रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन असोजमा

रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन असोजमा



रिभाइभ लिजरपार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाइभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ आयोजना हुने भएको छ । कोभिडबाट प्रभावित खेललाई यस प्रतियोगिताले केही रिफ्रेस बनाउने छ ।

असोज १ देखि ५ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरी ४ विधामा खुल्ला प्रतियस्पर्धा गराइने छ ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागीय टिम, विभिन्न संघ-संस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराइने छ । च्याम्पियनसीपमा ३०० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसीपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । नगद पुरस्कारका विषयमा जतिसक्दो वृद्धि गरिने भएका कारण अहिले नै पुरस्कारको राशि नतोकिएको आयोजकले जनाएको छ ।

सोही क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

आयोजकको लगनखेलस्थित आफ्नै कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपका दौरान कोभिड १९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालाना गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल र अत्यावश्यक ब्यक्तिहरुलाई मात्र हलमा प्रवेशको ब्यवस्था गरिने छ ।

‘हाम्रो उद्देश्य भनेको केवल नाफा कमाउनु मात्र नभइ नेपालीहरुलाई शारीरिक, मानसिक रुपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना तथा बालबालिकाहरुलाई उच्च स्तरको प्रशिक्षणको ब्यवस्था गरि नेपाललाई अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीहरु उत्पादन गर्नु र निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पुऱ्याउने उद्देश्य रहेको हो’- अध्यक्ष शुक्र पाख्रिनले बताए ।

करिव १८ करोड लगानी रहेको रिभाईभ लिजर पार्क हेल्थ क्लबको कम्पाउण्ड भित्र ब्याडमिन्टन हल, जोडो, कराते, उसु हल, स्विमिङ्गपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लरलगायत बि.एण्ड बि. रुम, सेमिनार, पार्टीहरूसहित रेस्टुरेण्ट समेत रहेको छ ।