टी-२० क्रिकेटमा फ्रेडरिकले तोडिन् अञ्जलीको ऐतिहासिक कीर्तिमान

टी-२० क्रिकेटमा फ्रेडरिकले तोडिन् अञ्जलीको ऐतिहासिक कीर्तिमान



नेदरल्याण्डकी महिला क्रिकेटर फ्रेडरिक ओवरडिक टी-२० क्रिकेटमा ऐतिहासिक कीर्तिमान कायम गरेकी छन् । आइसीसीद्वारा आयोजित युरोपियन टी-२० विश्वकप छनोट चरणको फ्रान्सविरुद्धको खेलमा फ्रेडरिकले यस्तो ऐतिहासिक कीर्तिमान बनाएकी हुन् ।

२१ वर्षीया फ्रेडरिकले फ्रान्सविरुद्धको टी-२० क्रिकेटमा ७ विकेटले लिएर ऐतिहासिक कीर्तिमान बनाएकी हुन् । फ्रेडरिकले चार ओभरमा मात्र ३ रन दिएकी थिइन् । यो टी-२० क्रिकेटमा अहिलेसम्मको ब्यक्तिगत कीर्तिमान हो । फ्रेडरिकको यही कीर्तिमानी प्रदर्शनका बाबजुद नेदरल्याण्डले फ्रान्सलाई ९ विकेटले पराजित गरेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको फ्रान्सले १७.३ ओभरमा अल आउट हुँदै मात्र ३३ रन बनाएको थियो । फ्रान्सलाई ३३ रनमा समेटन फ्रेडरिक एक्लैले फ्रान्सको ७ विकेट लिनुको साथै मात्र ३ रन मात्र दिएर महत्वपूर्ण भूमिका निभाएकी थिइन् ।

३४ रनको विजय लक्ष्य पाएको नेदरल्याण्डले उक्त लक्ष्य मात्र ३.३ ओभर अर्थात् २१ बलमा एक विकेट गुमाएर प्राप्त गरेको थियो । फ्रेडरिकको ऐतिहासिक प्रदर्शनका कारण उनलाई ‘प्लेयर अफ दि म्याच’ चुनिएको थियो ।

यस भन्दाअघि नेपालकी अञ्जली चन्दले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा टी-२० क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएकी थिइन् । अञ्जलीले २.१ ओभरमा कुनै रन नदिइ ६ विकेट लिएकि थिइन् । अञ्जलीसँगै विश्वका अन्य ६ खेलाडीले एउटै म्याचमा ६ विकेट लिन सफल भए पनि सून्य रन दिएका कारण अञ्जली कीर्तिमानी खेलाडी बनेकी थिइन् ।

अहिले नेपालकी अञ्जलीको उक्त ऐतिहासिक कीर्तिमान नेदरल्याण्डकी खेलाडी फ्रेडरिकले तोडेकी छिन् । उनले एउटै खेलमा ७ विकेट लिएर अञ्जलीको कीर्तिमान भङ्ग गरेकी हुन् ।