टोकियो पारालम्पिकमा निर्णायकको भूमिकामा अर्याल

टोकियो पारालम्पिकमा निर्णायकको भूमिकामा अर्याल



ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, विश्व ब्याडमिन्टन महासंघका सर्टिफाइड लाइनजज एवम् राष्ट्रिय रेफ्री उदयकुमार अर्याललाई ब्याडमिन्टनमा पुर्‍याएको योगदानको कदर गर्दै खेतान स्पोर्टस् फाउण्डेशनले कदरपत्रसहित बिदाइ गरेको छ ।

निर्णायक अर्याललाई एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको तर्फबाट दिइएको कदरपत्र प्रदान गरेका थिए ।

सो अवसरमा अर्याललाई फाउण्डेशनका प्रमुख विकास खेतान, अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीलगायतले जापानमा आयोजना भएको पारालम्पिक प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागिता जनाउन लागेकोमा सफलताको शुभकामनासहित खादा लगाएर विदाई गरेका थिए ।

अर्यालले पारालम्पिकमा ब्याडमिन्टनको लाइनजजको भूमिका निर्वाह गर्नेछन् । उनले यसअघि पोल्याण्डको क्याटोबिचमा २०१९ मा आयोजना भएको विश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप र हङकङमा अप्रिल २०१९ मा आयोजना भएको ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

ओलम्पिकमा लाइनजजको भूमिका निर्वाह गर्ने अर्याल दोश्रो निर्णायक हुन् । यसअघि रियो ओलम्पिकमा ब्याडमिन्टन एशियाका अम्पायर दीपक थापाले लाइनजजको भूमिका निर्वाह गरिसकेका छन् । सायद ओलम्पिक जस्तो ठूलो प्रतियोगितामा नेपालबाट निर्णायकको भूमिका निर्वाह गर्ने थापा र अर्याल मात्र हुन् ।