‘प्रेसलगायत सबै क्षेत्रमा तालिवानद्वारा दुर्व्यवहारका घटनामा वृद्धि’

‘प्रेसलगायत सबै क्षेत्रमा तालिवानद्वारा दुर्व्यवहारका घटनामा वृद्धि’



‘विमानस्थलमा विदेशीहरूको अपहरण हल्ला मात्र’ : तालिवान

तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ ।

तालिवानले प्रेससहित सबै तहमा दुर्व्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सञ्चारकर्मीसँगको कुराकानीमा उल्लेख गरेका छन् । यस सम्बन्धमा गरिएको प्रश्नमा प्राइसले ‘हामी उनीहरूसँग हाम्रा मध्यस्थकर्तामार्फत् सबै स्तरमा छलफल अघि बढाउँदैछौँ’ भन्ने जवाफ दिएका एएनआईलेजनाएको छ ।

यसअघि, रक्षामन्त्री लोइड अस्टिनले अमेरिकी सञ्चारप्रतिनिधिहरूसँगको कुराकानीमा अमेरिकाको तालिवानसँग अझै पनि धेरै असमझदारीहरू रहेको बताएका थिए ।

राष्ट्रपति जो बाइडेनको तालिवानले अमेरिकी नागरिकलाई विमानस्थलमा कुनै बाधा सिर्जना नगरेको भन्ने भनाइप्रति लक्षित गर्दै रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले तालिवानले अमेरिकी नागरिकलाई दुर्व्यवहार गरिएको भन्ने खबरहरू आफूले सुनेको बताउँदै अमेरिकी सेना उक्त रिपोर्टलाई गम्भीर ढङ्गले लिने जनाएका छन् ।

‘विदेशीहरूको अपहरण हल्ला मात्र’

यसैक्रममा काबुल विमानस्थलनजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन् ।

काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणकाबारे आएका सूचना फगत हल्ला मात्र भएको ती अधिकारीले बताए ।

‘अपहरणबारे रिपोर्ट एउटा हल्ला हो । तालिबान सदस्यहरूले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेका छन् । हामी विमानस्थलमा पुग्न सबै विदेशीहरूलाई सुरक्षित मार्ग प्रदान गर्न कटिबद्ध छौँ,’ तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकको भनाइ भन्दै सिन्ह्वाले सम्प्रेषण गरेको छ ।

तालिवानले गत आइतबार अफगानको राजधानी कब्जा गरेलगत्तै हजारौँ अफगानीहरु देश छोड्न काबुल विमानस्थलमा पुगेका छन् । हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा करिब पाँच हजार अमेरिकी सेना खटाइएको छ ।

एक हप्ताको अन्तरालमा विमानस्थलमा भागदौड मच्चिँदा र गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । तालिबानले मुलुकका अधिकांश भूभाग एक महिनाको अन्तरालमा कब्जा गरेपछि अफगानिस्तानको अवस्था अन्यौलग्रस्त बनेको छ ।