूपमा भनिने हिन्दुत्व होइन । यो झिनो अन्तर नदेखिनाले हिन्दु संस्कृतिलाई हिन्दुत्व र त्यसलाई राजसंस्थासँग जोडिएको छ । यो भ्रमलाई राजसंस्थाविरोधि विचार अर्थात् गणतन्त्रको विचारका अनुयायीहरूले थप उर्जा दिएका छन् । किनभने, राजा यसरी साम्प्रदायिक र एक धर्मको मात्र हो भन्ने पार्न सकिएमा गणतन्त्र अकङ्टक हुन्छ भन्ने सोचले काम गरेको छ ।
यसै षडयन्त्रले रुमलिएर राजावादी भनेर आफूलाई ठान्नेहरू उग्र हिन्दुत्वको नारा उराल्दैछन् । त्यस्तै, व्यवहार पनि गर्दैछन् । तर यो उनीहरूको व्यवहार सनातन धर्मको अनि राजा सबैका साझा देश सबैको भन्ने सनातन मान्यताको अपमान हो । हाम्रोे परम्परा संस्कार सनातनी हो अर्थात् हिन्दु । हाम्रोे संस्कार धर्म सबैले धर्मको नाममा राजनीतिलाई अनीति भन्छ । कसैलाई घृणा हैन वसुधैव कुटुम्वकम् भन्न सिकाएको छ । सनातनले राजा सबैको साझा भन्छ, देश सबैको आधार भन्छ ।
प्रतिक्रिया