- रमेश भट्टराई ‘सहृदयी’
लौ है आओ प्रयोगशालामा
पर्चा, पम्पलेट, झण्डा बोकेर
तर,
चन्द्र-सूर्य ध्वजा च्यातिदेऊ
समर्थन र समर्थक जन्मिहाल्छन्
विरोधी र शत्रु सन्किहाल्छन्
हो हजुर हो,
यो प्रयोगशाला हो !
झण्डाको तानातानमा तिमी कच्चापदार्थ
को सच्चापदार्थ को लुच्चापदार्थ
गान्धारीझैँ सडकमा हेर
प्रदर्शन, समर्थन– शक्ति रे भक्तिको दन्त हेर
भजन, गन्थन, गुणगानका कच्चापदार्थ
अभाव, प्रभाव र दबाबमा बदल्ने स्वभाव हेर !
ओए कच्चा पदार्थ तेरो काम, नाम र माम
तँ “जनता“; तँ “ढाल“ अनि तँ “मतदाता“
तँ लाठीचार्जवाला, तँ लाठीमा झण्डा उन्नेवाला
तँ स्टेज बना, झण्डा छाप् – गुजारा गर्नु छ !
पापी पेट भर्नु छ
तर,
तँ रातारात “मान्छे“ बाट “कार्यकर्ता“
दुईवटा स्वार्थको गोलघरमा
जुठे, मुस्ले, ओख्लेलाई मासुभात दे,
सबै कच्चापदार्थको दृष्टिकोणमा पट्टि बाँधि दे
स्यालको हुइय्याँ– कच्चापदार्थको गुणस्तर !!
यो प्रयोगशाला हो !
यहाँ सिद्धान्त मीठो ः “बुद्धिजीवी“ को
यहाँ सपना झन् मीठो ः “सुद्धीजीवी“ को
पुस्तक नपुग्दै गरोस् वर्षौँसम्म विद्यालयमा
तर, पर्चा पु¥याउनुपर्छ एक रातमा चुनावमा
किनकि यो प्रयोगशालामा शक्ति “सोझो“
सबाल्टर्नको अचारमा कच्चा पदार्थ दर्बिलो हुन्छ ।
सडक र सदन दुवैको लक्ष्य सदन
तँ अर्पिराख् “तन, मन र धन“
तर, खोलाको गीत हुनेछ– तेरो क्रन्दन !
किनकि,
तेरो लक्ष्य “सदन“ मिलेन !!
तै पनि,
“माने बधाई छ तँलाई !“
अब त तँ मरिस् भने पार्टीको “क. मानबहादुर “ हुन्छस् !
तर, तेरो कच्चापदार्थको मूल्य हुन्जेल
तँ ढाल अनि तेरो मालिकले आवश्यक ठानुन्जेल
चाकडी, गुलामी र भजनमा दम हुन्जेल
तब एकदिन “त्यागी, होनहार व्यक्ति क. मानबहादुर “ मर्ने छस् !
बिघ्नै भने तँलाई “राजनीतिक सहिद“ भन्लान् !
लड् तँ गान्धारी बनेर तर सोच् है !!
धृतराष्ट्रसँग भिष्मपितामह, द्रोण अझै विदुर छैनन् र !
तर, चिरहरणमा मौन बस्छ किन !?
अभाव, दबाब र प्रभावको लीला हेर !
यो कुरुक्षेत्रको प्रयोगशालामा अर्थ दुर्योधनकै हो !
अर्थ सच्चापदार्थको विनाशको हो !
हो, माने तँ कच्चापदार्थ होस् !
प्रयोगशाला त ढोल पिटिरहन्छ,
मेसिन तँलाई थिचिरहन्छ
माइकबाट माक्स लाएर मार्क्सको नारा बिकिरहन्छ !
समाजवाद, साम्यवाद, बामपन्थी धार रे
जबज अनि जनअभितको सार रे
अनि, माने तँ कुर्लेर हिँडिराख् कच्चापदार्थ बन्
तर,
शक्ति, सम्मान र सम्पत्तिकै कित्तामा चल्छन् सत्ताका पत्ता
सत्ता त भत्ता र कित्ता मिलाएर पनि टिकिरहन्छ
किनकि,
यो प्रयोगशाला हो !!
प्रतिक्रिया