‘विनाशकारी’ आँधीका कारण लुइजियानामा लाखौँ मानिस विद्युत सेवाबाट वञ्चित

‘विनाशकारी’ आँधीका कारण लुइजियानामा लाखौँ मानिस विद्युत सेवाबाट वञ्चित


अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधीका कारण तटीय क्षेत्र डुबानमा परेको छ । डुबानपछि कम्तीमा सात लाख मानिसहरू विद्युत सेवाबाट वञ्चित बनेका स्थानीय प्रशासनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

मौसमविद्हरूले आइडा नामक उक्त आँधी लुइजियानमा अवतरण गर्दा ‘क्याटगोरी फोर’ को हुने पूर्वानुमान गरेका भए पनि सोमबार अलिकति कमजोर अर्थात् क्याटगोरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन् ।

तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुन सक्ने चेतावनी दिइएको छ । दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन् ।

न्यूअर्लियन्सनजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको भए पनि बिरामीहरूलाई चोट नलागेको बताइएको छ । लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन् ।

कट्रिना आँधीले सन् २००५ मा एक हजार ८०० जनाको ज्यान लिएपछि त्यहाँ विपद्सँग जुझ्ने क्षमतालाई मजबुत बनाइएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडनले आइडाले ‘जीवन जोखिममा पार्ने’ भन्दै यसको क्षति तटीय क्षेत्रभन्दा भित्रसम्म हुने उल्लेख गर्दै आवश्यकतानुसार केन्द्र सरकारले सहयोग र उद्धारमा सघाउने बताउनुसभएको छ ।

आइडाले न्यूअर्लियन्सको दक्षिणमा रहेको पोर्ट फोर्सन् नजिकको जमिनमा क्याटगोरी फोरको आँधीका रूपमा अवतरण गरेको थियो जसको अर्थ यसले गम्भीर क्षति पुर्याउने आँकलन गरिएको थियो ।

एउटा ट्विटर सन्देशमा अमेरिकी राष्ट्रिय मौसम विभागले न्यूअर्लियन्सका बासिन्दालाई घरभित्रका झ्याल नभएका कोठामा जान र भित्रै बसिरहन सुझाव दिएको छ । आँधीका कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ ।