पुराना राजनीतिक दलहरूको नीति, व्यवहार र कार्यक्रमप्रति व्याप्त असन्तुष्टि तथा असहमतिलाई सम्बोधन गर्दै मुलुकमा नयाँ राजनीतिक शक्तिको उदय भएको छ । गत सोमबार (भाद्र १४ गते) राजधानीमा एक भब्य समारोहका बीच ‘एकीकृत शक्ति नेपाल’को घोषणा भएको हो ।
राष्ट्रियता, प्रजातन्त्र, धर्मसापेक्षता, अखण्ड नेपाल, सुशासन र राष्ट्रिय समृद्धिलाई मूल एजेण्डा बनाएर घोषणा गरिएको उक्त सङ्गठनको मूल नेतृत्वमा देवप्रकाश त्रिपाठी, डा. बीपी तिम्सिना, डा. रामप्रसाद उप्रेती, श्याम पाण्डे, निखिल उप्रेती, शम्भुमान सिंह, उज्वल कर्माचार्य, जुलुमरत्न डङ्गोल, पदम पाण्डे, डा. मनोहरलाल श्रेष्ठ, दुर्गाविक्रम थापा, सुवास आचार्य, लोकबहादुर तामाङलगायत व्यक्तिहरू रहेका छन् ।
घोषित समितिको अध्यक्षमा देवप्रकाश त्रिपाठी, वरिष्ठ उपाध्यक्षमा डा. रामप्रसाद उप्रेती, उपाध्यक्षहरूमा उज्ज्वल कर्माचार्य, शम्भुमान सिंह र लोकबहादुर तामाङ, महासचिवमा डा. वीपी तिम्सिना, सचिवमा पदम पाण्डे र दुर्गाविक्रम थापा, कोषाध्यक्षमा श्याम पाण्डे, उपत्यका संयोजकमा जुलुमरत्न डङ्गोल तथा कार्यसमितिका सदस्यहरूमा महानायक निखिल उप्रेती, ख्यातिप्राप्त चिकित्सक डा. मनोहरलाल श्रेष्ठ, अक्षता प्रधान, भोजराज अधिकारी, लेखनाथ आचार्य, नवीन रिसाल, प्रदीप गुरागाईं, महेन्द्रमान व्यथित, भिक्षु आनन्द, रेणु तिम्सिना, गोमा तामाङ, पुष्पा बराल, दीपकसिंह महर्जन, विश्वराज दर्जी, सीताराम अधिकारी, भरत कोइराला, सत्यराम यादव, माधव भण्डारी, राजेन्द्र राना मगर, मुकुन्द झा, नवीना थारु, पदम दोङ्ग लामा र सिर्जना पौडेल रहेको कार्यसमितिमा ख्यातिप्राप्त अधिवक्ता सुवास आचार्यले कानून विभागको जिम्मेवारी सम्हाल्नुभएको छ ।

सोमबार आयोजित घोषणा समारोहको सभापतित्व तथा उद्घाटन माताजी जया शर्माबाट भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’बाट शुरु भएको समारोहमा विश्वका सबै समुद्र तथा तीर्थस्थल एवम् पवित्र नदीबाट ल्याइएको जलमा पशुपतिनाथ, लुम्बिनी, सिन्धुलीगढी र मुक्तिनाथलगायतका धार्मिक एवम् ऐतिहासिक स्थलबाट सङ्ग्रह गरिएको माटो मिलाएर बनाइएको टीका सहभागीहरूको निधारमा लगाइएको थियो ।
धर्मनिरपेक्षता खारेज गरी नेपालका सबै मौलिक धर्म संस्कृति संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र, प्रादेशिक संरचना खारेज गरी स्थानीय तह र केन्द्र बलियो भएको राज्यसंरचना, जातिवादमा आधारित समानुपातिक व्यवस्थाको खारेजी, सुशासन र समृद्धि जस्ता विषयलाई मूल एजेण्डा बनाएर स्थापित सङ्गठन एकीकृत शक्ति नेपालको घोषणापत्र संगठनका वरिष्ठ केन्द्रीय सदस्य रहेका महानायक निखिल उप्रेतीबाट प्रस्तुत भएको थियो । समारोहलाई डा. रामप्रसाद उप्रेती, श्याम पाण्डे, गुरु बलभद्र, गुरु श्रद्धानन्द, माताजी जया शर्मा र देवप्रकाश त्रिपाठीले सम्बोधन गर्दै देशभक्त एवम् राष्ट्रवादी व्यक्ति र शक्ति एकीकृत हुन आवश्यक रहेको स्पष्ट गरेका थिए ।
एकीकृत शक्ति नेपालले केही साताभित्रै आफ्ना नीति र कार्यक्रम सार्वजनिक गर्ने भएको छ । अहिले राजनीतिक दलको रूपमा प्रकट नभए पनि ‘एकीकृत शक्ति नेपाल’ले निकट भविष्यमा दलको रूप लिन सक्ने सम्भावना रहेको छ ।
एकीकृत शक्ति नेपालको औपचारिक घोषणा हुनुअघि अनेकौँ चरणमा बैठकहरू भएका थिए । गत श्रावणमा भएको एक अन्तरक्रियात्मक भेलाले डा. लक्ष्मीप्रसाद खतिवडा, डा. मनोहरलाल श्रेष्ठ, डा. शिवराम ढकाल, डा. सुवास घिमिरे, अक्षता प्रधान र किशोर गुरुङ सम्मिलित विशेष समिति गठन गरी उक्त समितिलाई कार्यसमिति सृष्टि गर्ने जिम्मेवारी सुम्पिएको थियो । उक्त समितिद्वारा उत्पत्ति गराइएको कार्यसमिति सोमबार सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया