सूचना-प्रविधिमा तीव्र विकास, पत्रकारिताले पाएन निकास !

सूचना-प्रविधिमा तीव्र विकास, पत्रकारिताले पाएन निकास !


पत्रकारलाई कुनैबेला निकै सम्मान गरिन्थ्यो भने अहिले करिव-करिव घृणाकै दृष्टिले हेर्ने गरिन्छ । अहिले सामाजिक संजाल, अनलाइन चलाउने पत्रकार भनेपछि हेर्ने दृष्टिकोण नै फरक हुने गरेको छ । विश्वास गर्नलायकको बन्न सकिरहेको छैन अहिलेको पत्रकारिता ।
  • श्याम क्षेत्री

आजको २१औँ शताब्दीमा प्रविधिको विकास तीव्र रूपमा भइरहेको छ । सूचना प्रविधिमा आएको तीव्र विकासले पत्रकारिता क्षेत्रमा पनि आमूल परिवर्तन ल्याएको छ । आवाजविहीनहरूको आवाज भनेर भन्ने गरिएको पत्रकारिता समाजको ऐनाको रूपमा चिनिन्छ । यसले सुरुवातको चरणदेखि नै समाजको पथप्रदर्शक रूपमा काम गर्दै आइरहेको छ । पत्रकारितामा समेत प्रविधिको प्रयोग देखिन्छ । प्रविधिको तीव्र विकास भइरहेको पछिल्लो समयमा छापा पनि प्रविधियुक्त भएका छन् । पत्रकारिताको विकास र प्रविधि प्रयोग हेर्न सरकारी सञ्चार गोरखापत्र हेरे थाहा हुन्छ । गोरखापत्रको त्यो बेलाको प्रकाशन र अहिलेको प्रकाशनमा आकाश-जमिनको फरक पाउन सकिन्छ । कुनै बेला शब्दमा मात्र सीमित पत्रकारिता हाल आएर तस्बिर हुँदै भिडियो समेत प्रयोग हुने गरेको छ । पत्रकारिता समाजको ऐना हो । यसले आमजनतालाई सूचना प्रदान गर्नुका साथै राज्यका विशिष्ट पदमा बसेर सरकार चलाउनेहरूलाई समेत खबरदारी गर्ने काम गर्दछ । यसै कारणले पनि पत्रकारितालाई राज्यको चौथो अङ्गको रूपमा हेर्ने गरिन्छ ।

विश्व पत्रकारिताको इतिहासलाई हेर्ने हो भने निकै पछि मात्र नेपालको पत्रकरिता विकास भएको पाइन्छ । नेपालको पत्रकारिताको इतिहास हेर्दा यसको सुरुवात हातेप्रेसबाट भएको पाइन्छ । वि.सं. १८०८ मा जङ्गबहादुर राणाले बेलायतबाट फर्कंदा हातेप्रेस ल्याएका थिए, जसलाई गिद्दे प्रेस भनेर पनि भनिन्छ । वि.सं. १९९१ देखि सुरु भएको पत्रकारिता इतिहासदेखि अहिलेसम्म हेर्दा पत्रकारिताको लागि सहज वातावरण नभएको पाइन्छ । २००७ सालमा प्रजातन्त्र आएपश्चात् भर्खर टुसा उम्रेजस्तै उम्रिएको पत्रकारिता राजाकै सन्देश वाहकको रूपमा प्रयोग गरेको देखिन्छ । विस्तारै १९३७ मा हुलाक सेवा सुरु भयो । त्यसपछि २०२४ सालमा टेलिफोन सुरु भयो । संचारका यिनै माध्यमहरूले विस्तारै पत्रकारितामा प्रविधि भित्रियो । पञ्चायतकालमा संचारमाथि अंकुश लगाउने काम भएका थिए । कति सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएका थिए । २०२८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधनको क्रममा नेपालमा कम्प्युटर प्रविधिको प्रयोग भएपश्चात नेपालले सूचना प्रविधिको क्षेत्रमा प्रवेश गरेको भए पनि यसको प्रयोग पत्रकारिता क्षेत्रमा पछिल्लो समय मात्रै भएको हो ।

२०६२/६३ को जनाअन्दोलनपश्चात् लोकतन्त्रसँगै नेपाली पत्रकारिताले समेत स्वतन्त्रता प्राप्त गऱ्यो । नागरिक स्वतन्त्रतासँगै स्वतन्त्र पत्रकारिताले नेपाली पत्रकारिता फस्टाउन थाल्यो । हाल विश्वभर संचारमाध्यमहरू अनलाइन भइसकेको अवस्थामा नेपाल पनि प्रविधिको प्रयोग गर्दै द्रूत गतिमा अगाडि बढिसकेको छ । नेपालमा सन् १९९५ मा साउथ एसिया डट कममार्फत मर्कान्टाइलले द काठमाडौं पोष्टलाई आफ्नो साइट्मा राखेपछि नेपालको अनलाइन पत्रकारिताको सुरुवात भएको पाइन्छ । हालको अवस्था हेर्ने हो भने अनलाइन पत्रकारिताले विकसित प्रविधिको उच्चतम प्रयोग गरेको देख्न सकिन्छ । २००७ सालयता टुसा जस्तै उम्रिएका पत्रकारिता २०६२÷६३ यता च्याउसरह उम्रिन थाले । पत्रपत्रिका, टेलिभिजन, रेडियो एफएमहरू सञ्चालन हुने क्रम तीव्र रूपमा बढ्न थाल्यो । युट्युबहरू च्याउसरि अहिले पनि उमिँ्रदै गएका छन् । युट्युबमार्फत पत्रकारिता गर्नेको लर्को लाग्ने गरेको छ । प्रविधिको विकाससँगै हाल नेपाली पत्रकारिताले निकै ठूलो फड्को मारेको देखिन्छ । अर्को शब्दमा भन्ने हो भने सञ्चार र प्रविधिको विकास सँगसँगै नेपालको पत्रकारिताको पनि विकास हुँदै आएको पाइन्छ ।

नेपालमा प्रविधिको पहुँच नहुँदा पनि पत्रकारिता गर्न थालिएको थियो । १९४२ मा गोरखा भारत जीवन नामको पत्रिका वनारसबाट प्रकाशन गरेको पाइन्छ । प्रविधिको पहुँच नहुँदा पनि सुरुवात भएको पत्रकारिता अहिले प्रविधियुक्त हुँदा यसको विकास तीव्र गतिमा भैरहेको छ । विगतमा छापा पत्रकारिता चलनमा थियो भने अहिले प्रविधिको सहज पहुँचले अनलाइन पत्रकारिता द्रूत गतिमा अगाडि बढेको छ । कुनै पनि कुनाको समाचार थाहा पाउन अब भोलि बिहानको प्रतीक्षा गर्नुपर्ने अवस्था छैन । घटना भएको केही समयभित्रै समाचार हातहातमा पुग्ने भइसकेको छ । साना–ठूला घटनाको समाचार सम्प्रेषण गर्न पत्रकारिता पेशा अँगालेको व्यक्ति नै घटनास्थलमा पुग्नुपर्छ भन्ने छैन  । सामाजिक संजालको बढ्दो प्रयोगले गर्दा नेपाली समाजमा अनलाइन पत्रकारिता विकसित हुँदै गएको छ ।

पछिल्लो समय अनलाइन पत्रकारिता गर्नेको लर्को चलिरहेको छ । अहिले पनि हेर्ने हो भने सूचना विभागमा दिनहुँजसो अनलाइन दर्ता हुने गरेको तथ्याङ्क देखिन्छ । विगतमा छापा पत्रपत्रिका चलाउनेहरू पनि अहिले प्रविधियुक्त भएर अनलाइनमा रुपान्तरित भइसकेका छन् । नेपालको पत्रकारिता जति प्रविधियुक्त भएको छ, त्यसको सहि सदुपयोग गर्न नजानेर गुणस्तर खस्किँदै गएको छ । सम्मानजनक रूपमा लिएको यो पेशा प्रविधिले पेशाभन्दा बढी व्यवसाय बनाइदिएको छ । प्रविधिको सहज पहुँचसँगै फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक संजालले गर्दा कुनैबेला घण्टौँ लगाएर छपाउनुपर्ने र पाठकसमक्ष लगेर पुऱ्याउनुपर्ने झन्झट अहिले प्रविधिका कारण समाप्त हुँदै गएको छ म विश्वमा घटेका घटनाको जानकारी तुरुन्तै आफ्नो हातमा रहेको मोबाइलमा हेर्न सकिने बनेको छ । यसैलाई पत्रकारितामा विकसित प्रविधिको रूपमा हेर्न सकिन्छ ।

पछिल्लो समय पत्रकारितामा भित्रिएको प्रविधिले यसमा सहजता र समस्या दुवै निम्तिएको छ । पत्रकारलाई कुनैबेला निकै सम्मान गरिन्थ्यो भने अहिले करिव-करिव घृणाकै दृष्टिले हेर्ने गरिन्छ । अहिले सामाजिक संजाल, अनलाइन चलाउने पत्रकार भनेपछि हेर्ने दृष्टिकोण नै फरक हुने गरेको छ । विश्वास गर्नलायकको बन्न सकिरहेको छैन अहिलेको पत्रकारिता । पत्रकारिता जतिसुकै प्रविधियुक्त किन नहोस्, यसभित्र राष्ट्रियता, जनपक्षीयता र देश विकासको भावना हुन जरुरी छ ।

पत्रकारितामा प्रविधिको उच्चतम प्रयोग गर्दै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको पक्षमा जनतामा जागरण ल्याउने हुनुपर्दछ । पत्रकारितामा प्रविधिको गलत प्रयोग समेत हुने गरेको पाइन्छ । संचारमाध्यमले प्रविधिको सहि सदुपयोग गर्न नजानेर गलत कार्य समेत गरेको निकै घटना छन् । प्रविधिको उच्च प्रयोग र सावधानी अपनाउन जरुरी छ । समाजमा हिंसा, आतङ्क र अपराधजस्ता गतिविधिलाई प्रश्रय हुने, आत्महत्या दुरुत्साहन गर्न खोज्ने, अश्लील, सार्वजनिक, स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकुल हुने वा त्रास उत्पन्न गर्ने कुनै किसिमको सामाग्री उत्पादन, प्रकाशन र प्रशारण गर्नु हुँदैन । पत्रकारितामा जति प्रविधिको उपयोग गरिन्छ त्यति नै आचारसंहिताको समेत प्रयोग गर्नु जरुरी छ ।

प्रेस स्वतन्त्रताको नाममा गलत तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नु हुँदैन । पत्रकारितामा विकसित प्रविधिलाई सत्यतामा आधारित रहेर सत्यतथ्य रूपमा समाचार सम्प्रेषण गर्नुपर्दछ । पत्रकारितामा विकसित हुँदै गएको प्रविधिको प्रयोग कोरोना भाइरसको महामारी फैलिएयता झन् बढी महत्त्व भएको छ । लकडाउनमा सबैभन्दा सजिलो बनेको अनलाइन सञ्चारमाध्यम हो । यद्यपि यसका थुप्रै सकारात्मक पक्षसँगै नकारात्मक पक्ष पनि उत्तिकै देखिएको छ  । समाचार भाइरल बनाउने होडबाजीमा गलत समाचार सम्प्रेषण गर्ने गरेको पाइन्छ । यसले गर्दा कतिपय मिडियाहरू कारवाहीमा समेत पर्ने गरेका छन् । प्रविधिको व्यापकतासँगै यसमा विकृतिलाई भने समस्याको रूपमा हेर्न सकिन्छ ।

विकसित प्रविधिको सहि प्रयोग गर्दै पत्रकारितामा प्रवाह गर्ने सूचना सत्यतथ्यमा आधारित रही देश विकासका निम्ति हरेक क्षेत्रमा रहेको समस्याको समाधान सुत्र समेत दिन सक्ने हैसियतको हुनुपर्दछ । पत्रकारितामा प्रविधिको उपयोग कसरी गर्ने, गम्भीर रूपमा विचार गरिनुपर्दछ । विकसित प्रविधिले गर्दा भइरहेको अत्याधुनिक सूचना प्रणालीको विकासलाई अत्याधुनिक बनाउँदै सहज र सामाजिक तथा देश विकासका निम्ति सकारात्मक रूपमा सदुपयोग गर्नुपर्दछ ।

  • हाल : जापान