सिलवालको गर्धनमाथि महालेखाको तरवार

सिलवालको गर्धनमाथि महालेखाको तरवार


१३औँ सागमा ब्यापक आर्थिक अनियमितताको खुलासा

१३औँ सागमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन दर्जन भन्दा बढी उजुरी परेका थिए । अख्तियारमा परेका उजुरीको बारेमा त्यतिबेला शक्तिको आडमा कुनै सुनुवाइ भएन र अहिलेसम्म पनि भएको छैन । यतिबेला महालेखाले नै १३औँ सागमा ठूलो आर्थिक अनियमिता भएको आशङ्का गरेपछि यसको छानविन हुने प्रायः निश्चित देखिन्छ । यसरी बिल नै पछ्र्यौट नगरी १३औँ सागको खर्च विवरण सार्वजनिक गरेका परिषद्का सदस्यसचिव सिलवाल अब कसरी प्रस्तुत हुन्छन्, त्यो अहिले चासोको विषय बनेको छ ।
  • श्रीविक्रम भण्डारी

नेपालमा दुई वर्षअघि आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा ब्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचार भएको ठहर गरिएको छ । महालेखाले जारी गरेको ५८औँ प्रतिवेदनमा १३औँ सागका क्रममा खेल सामग्री खरिद, वितरण, पोशाक खरिद र राष्ट्रिय टीम तयारीका साथै अन्य थुप्रै विधामा व्यापक आर्थिक अनियमिता भएको उल्लेख गरेको छ । साथै, समयमै कार्यविधि पारित गरी बजेट भुक्तानी गर्दा समेत १ अर्ब ४ करोड रुपैयाँ बराबरको खेलकुद सामग्री र अन्य सामग्री खरिद गरिनु उपयुक्त नदेखिएको कुरा जारी प्रतिवेदनमा उल्लेख छ । स्मरण छ, सागको कार्यविधि र आयोजना खर्च भुक्तानी ०७६ भदौ २६ मा भएको थियो । नियमअनुसार सार्वजनिक खरिद ऐन र कार्यविधिबाट खेलकुद सामग्री खरिद गर्नुपर्नेमा राखेपले ‘फास्ट ट्रयाक’बाट सम्पूर्ण खेलकुद सामग्रीको खरिद गरेको थियो ।

साग खेलकुद आयोजना तथा ब्यवस्थासम्बन्धी कार्यविधि ०७६ मन्त्रिपरिषद्बाट भदौ २६ गते स्वीकृत भएको थियो । उक्त कार्यविधि राष्ट्रिय खेलकुद् परिषद्ले असोज ९ गते प्राप्त गरेको थियो । मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३औँ सागको लागि सार्वजनिक खरिद ऐनअनुसार कार्य गर्न असम्भव हुने भन्दै राखेपले सरकारलाई जानकारी गराएको थियो । त्यसपछि मन्त्रिपरिषद्ले राखेपलाई सोझै खेल सामाग्री खरिद गर्न अनुमति दिएको थियो । भदौ २६ स्वीकृत भएको कार्यविधि राखेपलाई असोज ९ गते प्राप्त भए पनि सार्वजनिक ऐनअनुसार ३५ दिनको समय दिएर खेलकुद सामग्री खरिद गर्न सक्थ्यो । तर राखेपले खेलकुद सामग्री खरिद सम्बन्धमा समयमै प्रक्रिया शुरु नगर्दा विशेष परिस्थितिको सृजना भयो । पछि मन्त्रिपरिषद्ले कार्तिक १७ गते विशेष परिस्थिति भन्दै सोझै खरिद गर्न अनुमति दिएको थियो । यसैको फाइदा उठाउँदै राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले एकद्वार प्रणाली लागु गरी आफूखुशी कार्यदल गठन गरेर आफ्ना मान्छेलाई ‘फास्ट ट्रयाक’बाट खेलकुद सामग्री खरिद गर्ने जिम्मेवारी दिएका थिए । यही कुरालाई मध्यनजर राख्दै महालेखाले खेल शुरु हुनुभन्दा केही दिनअगाडि मात्रै खेलकुद सामग्रीको खरिद गरिनु उपयुक्त नदेखिएको भनी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘फास्ट ट्रयाक’बाट खेलकुद सामग्री खरिद गरिँदा आर्थिक अपारदर्शिता हुने बारेमा जिज्ञासा राख्दा तत्कालिन समयमा सदस्यसचिव सिलवालले भनेका थिए- ‘हामीसँग मात्र अढाइ महिनाको मात्र समय छ । सार्वजनिक खरिद ऐनले ३५ दिनको समयसिमा टेण्डर प्रक्रियावाट सामान खरिद गर भन्छ, त्यो नियमसंगत प्रक्रिया हो । तर अहिलेको अवस्थामा त्यस्तो सम्भव देखिँदैन । हामी खरिद ऐनको सम्मान गर्दै ‘फास्ट ट्राक’ को व्यवस्था मिलाएर कार्यविधिबाट खरिद प्रक्रियालाई अगाडि बढाउँछौँ ।’ तर सदस्यसचिवले कार्यविधिलाई समेत आत्मसात नगरी हचुवाको भरमा ‘फास्ट ट्रयाक’ र एकद्वार प्रणालीबाट कार्य गरे । जसको प्रत्यक्ष र अप्रत्यक्ष फाइदा सिलवाल र उनकै नजिकका व्यक्तिहरूले लिन सफल भए । त्यतिबेला सञ्चारकर्मीले कार्यविधिको चर्चा गर्दा सिलवालले आश्चर्य प्रकट गर्दै कार्यविधि कसलाई चाहिने हो, तपाईहरूलाई कि मलाई भनेर उल्टै प्रतिप्रश्न गरेका थिए । कार्यविधिअनुसार नजाँदा पनि काम रोकिएको छैन, काम भैरहेको छ, जसरी पनि काम हुनुपर्ने हो त्यो भइरहेको छ भनेर टारेका थिए ।

सागमा खरिद गरिएका खेलकुद सामग्रीको खरिदमा सामान्यभन्दा निकै बढी मूल्य निर्धारण गरी लागत अनुमान गरिएको र केही सामग्रीको नमुना प्रशिक्षण गर्दा समान्य बजार मूल्यभन्दा ६ दोब्बर बढी लागत अनुमान गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यसमा कबड्डी म्याट, इलेक्ट्रोनिक वोर्ड र बक्सिङ ग्लोब्स प्रमुख रहेका छन् । राखेपले २६ खेलका लागि २४ करोड ९६ लाख मूल्य बराबरको लागत अनुमान स्वीकृत गराएको थियो । त्यस्तै खेल सामग्रीको ब्राण्ड, उत्पादन भएको देश, आयत भएको देश र कम्पनीको कुनै खुलासा नगरी आपूर्तिकर्ताले बिल पेश गरेको र सोहीअनुरुप राखेपले जिन्सी दाखिला गर्नुले महालेखाले ती खेल सामग्रीको गुणस्तरमाथि प्रश्न उठाएको छ । अर्को कुरा माग र आवश्यकताअनुसार खेल सामग्रीको खरिद नभएको महालेखाले खुलासा गरेको छ । प्रतिसेट १२ हजारका दरले खरिद गरिएका १६ सय ७ सेट स्पोर्टस किट्स अहिलेसम्म राखेपको भण्डारमा रहनु त्यसको प्रमाण हो । त्यस्तै, राखेप पदाधिकारी, कर्मचारी र आयोजक समितिका पदाधिकारीलाई वितरण गरिएको दौरा सुरुवाल, सारी ब्लाउज र मनोग्राम कार्यविधिविपरीत भएको प्रतिवेदनमा उल्लेख छ । खेलाडी, प्रशिक्षक र ब्यवस्थापन गरी ७ सय १५ जनाले यस्तो सुविधा पाउनुपर्नेमा थप ३ सय ९३ जनालाई यस्तो सुविधा उपलब्ध गराइएको छ । साथै भौतिक पूर्वाधारको निर्माण र पुननिर्माणमा पनि ठूलो आर्थिक अनियमिता भएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षक कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा ठूलो आर्थिक अनियमिता भएको प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । महालेखाले प्रतिवेदन सार्वजनिक गर्नुअघि नै १३औँ सागमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन दर्जन भन्दा बढी उजुरी परेका थिए । अख्तियारमा परेका उजुरीको बारेमा त्यतिबेला शक्तिको आडमा कुनै सुनुवाइ भएन र अहिलेसम्म पनि भएको छैन । यतिबेला महालेखाले नै १३औँ सागमा ठूलो आर्थिक अनियमिता भएको आशङ्का गरेपछि यसको छानविन हुने प्रायः निश्चित देखिन्छ । यसरी बिल नै पछ्र्यौट नगरी १३औँ सागको खर्च विवरण सार्वजनिक गरेका परिषद्का सदस्यसचिव सिलवाल अब कसरी प्रस्तुत हुन्छन्, त्यो अहिले चासोको विषय बनेको छ । एमाले पार्टी कार्यकर्ता भन्दा पनि गुटका कार्यकर्ताका रूपमा परिचित सिलवालले १३औँ सागका क्रममा आफ्नै गुटका कार्यकर्तालाई विशेष रूपमा पोसेर थिए । त्यस्तै नातावाद, कृपावाद, चाकरी र चाप्लुसी गर्नेलाई विशेष प्राथमिकतामा राख्दै १३औँ सागको बजेटको दोहन गर्न कुनै कसर बाँकी राखेका थिएनन् । जुन कुरा सामग्री खरिददेखि सागको उद्घाटन र समापन समारोहमा प्रस्ट रूपमा देख्न सकिन्थ्यो ।

‘म परिषदमा जागिर खान र गाडी चढन आएको होइन, मसँग यो भन्दा राम्रो तलब सुविधा र गाडी छ । म खेलकुदमा कमाउनको लागि नभइ अबको जिन्दगी सम्मानजनक रूपमा जिउनको लागि खेलकुदमा आएको हुँ, म यहाँ धेरै बोल्नुभन्दा पनि एक्सनबाट जवाफ दिने छु’- यो कथन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालको हो । उनले यो अभिव्यक्ति परिषदको सदस्यसचिव पद सम्हालेलगत्तै दिएका थिए । अब प्रश्न उठ्छ के सिलवाल यसमा खरो उत्रिए त ? मात्र एउटा कुरोमा चाहिँ सिलवाल खरो नै उत्रिए, त्यो हो- ५० वटा स्वर्ण । उनले १३औँ सागमा नेपालले ५० वटा स्वर्ण जित्ने घोषणा गरेका थिए, त्यो यतिबेला सत्य सावित भएको छ । बाँकी कुरामा सिलवाल सधैँ निरर्थक सावित भए । आर्थिक मामिला, सेवा सुविधा, गुटबन्दी, नातावाद, विदेश भ्रमण र भाषणमा उनी अब्वल सावित हुँदै कीर्तिमान नै बनाए । कम बोलेर एक्सनमा जवाफ दिने उनको प्रतिबद्धता सधैं उल्टो सावित भो । सिलवाल धेरै बोले, उनको एक्सन कहिँकतै देखिएन । सबैभन्दा महत्वपूर्ण कुरा ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७’ जुन ऐनबाट उनी दोश्रो पटक परिषद्को सदस्यसचिव बने पनि त्यसलाई खेलकुदमा पूर्ण रूपमा कार्यान्वयन गर्न सकेनन् । उदारहणको लागि राष्ट्रिय खेलकुद संघलाई लिन सकिन्छ, ति संघको विवाद र समस्या अहिलेसम्म समाधान हुन सकेको छैन अर्थात ज्यूँका त्यूँ छ ।

आर्थिक कुरामा आफूलाई ‘सत्यवान’जत्तिकै ठान्ने सिलवालले १३औँ सागमा कीर्तिमान नै बनाए । आफुले मात्र नभइ आफ्ना गुट र निकटका व्यक्तिलाई परिचालन गरेर १३औँ सागको बजेट ‘वाइरोड’को धुलो जसरी उडाए । सागका प्रत्येक समितिहरूमा पूर्ण रूपमा हस्तक्षेप गर्दै निभाएको भूमिका र लिएको फाइदा अहिले पनि खेलकुदमा चर्चाको विषय बनेको छ । यी बाहेक सागमा भएको भ्रष्टाचारलाई चोख्याउन कोभिड-कालमा पनि रातभरि रङ्गशाला बसेर उनले गरेको कसरत आफैमा प्रशंसनीय छ । यही कसरतका बावजुद सिलवालले ११ महिनापछि मात्रै १३औँ सागको खर्च विवरण सार्वजनिक गरेका थिए । त्यसभन्दा अघि उनले तीन महिनाभित्रै अर्थात् फागुनमा सागको खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेका थिए । यतिबेला महालेखाको प्रतिवेदनपश्चात सिलवालको गर्धनमा आर्थिक अनियमितताको तरवार तेर्सिएको छ । अब उनले यसबाट छुटकारा पाउन के कस्तो उपायको अवलम्बन गर्छन् त्यो अहिले चासोको विषय बनेको छ ।