- केशवप्रसाद भट्टराई
किन मुलुकबारे आशा गर्ने ठाउँ देखिन्न ?
१. कम्युनिस्टहरूले शुरूदेखि नै नेपाली राष्ट्रियतालाई काङ्ग्रेस, भारत र अमेरिका विरोधी चरित्र प्रदान गरे ।
आन्तरिक रूपमा भारत, पश्चिमी मुलुकहरू र खास गरेर अमेरिकाविरोधी राजनीति गर्नु तर परोक्ष रूपमा सत्ता र शक्ति आर्जनको लागि भारत र अमेरिकाकै शरण पर्ने गर्दा उनीहरूले एउटा जटिल र परस्परविरोधी राजनीतिक द्वन्द्व मुलुकमा उत्पन्न गरे ।
त्यसैले नेपाली राष्ट्रियताले आफ्नो स्वस्थ धरातल निर्माण गर्नै सकेन ।
२. गज्जब विडम्बना छ नेपाली राजनीतिको- आफ्नो राजनीतिक उत्थानको लागि राजसँस्थाबाट लिनुसम्म लाभ लिएपछि कम्युनिस्टहरूले राजसँस्थालाई मुलुकका समस्त अभाव र विकृतिको जड माने ।
त्यसैगरी आफ्नो राजनीतिक स्वार्थको लागि सधैँ बीपी भज्ने नेपाली काङ्ग्रेस नै वैचारिक र नीतिगत रूपमा नेपालमा बीपी कोइरालाको सबैभन्दा ठूलो विरोधी शक्ति बन्न पुगेको छ ।
त्यसैले काङ्ग्रेसले बीपी कोइरालाको नाउँ लिनु र केपी ओलीले राम र अयोध्याको राजनीति गर्नु उस्तै हो ।
३. ७० वर्षको अवधिमा बाह्य शक्तिहरूको सहयोगमा तीन पटक राज्य व्यवस्था परिवर्तन गर्ने र वाह्य शक्तिहरूकै अजेन्डामा राजनीति गर्ने र तिनै अजेन्डाहरूलाई समेटेर संविधान बनाउने मुलुकको स्वतन्त्रता र प्रभुसत्ता जीवन्त रहन सक्दैन ।
किनकि मूलतः मुलुक भनेको एउटा निश्चित भूगोल भित्रका जनताको सँस्था हो ।
नेपालमा संविधान सँस्था बनेन,
सरकार सँस्था बनेन,
संवैधानिक अङ्गहरू सँस्था बनेनन्,
अदालत सँस्था बनेन !
राज्य नै सँस्था बनेन !
७० वर्षमा सात वटा संविधान बनाउने मुलुकले कसरी सँस्था बनाउन सक्नु ?
हिन्दु धर्म,राष्ट्र, समाज र राजा एक हिसावले राष्ट्रको अस्तित्व र परिचयसँग अभिन्नरूपमा जोडिएका, राज्यको जन्म सँगै अस्तित्वमा आएका जन्मजात सँस्था थिए । तर ती सबै भत्काइए ।
तिनमा समयअनुकूल सुधार र परिवर्तन आवश्यक थियो, त्यो गर्न सकिन्थ्यो तर तिनलाई ध्वस्त पारियो ।
जाबो दल चलाउन,
दलको सानो समितिको बैठकलाई नियमितता दिन नसक्ने,
दलको विभाग र समितिहरू गठन गर्न नसक्नेहरूले कसरी राष्ट्रका लागि सँस्थाहरू निर्माण गर्नु ?
४. अहिलेका सबै दलका सबैजसो मूख्य राजनीतिक (?) व्यक्तिहरू गएको तीन-चार दशकदेखि सत्ता र सरकारमा छन् ।
यो अवधिमा यिनले मुलुकलाई दिएको योगदान के हो ?
आखिरमा यी सबै विधि पद्धति, सँस्था-संरचना भत्काएर ध्वस्त पारेर, असन्तुष्टि, अराजकता, हिंसा मच्चाएर सत्तामा आएका हुन् ।
आफ्नो स्वार्थको लागि र सामर्थ्यले भ्याए र सम्भव भए कुनै पनि क्षण यी पुनः त्यही रणनीति अवलम्बन गर्न सक्छन् ।
ध्वंश मात्रै यिनको शक्ति हो ।
ध्वंश यिनको परिचय हो ।
यिनीहरुबाट सिर्जना हुने सक्दैन ।
यिनीहरू निर्माण र सिर्जनाका विरोधी शक्ति हुन् ।
०४७ सालको संविधानलाई काङ्ग्रेस र एमालेले फालेजस्तै अहिलेका राजनीतिक दलहरूले आफ्नो स्वार्थसिद्धिको लागि परिआए जुनसुकै बेला यो संविधानलाई मिल्काइदिन सक्छन् ।
त्यसपछि के हुने थाहा छैन ।
हिजो आफैँले बनाएको संविधानका प्रति, अहिलेकोले भन्दा बढी राष्ट्रिय स्वामित्व रहेको त्यो संविधान फाल्न किञ्चित नमान्नेले यो संविधान ???
५. यिनीहरूसँग नितान्त निजी स्वार्थ बाहेक कुनै पनि मूल्य, मान्यता र विश्वास भन्ने कुरै छैन ।
एउटा धर्महीन राज्य कर्महीन, कर्तव्यच्यूत र पुरुषार्थहीन र परिचयविहीन बन्न पुग्दछ ।
आस्था विहीन राज्य बन्न पुग्दछ ।
त्यस्तो राज्य उठ्दैन ।
उठाउनका लागि हामीसँग न भरोसायोग्य विकल्प छ न कतै आडलाग्ने र आश गर्ने ठाउँ छ ।
हाम्रा सबै यिनले खोसिसके ।
हरण गरिसके ।
हामी हार्नु सम्म हारिसक्यौं ।
अब त हार्ने कुरा पनि बाँकी छैन ।
सबै हारिसकेपछिका जुवामा पत्नीसम्म हारेका पाण्डव जस्तै भएका छौँ हामी ।
वनवास र गुप्तबासका लक्षहीन र भविष्य हराएका अनाथ यात्रु ।
स्वयम् भगवान कृष्ण साथमा,
भीष्म र द्रोण जस्ता तत्कालिन समयका सबैभन्दा पराक्रमी व्यक्तिहरूको शुभेच्छा र सद्भावना,
कुन्ती र गान्धारी जस्ता महा शक्तिशाली नारी शक्तिहरूको आशिर्वाद रहँदारहँदै पनि राज्य, धन सम्पत्ति, इष्ट मित्र, शुभेच्छुक सवै त्यागेर बन बन भट्कदै हिँड्नु परेको अवस्थाका पाण्डव जस्तै बनेका छौँ हामी ।
ल पछि पाण्डव हस्तिनापुर फर्किए रे ।
तर आखिर त्यत्रो युद्धपछि, सबै सन्तान, नातागोता, कुटुम्ब, इष्टमित्र, शुभेच्छुक गुमाएर हस्तिनापुर पाएका त हुन् नी पाण्डवले १!
६. आखिर यो व्यवस्थामा दुई तिहाई निकट संसदीय स्थान र त्यो भन्दा पनि बढी वर्चस्व प्रदेश र स्थानीय तहमा कम्युनिस्टहरू पुग्दा पनि किन यो राजनीतिक अस्थिरता र अन्यौल ?
किन यिनीहरूलाई हटाउन र टिकाउन पनि विदेशीहरू नै उभिनुपर्ने ?
किनकि कम्युनिस्टहरू स्थिरताका श्रोत होइनन् ।
संसारभरी कतै होइनन् ।
अस्थिरताको जड नै उनीहरू हुन् ।
वैचारिक अन्यौल नै उनीहरूको राजनीतिक परिचय हो ।
जनताको बहुदलीय जनवादमा तीन दशक भन्दा लामो आभ्यास गरिसकेको पार्टी त एकाएक चुनावी स्वार्थकोलागि आफ्ना सबै विचार, मान्यता, विश्वास, अभ्यास र परम्परा परित्याग गर्न सक्छ भने अझै हिंसाको राजनीतिको धंगधंगी नमेटिएको पार्टीले कसरी स्वस्थ्य बहुदलीय राजनीतिमा विश्वास गरिरहेको होला ?
७. यो सबैको लेखाजोखा यो मुलुक र यहाँको राजनीति र यहाँको नागरिक र वौद्धिक समाजले गर्न सक्दैन, गर्न सकिरहेको छैन ।
किनकि यहाँ त्यस्तो समाज नै छैन ।
विदेशीले लगानी नगर्ने अवस्थामा यहाँको कुनै वौद्धिक (?)ले कलम चलाउन सक्दैन ।
विदेशीले धाप नमारे सम्म कुनै नागरिक समाज उठ्न सक्दैन यहाँ !
यहाँका वौद्धिकहरूको कलम विदेशीको लागि मात्रै हो ।
त्यताबाट आउने लाभका लागि मात्रै हो,
मुलुकका लागि होइन ।
उसको कलम राष्ट्रिय प्राथमिकताको विषयमा चल्दैन ।
चल्न जान्दैन ।
अरूको प्राथमिकतामा मात्र चल्दछ ।
८. तर बाह्य शक्ति राष्ट्रहरू भनेका त्यस्तै हुन् ।
सय पाँच सय वा हजार वर्षअघि पनि ती यस्तै थिए
र आज पनि त्यस्तै छन् ।
देखिने र पढिने नियम, कानुन राम्रो बनाएका छन् तर गर्ने नियमकानुन त्यस्तै हो ।
उनीहरूले आफू अनुकूल क्षेत्रीय र विश्व व्यवस्था निर्माण गर्ने हुन् ।
आफ्नो मुलुकको राष्ट्रिय हित, लक्ष्य,
आफ्ना जनताका आस्था, विश्वास, मूल्य र मान्यताहरूका रक्षाका लागि अन्य मुलुकहरूको सम्वन्धमा उनीहरू ढाँट्छन्, छल्छन्, षड्यन्त्र गर्दछन्विश्वासघात पनि गर्दछन्,
आफ्नै मुलुकको कानुन पनि उल्लङ्घन गरेर बाह्य मुलुकमा आफ्नो हित र स्वार्थ अघि बढाउँछन्, व्यवस्था परिवर्तन गरिदिन्छन्, सत्ता पल्टाइदिन्छन् ।
विद्रोह मच्चाइदिन्छन्, प्रतिविद्रोह पनि गराइदिन्छन् ।
मुलुक विभाजित गरिदिन्छन् ।
यो हिजो पनि गर्थे, आज पनि गरिरहेका छन् र भोली पनि गर्छन् ।
त्यस्तो गर्ने संरचना पनि हुन्छ उनीहरूसँग ।
९. मेरो मुलुक कुनै शक्ति राष्ट्र हुन्थ्यो र म मेरो मुलुकको मूख्य जिम्मेवारीमा हुन्थेँ भने म पनि गर्थें
तपार्ईं पनि गर्नुहुन्थ्यो होला ।
यो कसैले कसैलाई सरापेर रोकिने कुरा होइन,
त्यस्ता कुरा विरूद्ध सवल राष्ट्रिय क्षमता निर्माण गर्ने हो,
राष्ट्रिय संरचना निर्माण गर्ने हो ।
अर्काकोलागि आफ्ना मुलुकका संरचना र क्षमता निर्माण गर्न भन्दा तिनलाई भत्काउन र ध्वंश गर्न गौरव मान्नेले त्यसो गर्न सम्भव हुने कुरै भएन ।
त्यसैले त्यहाँ आशा गर्ने ठाउँ नै रहेन ।
१०. विदेशीको आड र बलमा मात्रै हालसम्मका सबै राजनीतिक परिवर्तन र व्यवस्था परिवर्तन पढेको, देखेको र भोगेको मैले अर्को परिवर्तन आउने हो भने फेरि पनि विदेशीकै भरमा आउने हो ।
त्यसैले म आशावादी छैन म निराशावादी बनेको छु ।
तर तपाईंले आशाको किरण देख्नु भएको छ भने मेरो शुभकामना !
प्रतिक्रिया