अहिले एकल परिवारको धारणा ब्याप्त छ । बच्चाले आमाबुवाबाहेक घरका अरु सदस्यहरूको सामिप्यता पाएको हुँदैन, जसले गर्दा उ फरक-फरक व्यक्तिसँग आफ्नो क्रियाकलाप देखाउन पाउँदैन । त्यसमाथि सधैंजसो झैझगडा भइरहने घरमा बच्चाले आफ्नो दिमागी हालत तन्दुरुस्त राख्न सक्दैन ।
- रसना ढकाल
‘मेरो शरीरको दुई टुक्रा बुवा र आमालाई, मामु… मलार्ई बाबाले छोडिगइस्यो भने मेरो शरीरलाई दुई टुक्रा गरिस्यो है !’ बच्चाले रुँदै भनेको यस्तो वाक्य सुन्दा आमा अचम्ममा पर्छिन् । ‘बाबु के बोलेको तिमीले, यस्तो पनि बोल्ने हो ? कसले सिकायो तिमिलाई यस्ता शब्द ?’ आमा जिज्ञासा प्रकट गर्छिन् तर बालक रोइरहन्छ । घरी आमाले काखमा लिन्छिन् त घरी बाबुको अँगालोमा पुग्छ बाबु ।
बुवा-आमाबीचको किचलोको तनाव बच्चाको दिमागमा सेट भइसकेको बच्चाको उक्त बोलीले प्रष्ट्याउँछ । बच्चाले यति बोल्दा पनि त्यो जोडी बच्चाको लागि हामी मिलेर बसौँ है भन्ने धारणासम्म पनि बनाउन सक्दैन । उल्टै ’एकपटक मन भाँच्चिएपछि फेरि जोडिन गाह्रो हुन्छ’ भन्ने शब्द–भाव उक्त जोडीको बीचमा तरङ्गित भइरहन्छ । आश्चर्यजनक छ कि एक ८ वर्षीय बालकले कसरी त्यस्तो मार्मिक शब्द ओकल्यो ?! कि उसलाई कसैले सिकायो भन्ने तर्क पनि आउन सक्छ, तर यो सिकाएको नभइ बच्चाले आफै प्रयोग गरेको शब्द हो । यस्तो कुनै एक ठाउँमा नभइ विभिन्न स्थानमा देखियो, देखिन्छ ।
दृश्य नम्बर एक
‘बाबा.. बाबा, आज हामी घुम्न जाने है, अनि हामी सबै सँगै बस्ने है ।’ एक बालक आफ्ना बुवा-आमालाई रुँदै फकाइरहेका थिए । फेरि एकछिनपछि ‘नाइँ बाबा ! मलाई छोडेर नजानु.. मलाई हजुर र मामु चाहिन्छ । म हजुरबिना बस्न सक्दिनँ मेरो बाबा’ भन्दै कहालिन थाग्छन् । त्यत्तिकैमा उनको साथमा रहेकी आमाले ‘बाबु यदि तँलाई बाबासँग बस्न मन छ भने जा, म रोक्दिनँ, बाबासँगै बस्’ भन्छिन् । र, ११ वर्षीय छोरालाई पटक-पटक हप्काउँछिन् । ‘सडकमा रोएर बेइज्जत नदेखा, जा आफ्नो बाउसँग..’ आमाले छोराको हात झट्कारेर छोरालाई बाउ देखाइदिइन् । भावुक हुँदै बाबु भन्छन्- ‘छोरा.. तिमीबिना त म पनि बाँच्न सक्दिनँ, जाउँ हिँड मसँगै, तिम्रो आमाले दिने व्यवहार त मैले दिन नसकँुला तर तिमी मेरो सन्तान हौ… ! यो समाजले बुवाले आफ्नो सन्तानलाई जति मायाप्रेम गरे पनि आमाको मायालाई नै उच्च देखाउँछ, बाबु जहिले पनि पर्दापछाडि हुन्छ तर पनि मलाई यो कुराको भय छैन । मैले तिमीमाथि गर्ने पूरा कर्तव्य निभाउने छु’- बाबु भन्छन् । बच्चा आमा पनि छोड्न सक्दैन बुवा पनि छोड्न सक्दैन, र भन्छ- ‘बरु मेरो शरीर दुई टुक्रा गरिस्यो !’
बाबुआमाको झगडाको चेपुवामा ती ८ वर्षीय छोरा पर्छन् । उ धेरै रुन्छ । छोराको चाहना बाबुआमा दुवै सँगै बस्नुपर्छ भन्ने थियो तर अवस्था त्यसअनुरूप मिलिरहेको थिएन । यो घटनामा बुवाआमाको सम्बन्धमा पैदा भएको चिसोपनको कारण बच्चाले तातो व्यवहार खेपिरहेका थिए ।
दृश्य नम्बर दुई
‘कति बेला बिहान हुन्छ ? अँ .. साच्चै बाबा कस्तो भैस्यो होला है ?’ यस्ता शब्दका साथ उनी बर्बराइरहन्छन् । आफ्ना बाबुको यादमा रातभरि छटपटिन्छन् । आमा मस्तले सुतेकी छिन् । बच्चाको आँखा पटक-पटक घडीको सुइतिर जान्छ किनकि भोलिपल्ट बिहान जिल्ला अदालत जानु छ । त्यहाँ बाबा आउँदैछन । बाबासँग भेट हुने कल्पनामा रमाइरहेका हुन्छन् ।
भोलिपल्ट..
‘मामु मामु, उ अदालत आइपुग्यो ! हाम्रो बाबा पनि आइस्यो होला है । आज बाबासँग भेट हुन्छ । बाबा र म भएर के-के खान्छौँ ।’ झर्कंदै उनकी आमा भन्छिन्, ‘चुप ! गाडीमा धेरै नबोल्, तेरो बाउसँग भेट गर्न म दिन्न ।’ बालकले ‘नाइँ मामु, म बाबासँग भेट गर्छु । होइनभने मलाइ मारिस्यो, मेरो शरिर टुक्रा पारिस्यो…’ भन्दै सार्वजनिक बसभित्रै रुन लागे । बच्चाले बोलेको शब्दप्रति सबै यात्रुको ध्यान केन्द्रित हुन्छ । त्यत्तिकैमा जिल्ला अदालतको छेउमा गाडी रोकियो र उनीहरू उत्रिए । सिधै जिल्ला अदालतको गेटछेउ उनले बाबालाई देखे र दौडिँदै बुवाको अँगालोमा बाँधिन पुगे । ती बालक आफ्नो बाबासँग भेट हुँन पाउँदा रमाइरहेका थिए ।
माथि प्रस्तुत घटनामध्ये नम्बर एकको दृश्य राष्ट्रिय महिला आयोगको प्राङ्गणमा र अर्को काठमाडौ जिल्ला अदालतमा देखिएको हो । बडो मार्मिक थिए ती दृश्य, जहाँ सानो बालकले आफ्ना आमाबुवासँग माया-स्नेहको भिख मागिरहेका थिए । बच्चाप्रति बाबाको अगाध स्नेह प्रदर्शित भए तापनि आमाले बच्चालाई च्यापिरहेकी थिइन् । बच्चालाई आमा-बाबु दुवै चाहिन्छ । आमाको छत्रछाया बच्चामा धेरै पर्ने भएकोले आमा भनेपछि हुरुक्क हुन्छन् बच्चाहरू ।
कानुनी व्यवस्था
हामीकहाँ घटनापिच्छेका कानुनी व्यवस्था छ । एक समयको कानुनले बच्चा बालिग नहुँदासम्म आमाले रेखदेख गर्ने र बालिग भैसकेपछि बच्चाको निर्णयले बुवा या आमामध्ये एक रोज्न पाउने व्यवस्था थियो । तर २०७५ भाद्र १ गतेदेखि आएको मुलुकी देवानी संहिता २०७४ को भाग ३ को दफा ११५ ले भने…
– पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभए पनि निजले चाहेमा आमाको जिम्मा,
– पाँच वर्षभन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेकोमा बाहेक निजले चाहेमा निजको जिम्मा,
– माथि उल्लेखित बुँदाबाहेकको अन्य अवस्थामा बाबुको जिम्मा,
कानुनी व्यवस्था यसरी गरिएको छ ।
कानुनी व्यवस्थाहरू प्नि समय-सन्दर्भअनुसार परिमार्जित भइरहेको छ ।
बालबालिका कसरी नकारात्मक हुन्छन् ?
बालबालिका काँचो माटो हुन् । काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्छ । ठिक त्यसैगरी, घरको वातावरण र परिवारको रेखदेखले बालबालिकाको दिमागी आकार निर्धारण हुन्छ । हुन त यस्ता घटना आधुनिक समाजको लागि कुनै नौलो विषय पक्कै होइन । हुर्किसकेका र कुरा गर्न सक्ने व्यक्तिहरूबीच जति चर्काचर्की भए पनि उनीहरू साम्य वा शान्त हुन सक्छन् तर बच्चाहरूमा त्यस्तो देखिँदैन । यही कारणले गर्दा बच्चाहरूलाई गलत छाप पर्छ । बच्चाले व्यक्त गर्न नसके पनि उसका क्रियाकलापले नराम्रो छाप परेको देखाइहाल्छ । बच्चाहरूको अघिल्तिर नराम्रो कार्य गर्न र गराउन हुन्न, तर आधुनिक परिवारमा यस्तो बहुत कम नै देख्न पाइन्छ । किनकि, अहिले एकल परिवारको धारणा ब्याप्त छ । बच्चाले आमाबुवाबाहेक घरका अरु सदस्यहरूको सामिप्यता पाएको हुँदैन, जसले गर्दा उ फरक-फरक व्यक्तिसँग आफ्नो क्रियाकलाप देखाउन पाउँदैन । त्यसमाथि सधैंजसो झैझगडा भइरहने घरमा बच्चाले आफ्नो दिमागी हालत तन्दुरुस्त राख्न सक्दैन । आमाबुवाको झगडाको बीचमा बच्चाको हुर्काइ र उनको मनोविज्ञानमा पर्न सक्ने असरको कारण बच्चाको भविष्य कस्तो हुन्छ होला भन्नेतर्फ सोचाइ सबैको पुग्छ । यसले गर्दा बच्चामा रिसाउने, झर्कने जस्ता कृयाकलापहरू देखापर्छन् । यसको साथै कुलतमा फस्न सक्ने सम्भावना पनि त्यति नै प्रबल हुन्छ ।
घरेलु हिंसा घरकै सदस्यबाट गरिने हिंसा हो । हिंसा भइहाल्यो भने पनि निकास पाउने ठाउँहरू छन् । हुर्कैंदै गरेको एक बिरुवालाई यदि समयमा मलजल नगर्ने हो भने त्यो बिरुवा हुर्कन नपाउँदै नष्ट भएर जान्छ । यस्तै नै हो बालमानसिकता पनि ! विभिन्न घटनाक्रमका कारण प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको पृष्ठभूमि हेर्ने हो भने घरको वातावरण नै पहिला आउँछ । घर पहिलो मन्दिर र विद्यालय हो । त्यहाँबाट धेरै ज्ञानगुन र असल शिक्षाको प्राप्ति हुन्छ । घरमा पाएको शिक्षालाई बच्चाले बाहिर प्रदर्शन गर्छ । पारिवारिक पृष्ठभूमि सही छ भने अपवादबाहेक बच्चाको भविष्य राम्रो नै हुन्छ ।
कानुनी र व्यवहारिक पक्ष
कानुन आफ्नो स्थानमा सर्वोच्च छ । प्रथा, धर्म, रीतिरिवाजको स्रोतबाट कानुनको जन्म भएको छ । कानुन मान्दिनँ कसैले पनि भन्न सक्दैन । गाइबस्तुलाई दाम्लोले बाँधेजस्तो मान्छेलाई कानुनले बाँध्ने हो । अन्य घटनामा कानूनी आधार लिएर पाउने निकास र पति-पत्नीबीचको झगडामा नाबालक बच्चाको हकमा पाउने निकासमा धेरै फरक हुन्छ, किनभने यस्ता घटनामा कानुनी कुराभन्दा पनि व्यवहारिक पक्षले जितेको हुन्छ । बच्चालाई आमा र बुवा दुवै चाहिएको छ । त्यस क्षणमा बच्चाको दिमागले केही निर्णय गर्न सक्दैन । बच्चा आमा या बुवामध्ये एकको अनुपस्थितिमा रहन सक्दैन । अदालतले पति-पत्नीबीचको सम्बन्धबिच्छेदमा जस्तो फैसला सुनाए तापनि बच्चाको दिमागी फैसलाले आमाबुवा नै खोज्छ । हामीसँग त्यस्ता जोडीका प्रमाण पनि छन् जो सम्बन्धबिच्छेदपश्चात बच्चाको लागि भए पनि सँगै बस्दै आइरहेका छन् ।
प्रतिक्रिया