आफ्नै नेतालाई गाली गरेर नेता बन्नेहरूले मुलुकका लागि के रचनात्मक काम गर्लान् ? नेतृत्वमा पुगे पनि यस प्रकारको पृष्ठभूमिबाट नेता भएकाहरूबाट के आशा गर्ने ? अहिले एमालेमा यस्तो देखिए पनि यो प्रवृत्ति कम्युनिष्टसम्बद्ध दलमा मात्रै छ भनेर बुझ्नु गलत हुनेछ ।
- बबिता बस्नेत

नेकपा एमालेको राजनीतिमा लामो समयदेखि आफूलाई मध्यमार्गी भनेर चिनाउँदै आएका केही नेताले परिस्थिति वारपार भइसक्दा पनि मध्यमार्गकै गीत गाइरहनुलाई उनीहरू ‘कम्फोर्ट जोन’बाट बाहिर निस्किन चाहँदैनन् भन्न सकिन्छ । ‘केपी ओली त अधिनायकवादी भयो कामरेड, पार्टीलाई खत्तम नै पाऱ्यो नि, अब तपाईंले नै केही न केही गर्नुपर्छ, हाम्रा मान्छेलाई खै मुख्यमन्त्री बनाएको ? खै मन्त्री बनाएको ?’ भन्दै लामो समय कानेखुशी यात्रा गराएपछि निर्णायक मोडमा साथ छोड्ने ती सांसद र पूर्वमन्त्रीहरू हिजो मात्र नभइ आज पनि ‘कम्फोर्ट जोन’मै रहन खोजेको देखिन्छ ।
हिजो मध्यमार्गी भने पनि खासमा मझधारमार्गी हुनुहुन्थ्यो भन्न मिल्ने ठाउँ उहाँहरूको ब्यवहारले देखाएको छ । मझधारको अर्थ दुई धारबीचको भाग मात्र नभइ अन्योलको अवस्था पनि हुन्छ । मझधारमा कसैलाई छोड्नुको अर्थ धोखा दिनु हो । मझधार शब्द हिन्दी र नेपाली साहित्यमा निकै प्रयोग हुने गर्छ । ‘मध्यमार्ग’बीचको मार्ग हो जसको अर्थ न यता न उता र यता पनि उता पनि दुवै हुन्छ । दुई वटा डुङ्गामा खुट्टा राख्ने मान्छे कहिल्यै पनि गन्तब्यमा पुग्दैन भन्ने हाम्रो पुरानो भनाइ छ । मध्यमार्गी हुनुको अर्थ आफ्नो कुनै विचार नै नहुनुसरह हो । विचारबाट निर्देशित मानिसले मेरो विचार र सिद्धान्त यो हो भनेर अडान लिन्छन् । एउटा किनारामा उभिन्छन्, विशेषगरी राजनीतिमा भएका मानिसले, किनभने राजनीति भनेको सिद्धान्त र विचार हो ।
तर हामीकहाँ सिद्धान्त र विचारका आधारमा नभइ ब्यक्ति केन्द्रित राजनीति हाबी भएकाले कुन ब्यक्तिपट्टिको लाग्ने भन्ने कुरा महत्वपूर्ण बन्न पुग्यो । हाम्रो जस्तो नेताकेन्द्रित राजनीतिमा मध्यमार्ग ‘कम्फोर्ट जोन’को चाहना हो, बार्गेनिङका लागि सहज स्थान हो । राम्रो भए एकातिर लाग्ने नराम्रो भए अर्कोतिर लाग्ने । के गर्दा आफूलाई फाइदा हुन्छ त्यो हेर्ने ! मध्यमार्गमा हिँड्नेहरूको मनोविज्ञान कुनै पनि अवस्था र परिस्थितिमा आफू सूरक्षित भइरहने हुन्छ । किनभने जोखिम त यता र उता कित्ताकाट भएकाहरूले मोलिहाल्छन् । समुद्रमा छालको धक्का त किनारामा हुनेले नै खेप्ने हुन् । माछा या सामुद्रिक जीव उछिट्टिएर बालुवामा पुग्ने पनि किनारातिर लाग्दा नै हो । त्यसैले अङ्ग्रेजीको ‘मिडल पाथ’ र नेपालीको मध्यमार्गको अर्थ मुलतः ‘कम्फोर्ट जोन’ नै हो ।
करिव २६ सय वर्षअघि भगवान् गौतम बुद्धले ‘अति’बाट बच्न मध्यमार्गको प्रयोग आफैमा गर्नुभएको थियो । अहिले नेकपा एमालेसम्बद्ध केही नेताहरूले अवसरका लागि मध्यमार्गको प्रयोग आफ्ना शीर्ष नेताहरूमाथि गरिरहेका छन् ।
त्यसोभए बुद्धको मध्यमार्गलाई के भन्ने ?- प्रश्न उठ्न सक्छ । बुद्धको मध्यमार्ग अतिवादबाट मुक्ति थियो । भगवान गौतम बुद्धले जीवनमा अनेकौँ प्रयोगहरू गर्नुभयो । खाना नखाइ बस्नु भयो, मुखमा अन्न नहाली महिनौँ बस्दा शरीरमा हाड छाला मात्रै रह्यो । जब जीवन बाँच्नका लागि खाना आवश्यक रहेछ भन्ने लाग्यो ‘अति’ भन्न मिल्ने अभ्यासहरू छोडिदिनुभयो । त्यतिबेला साधुले नाङ्गै हिँड्दा हुन्छ भन्ने मान्यता थियो जसको प्रयोग उहाँले कहिल्यै गर्नुभएन । अतिबाट बच्ने कुरालाई उहाँले मध्यमार्ग नाम दिनुभयो । करिव २६ सय वर्षअघि भगवान् गौतम बुद्धले ‘अति’बाट बच्न मध्यमार्गको प्रयोग आफैमा गर्नुभएको थियो । अहिले नेकपा एमालेसम्बद्ध केही नेताहरूले अवसरका लागि मध्यमार्गको प्रयोग आफ्ना शीर्ष नेताहरूमाथि गरिरहेका छन् । बुद्धको मध्यमार्ग धर्म-मार्ग हो । हाम्रा नेताहरूको मध्यमार्ग जता पल्ला भारी हुन्छ त्यतै लाग्ने अवसर मार्ग हो । नरमाइलो पक्ष के हो भने हामीले आश गरेका दोश्रो पुस्ताका केही नेताहरू यो मार्गमा हिँडिरहेका छन् ।
‘कम्फोर्ट जोन’ यस्तो स्थान हो जसले मानिसलाई जोखिम मोल्न नचाहने बनाइदिन्छ । या यसरी भनौँ, जोखिम मोल्न नचाहने मानिसहरूले कम्फोर्ट जोन रोज्छन् । जब कहिले यता कहिले उता गर्दै राजनीतिक जीवन चलिरहेको छ भने किन जोखिम मोल्ने ? केन्द्रीय समितिमा स्थान सुरक्षित छ, सांसद हुन् पाइएको छ, बेला-बेलामा घुर्क्याउँदै मन्त्री भइएको छ, दुई जना नेताबीच खेल्दा नै चलिरहेको छ भने आफ्नो छुट्टै विचार किन बनाउने ? आफू कुनपट्टि हो भनेर कित्ताकाट किन गर्ने ? सैद्धान्तिक रूपले हेर्दा कन्फोर्ट जोनमा बस्दा मानिसले सूरक्षित महसूस गर्छ भन्ने छ । ‘पोजेटिभ साइकोलोजी डट कम’मा यस्तो सुरक्षित स्थान छोड्दाका फाइदाहरू पढ्न पाइन्छ । ‘लिभिङ द कम्फोर्ट जोन’ शीर्षकको लेखमा उल्लेख भएअनुसार, कम्फोर्ट जोनबाट बाहिरिँदा सुरुमा डर लाग्छ । अहो… के हुने हो… मैले गर्न सक्ने हुँ कि होइन जस्तो लाग्छ । बिस्तारै डर हराउँदै गएपछि सिकाइ सुरु हुन्छ । त्यसपछि नयाँ लक्ष्य तय गरेर प्रगतितर्फ अघि बढ्न सकिन्छ । फियरदेखि लर्निङ हुँदै ग्रोथसम्म पुगेपछि मानिसले कसले के भन्ला के गर्ला भनेर यता र उता गर्नै पर्दैन । आफू स्पष्ट भएपछि मात्रै आफ्नो रोडम्याप बनाउछ सकिन्छ ।
राजनीति ब्यक्तिमा केन्द्रित भइदिँदा जसले सिनियर नेतालाई बढी प्रहार गर्न सक्यो उही चर्चित युवा नेता बन्ने गरेका छन् । युटुबर र यस्तो प्रवृत्तिका नेता दुवैको अवस्था उस्तै छ, दुवै एकार्काको पूरक झैँ भएर आवश्यकता पूरा गरिरहेका छन् । नेतालाई गाली गर्ने ठाउँ चाहिएको छ, युटुबरलाई गाली गर्ने मान्छे चाहिएको छ ।
‘कम्फोर्ट जोन’ वालाले त सुरक्षित स्थान खोज्ने नै भए । एमालेमा नेता केपी ओली पक्ष र माधव नेपाल पक्ष भनी कित्ताकाट भएका युवा नेताहरूमा पनि कसले कसलाई बढी गाली गरेर नेताको चाकरी गर्ने भन्ने होड चलेको छ । यसप्रकारको गाली गलौजमा कतिले आफ्नो विगत बिर्सिएका छन्, कतिले चाहिँ आफ्नो पदीय हैसियत नै भुलेका छन् । सिद्धान्त र विचारको राजनीति मुलुकमा चलेको हुन्थ्यो भने जबजदेखि फरक परिस्थितिमा नयाँ विचारका चर्चा हुने थिए होला । तर राजनीति ब्यक्तिमा केन्द्रित भइदिँदा जसले सिनियर नेतालाई बढी प्रहार गर्न सक्यो उही चर्चित युवा नेता बन्ने गरेका छन् । युटुबर र यस्तो प्रवृत्तिका नेता दुवैको अवस्था उस्तै छ, दुवै एकार्काको पूरक झैँ भएर आवश्यकता पूरा गरिरहेका छन् । नेतालाई गाली गर्ने ठाउँ चाहिएको छ, युटुबरलाई गाली गर्ने मान्छे चाहिएको छ ।
कतिपय मूल प्रवाहका भनिएका मिडियामा पनि यही प्रवृत्ति देखिन्छ । ओलीलाई गाली गरे नेपालको नजिक भइने, नेपाललाई गाली गरे ओलीसँग नजिक भइने ! आफ्नै नेतालाई गाली गरेर नेता बन्नेहरूले मुलुकका लागि के रचनात्मक काम गर्लान् ? नेतृत्वमा पुगे पनि यस प्रकारको पृष्ठभूमिबाट नेता भएकाहरूबाट के आशा गर्ने ? अहिले एमालेमा यस्तो देखिए पनि यो प्रवृत्ति कम्युनिष्टसम्बद्ध दलमा मात्रै छ भनेर बुझ्नु गलत हुनेछ । सबै दलमा गुटगत राजनीति छ र विचारभन्दा मान्छेको पछि लाग्ने चलन छ । कम्युनिष्ट पद्धतिसँग विश्वास र भरोसा नभए पनि यस्ता मानिसहरू ठाउँमा पुगे भने त केही गर्लान् भन्ने अपेक्षा गरिएका नेताहरूलाई अनुरोध- यदि यो देशलाई केही राम्रो गर्ने नै हो भने मध्यमार्गबाट मुक्त भएर गन्तब्य निर्धारण गर्नुस्, मुलुकलाई थप बन्धक नबनाउनुस् ।
अन्त्यमा, यो लेख लेख्दालेख्दै मध्यमार्गी मानिएका नेताहरू ‘कम्फोर्ट जोन’बाट कित्ताकाट गर्दै अवसरतर्फ लाग्नुभएको समाचारहरू आएका छन् । आफूले लामो समय अवसरका लागि उपयोग गरेका नेताको दल भर्खरै दर्ताको प्रक्रियामा छ, भोलि कस्तो हुने हो, अस्तित्वमा रहने हो कि नरहने हो के थाहा ? त्यसैले उखुको छोक्रा झैँ बनाइएका नेताको पछि लाग्नुभन्दा भीडभाडमै ‘कम्फोर्ट जोन’ खोज्नु र रोज्नु स्वभाविक हो । निर्णायक मोडमा एउटालाई धोखा दिनेले अर्कोलाई दिँदैनन् भन्न सक्ने आधार हुँदैन । मुख्यमन्त्री र मन्त्री पदमा अड्किएको स्वाभिमानवाला नेता यो देशलाई कति आवश्यक हो- जनताले बुझ्नु आवश्यक छ ।
प्रतिक्रिया