टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक



अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२१ मा आयोजन हुने टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले हालै डिजिटल शोमार्फत टी–२० विश्वकप क्रिकेट खेल तालिकाको सार्वजनिक गरेको हो ।

टी–२० विश्वकप क्रिकेटको आगामी १७ अक्टुबरदेखि १४ नोभेम्बरसम्म संयुक्त राज्य इमिरेट (युएई) र ओमानमा आयोजना हुनेछ । टी–२० विश्वकप क्रिकेटको फाइनल खेल १४ नोभेम्वरमा हुनेछ । त्यस्तै १५ नोभेम्वरलाई फाइनलको खेलको लागि रिजर्भ डे को रूपमा राखिएको छ ।

टी–२० विश्वकपमा समुह १ र समुह २ को गरी जम्मा आठ वटा टीमले पहिले नै सुपर १२ मा आफ्नो स्थान पक्का गरिसकेका छन् । अब सुपर १२ मा आफ्नो स्थान बनाउन पहिलो राउण्डमा आठ टीमको छनोट प्रतियोगिता हुनेछ । यी आठ टीमलाई समुह ‘ए’ र समुह ‘बी’मा विभाजित गरिएको छ ।

छनोट प्रतियोगिताको पहिलो खेल समुह ‘बी’ अन्तर्गत रहेका आयोजक ओमान र पपुवा न्यूगिनबीच १७ अक्टुबरमा पहिलो खेल हुने छ । त्यस्तै सोही दिन यही समुहको दोश्रो खेल स्कटल्याण्ड र बंगलादेशबीच हुनेछ ।

त्यस्तै, १८ अक्टुबरमा आबुधाबीमा पनि दुई छनोट खेल सञ्चालन हुनेछन् । जसमा पहिलो खेल आयरल्याण्डविरुद्ध नेदरल्याण्ड र दोश्रो खेल श्रीलंका र नामीवियाबीच हुनेछ । यी दुवै समुहमा पहिलो स्थान हासिल गर्ने टीम दोश्रो राउण्डमा प्रवेश गर्नेछन् ।

समुुह १ मा वेष्टइण्डिज, इङ्गल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिका रहेका छन् । पहिलो राउण्डको समाप्तीपछि यो समुहमा समुह ए को विजेता र समुह बी को उपविजेता यो समुहमा सामेल हुनेछन् । त्यस्तै समुह २ मा भारत, पाकिस्तान, न्यूजील्याण्ड र अफगानिस्तान रहेका छन् । पहिलो राउण्डको समाप्तिपछि यो समुहमा समुह बी को विजेता र समुह एको उपविजेता यो समुहमा सामेल हुनेछन् ।

सुपर १२ मा पुगेका टीमका बीच २३ अक्टुबरदेखि दोश्रो चरणको प्रतिस्पर्धा हुनेछ । यो समुहको पहिलो खेल अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ । सोही दिन दोश्रो खेल इङ्गल्याण्ड र वेस्टइण्डिजबीच हुनेछ । त्यस्तै २४ अक्टुबरमा भारत र पाकिस्तानबीच पहिलो खेल हुनेछ । त्यस्तै पहिलो सेमिफाइनल १० नोभेम्वर र दोश्रो सेमिफाइनल ११ नोभोम्वरमा हुनेछ ।

आईसीसीले टी–२० विश्वकप क्रिकेटको आयोजनाको जिम्मेवारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई दिएको छ । प्रतियागिता दुबईको अन्तर्राष्ट्रिय स्टेडियम, अबुधाबीको शेख जायेद स्टेडियम र ओमान क्रिकेट एकेडेमीको मैदानमा हुनेछ ।