बहुसङ्ख्यकलाई दुखाएर लोकतान्त्रिक अभ्यास !

बहुसङ्ख्यकलाई दुखाएर लोकतान्त्रिक अभ्यास !


पश्चिमका विकसित देशहरूले कुनै न कुनै रूपमा आफ्नो परिचय क्रिश्चियनका रूपमा पनि दिने गरेका छन् । तर, विश्वको एउटै मात्र हिन्दूराष्ट्रको पहिचान मेटेर नेपाली राजनीतिका मठाधीशहरूले देशलाई क्रिश्चियन राष्ट्रमा रूपान्तरित गर्न खोजेका हुन् या देश नै विघटन गर्ने चक्रब्यूह रचेका हुन्, अब पनि जनता सचेत नभए नेपाली बनेर-भनेर जीवन बाँच्न पाउने स्थितिको अन्त्य हुन सक्ने सङ्केतहरू देखिँदै छन् ।
  • देवप्रकाश त्रिपाठी

कुनै पनि देशको राष्ट्रिय एकताका निश्चित आधारहरू रहन्छन् । हामी सगरमाथालाई हाम्रो ठान्छौँ, गौरव गर्छाैं र गौरवसाथ सगरमाथाको नाममा आफ्नो परिचय विश्व समुदायबीच प्रस्तुत गर्ने गर्दछौँ । हामी सबै नेपालीले आफ्नो स्वामित्व दाबी गर्ने गरेको सगरमाथा हाम्रो राष्ट्रिय एकताको धरोहर हो । त्यस्तै, विश्वको धेरै ठूलो जनसङ्ख्याले अवलम्बन गरेको बौद्ध धर्मका प्रवर्द्धक गौतम बुद्ध तथा उहाँको जन्मस्थान लुम्बिनीप्रति पनि हामी गौरवानुभूति गर्दछौँ । नेपालीका निम्ति गौरवभूमि लुम्बिनी हामी सबै नेपालीको साझा स्वामित्वको भूमि हो र, उक्त पवित्र भूमिले हामी सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने काम पनि गरेको छ ।

त्यसैगरी विश्वभरिका सनातनी हिन्दूहरूको आस्था र विश्वासको केन्द्र पशुपतिनाथले पनि हामीलाई विश्व-पहिचान दिन योगदान पुऱ्याएको छ । नेपालीलाई एकताको सूत्रमा बाँध्न पशुपतिनाथको पनि अतुलनीय योगदान रहिआएको छ । राजतन्त्र प्रत्यक्ष अस्तित्वमा रहिन्जेल सबैथरी नेपालीले आस्थाको केन्द्र राजसंस्थालाई मान्ने गरेको सन्दर्भमा राजसंस्था पनि राष्ट्रिय एकताको एउटा आधारका रूपमा थियो । मेचीदेखि महाकाली र तराईदखि हिमालसम्मका बासिन्दाको सबैभन्दा ठूलो हिस्साले सनातन हिन्दूधर्म अवलम्बन गर्ने गरेको हुनाले राष्ट्रिय एकताको सर्वाधिक बलवान आधार हिन्दूधर्म बनेको थियो र अझै छ । त्यस्तै, यो देश निर्माणमा मगर र गुरुङको विशेष योगदान रहेको स्मरणीय छ, क्षेत्री, ब्राह्मण, दलित र नेवार जाति जो देशको सबैजसो भूभागमा फैलिएर बसेका छन्, हाम्रो राष्ट्रिय एकता सुदृढ हुनुमा यी जातिविशेषको पनि विशिष्ट योगदान रहेको छ भन्न हिचकिचाउनुपर्ने कारण छैन ।

राष्ट्रिय एकताको अर्को आधार राष्ट्रिय सेना हो, कुनै पनि मुलुकले आफ्नो देशको सेनालाई राष्ट्रिय एकताको आधारका रूपमा स्वीकार गरेको हुन्छ । त्यसैगरी राष्ट्रिय एकताको अर्को बलियो आधार राष्ट्रिय राजनीतिक दलहरू हुन्छन्, जसले देशभित्रका सबैथरीलाई एउटै सूत्रमा उनेर राख्ने काम गरेको हुन्छ । मलेसियामा जातीय मुद्दाले राजनीतिमा प्रवेश पाएपछि त्यहाँ राष्ट्रिय राजनीतिक दलहरू धराशायी भएका छन् भन्ने यथार्थसँग हामी सबै नेपाली परिचित हुन आवश्यक छ । राष्ट्रिय एकताका अन्य आधारहरू भाषा, संस्कृति र राष्ट्रिय पहिचानका अन्य सम्पदा पनि हुन् । तर, २०६३ सालमा लोकतन्त्र पुनस्र्थापित भएयता नेपाली राष्ट्रियता र राष्ट्रिय एकताका आधारहरू क्रमशः ध्वंश गर्दै जाने सिलसिला सुरु भएको छ । राजतन्त्र अन्त्य गरेर सुरु भएको त्यस्तो अभियान हिन्दूराष्ट्रको पहिचान मेट्दै अब जातीय सद्भाव तथा भाषिक एकता कमजोर तुल्याउने तहसम्म पुगेको छ । त्यस्तै, नेपाली राष्ट्रिय सेनालाई दुर्बल तथा प्रभावहीन तुल्याउने कसरत पनि भइरहेको छ । राष्ट्रिय राजनीतिक दलहरूलाई पनि जातीय तथा क्षेत्रीय दायरामा सङ्कुचित समूहहरूले विस्थापित गर्दै लगेको स्थिति छ । देशभरि फैलिएर बसेका सबैभन्दा ठूला जातीय समुदायमाथिको प्रहारलाई तीव्र बनाइएको छ र, यसरी उनीहरूमाथि प्रहार हुँदा पनि राष्ट्रिय एकताकै जगमा आक्रमण भएजस्तो महसूस हुन थालेको छ ।

हिन्दूधर्म तराई, पहाड र हिमाललाई जोड्ने सर्वाधिक प्रभावी साधन हो । लोकतन्त्रका मंठाधीशहरूले राष्ट्रिय एकताको सर्वाधिक बलवान हुनसक्ने यो सूत्रलाई कमजोर तुल्याएर कुन आकार-प्रकारको नेपाल खोज्दै छन्- बुझ्न सकिएको छैन । राष्ट्रिय एकताको सूत्र मात्र होइन हिन्दूराष्ट्र देशको अन्तर्राष्ट्रिय पहिचानको एउटा कडी हो र, कुनै पनि प्रकारको अधिनायकवादलाई निषेध गर्ने तागत पनि हिन्दूधर्ममै छ । शायद त्यसैले प्रचण्डजीहरूले हिन्दूधर्मविरुद्ध सम्पूर्ण शक्ति र सामथ्र्य प्रयोग गरिरहनुभएको महसूस हुन्छ । प्रचण्ड-बाबुरामको कार्य व्यवहार हेरेर क्रिश्चियन धर्म प्रचारकै लागि प्रचण्डहरूले ‘क्रान्ति’ गर्न खोज्नुभएको रहेछ भन्ने पनि जनस्तरमा ठान्न थालिएको छ । दशवर्षे हिंसात्मक युद्धकालमा विभिन्न हिन्दू देवीदेवताका मन्दिर तथा गुरु-पुरोहितहरूलाई आक्रमणको केन्द्र बनाएका माओवादीहरूले त्यस अवधिमा चर्च तथा अन्य धार्मिक केन्द्रहरूमा कुनै प्रकारले असहज स्थिति सिर्जना गरेनन्, बरु चर्चहरूलाई त सेल्टरकै रूपमा प्रयोग गरिएको सुनिन्थ्यो, त्यसबेला सुनिएका कुराको पुष्टि माओवादीले खुला भएपछि व्यवहारद्वारा गरेको छ ।

बुद्धको जन्मभूमि नेपाल नै हो भनेर हामीले अझै विश्वमा निर्विवादित ढङ्गले स्थापित गर्न सकेका छैनौँ । ‘बहादुर’को परिचय आफैमा त्यति गौरवपूर्ण अबको विश्वमा रहेन । सुगौली सन्धिमा खुम्चिएका हामीले त्यसपछि आफ्ना लागि बहादुरी कहिल्यै प्रमाणित गर्न सकेका छैनौँ, अर्काको भूमिमा अर्काकै हितका निम्ति लडेर हामी बहादुर कहलिएका छौँ भने यसभन्दा लज्जाबोध गर्नुपर्ने सायदै अर्को विषय हुन सक्ला । लुम्बिनीको तुलनामा पशुपतिनाथ परिसरको विकास र व्यवस्थापन यति नगण्य छ कि अब हामीलाई पशुपतिका नाममा चिन्ने स्थिति दिन-प्रतिदिन कमजोर हुँदै छ ।

आफूलाई अन्तर्राष्ट्रियवादी दाबी गर्ने नेपालका माओवादीहरूले प्रजातन्त्र स्थापना गरेयता पहिचानको मुद्दालाई यसरी उठाएका छन्, मानौँ- पहिचान स्थापित नगरिएकै कारण नेपालका सबै बसोबासी पछाडि परेका हुन् । आ-आफ्ना जातीय या क्षेत्रीय पहिचान खोज्न लगाएर माओवादीले मानिसलाई सचेत तुल्याएका हुन् या अचेत भन्ने कुराको प्रमाण परिणामले दिन बाँकी नै छ । विश्व घटनाक्रमका दृष्टान्तहरूले जातीय वा क्षेत्रीय मुद्दाहरूमा राजनीति पसेपछि सकारात्मक परिणाम हासिल गरेको कहीँ कतै पनि देखिएको चाहिँ छैन । जातिपाति नमान्ने माओवादीहरूले नै जातपातको मुद्दालाई सर्वाधिक महत्वका साथ उठाउनु जति उदेकपूर्ण छ त्योभन्दा पनि दुःखद्चाहिँ जातीय र क्षेत्रीय पहिचान स्थापित गर्ने नाममा राष्ट्रिय पहिचानका यावत् विशिष्टताहरूलाई मेट्ने सन्दर्भ हो । वैयक्तिक या सामूहिक पहिचान राष्ट्रिय पहिचानभन्दा महत्वपूर्ण हो या होइन भन्ने विषयमा छलफल, बहस या विवाद गर्न सकिएला । तर, संसारमा देशको अवधारणा स्थापित रहिन्जेल आफ्नोभन्दा देश या राष्ट्रको पहिचान नै अतुलनीय ढङ्गले महत्वको रहने निश्चित छ । हाम्रोजस्तो भौगोलिक एवम् आकारगत विशिष्टता भएका मुलुकहरूका अनेक समस्यामध्ये एक पहिचानको समस्या हो । दुई सय चालीस वर्षअघि स्थापना भएको नेपालबारे जानकारी पाउने मानिसहरू विश्व जनसङ्ख्याको एकतिहाई पनि हुनसक्लान् भन्नेमा विश्वास गर्न सकिँदैन । जतिले चिनेका छन् त्यो माउन्ट एभरेस्ट, लुम्बिनी, पशुपतिनाथ, गोर्खाली, बहादुर या विश्वको एक मात्र हिन्दूराष्ट्रका नाममा, जब कि हामी त्यति मात्र होइनौँ । हामी हाम्रो भूगोल, हाम्रो इतिहास, संस्कृति, परम्परा, धर्म, भाषा, भेष, सभ्यता आदि विशिष्टतासहितको पहिचान स्थापित गर्न अझै पनि सङ्घर्ष गर्नुपर्ने अवस्थामा छौँ । तर, माओवादीहरूले देशको पहिचान नै ओझेलमा होइन सङ्कटमा पर्ने गरी जातीय तथा क्षेत्रीय पहिचानको राग अराजक ढङ्गले अलापेका छन्, यसरी देश तल पर्ने गरी जात किन उचाल्नुपरेको हो नेपाली मात्रले गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।

हामीलाई विश्वले विगतमा राजतन्त्रात्मक, एक मात्र हिन्दू अधिराज्य, बुद्धको जन्मभूमि, पशुपतिनाथ, बहादुर या माउन्ट एभरेस्टका नाममा चिन्ने गरेकोमा प्रजातन्त्रलाई संस्थागत गर्ने क्रमसँगै राजतन्त्रात्मक र हिन्दूराज्यको पहिचान खारेज गरिएको छ । माउन्ट एभरेस्ट हामीले हाम्रो भनेर दाबी गरे पनि आधाभन्दा बढी हिस्सामा आफ्नो हक जनाउँदै छिमेकी मित्रराष्ट्र चाइनाले पनि एभरेस्ट आफ्नो भएको प्रचारलाई विश्वव्यापी तुल्याएको छ । बुद्धको जन्मभूमि नेपाल नै हो भनेर हामीले अझै विश्वमा निर्विवादित ढङ्गले स्थापित गर्न सकेका छैनौँ । ‘बहादुर’को परिचय आफैमा त्यति गौरवपूर्ण अबको विश्वमा रहेन । सुगौली सन्धिमा खुम्चिएका हामीले त्यसपछि आफ्ना लागि बहादुरी कहिल्यै प्रमाणित गर्न सकेका छैनौँ, अर्काको भूमिमा अर्काकै हितका निम्ति लडेर हामी बहादुर कहलिएका छौँ भने यसभन्दा लज्जाबोध गर्नुपर्ने सायदै अर्को विषय हुन सक्ला । लुम्बिनीको तुलनामा पशुपतिनाथ परिसरको विकास र व्यवस्थापन यति नगण्य छ कि अब हामीलाई पशुपतिका नाममा चिन्ने स्थिति दिन-प्रतिदिन कमजोर हुँदै छ ।

धार्मिक सद्भावको विशिष्ट गुणधारी सनातन हिन्दूधर्मलाई राष्ट्रिय पहिचानको आधार बनाइँदा क्रिश्चियन धर्मप्रचारक या धर्म-व्यवसायीहरूबाहेक अन्य कसैलाई कुनै समस्या थिएन । बरु यसले हिमाल, पहाड र तराईलाई जोड्ने काममा सहयोग पुऱ्याइरहेको थियो ।

हिन्दूराष्ट्रको हाम्रो पहिचान मेट्नुपर्ने कारण थिएन, जनताको त्यस्तो माग थिएन र यो पहिचान मेट्न खोज्नु या सक्नु कुनै बहादुरी पनि होइन । अल्पसङ्ख्यकलाई खुसी तुल्याउनु भनेको बहुसङ्ख्यकलाई दुःखी तुल्याउनु या चिढ्याउनु अवश्य होइन । त्यसैले ‘नेपाली’ राजनीतिकर्मीहरूले हिन्दूराष्ट्रको पहिचान कायम राख्ने प्रतिबद्धता जनाउँदै बहुसङ्ख्यक नेपालीको भावनाको सम्मान गर्ने तत्परता लिन आवश्यक छ । लोकतन्त्र नै हिन्दूराष्ट्रको पहिचान कायम राख्न तत्पर हुन्छ भने दक्षिणपन्थीहरूको हातमा यो प्रभावकारी अस्त्र पनि रहने छैन र कथित प्रतिगमनको खतराबाट देशलाई मुक्त राख्न सकिनेछ । होइन भने बहुसङ्ख्यकलाई दुःखाएर लोकतन्त्र स्थिर र संस्थागत हुने या यो उपलब्धिमूलक हुने कल्पना गर्नु एउटा दिवास्वप्न मात्र हुनेछ ।

विश्वमा करिव सन्ताउन्न वटा इस्लामिक राष्ट्र छन्, इरान, पाकिस्तान, अफगानिस्तानलगायतका अनेक मुलुकहरू जो आफूलाई इस्लामिक राष्ट्र भनेर चिनाउँदा गर्व गर्छन् । दर्जनौँ मुस्लिम राष्ट्रहरूले धार्मिक कानून नै लागू गराएका पनि छन् । इन्डोनेसिया, पाकिस्तान र बंगलादेशका हिन्दू या बौद्ध सम्प्रदायले के-कस्ता चुनौतीहरूको सामना गरिरहनुपरेको छ भन्नेतर्फ हामी त्यति संवेदनशील हुन सकेका छैनौँ । अमेरिकाजस्तो समृद्ध र विज्ञानमा आधारित जीवनशैली अपनाएको मुलुकमा पनि सिक्काको एकापट्टि ‘इन गड वी ट्रष्ट’ (IN GOD WE TRUST) भनेर अनिवार्य रूपमा लेखिएको हुन्छ । त्यहाँका राष्ट्रपतिले शपथ लिँदा पनि बाइबललाई छोएर नै लिने गर्दछन् । भ्याटिकनका पोप युरोप र अमेरिकामा ‘तुफान’ सिर्जना गर्ने सामथ्र्य राख्दछन् र त्यो सामथ्र्य अमेरिका तथा युरोपियन मुलुकहरूबाट पोपलाई प्राप्त भएको हो भन्नेमा कुनै द्विविधा रहनुपर्ने छैन । पश्चिमका विकसित देशहरूले कुनै न कुनै रूपमा आफ्नो परिचय क्रिश्चियनका रूपमा पनि दिने गरेका छन् । तर, विश्वको एउटै मात्र हिन्दूराष्ट्रको पहिचान मेटेर नेपाली राजनीतिका मठाधीशहरूले देशलाई क्रिश्चियन राष्ट्रमा रूपान्तरित गर्न खोजेका हुन् या देश नै विघटन गर्ने चक्रब्यूह रचेका हुन्, अब पनि जनता सचेत नभए नेपाली बनेर-भनेर जीवन बाँच्न पाउने स्थितिको अन्त्य हुन सक्ने सङ्केतहरू देखिँदै छन् ।

हिन्दूधर्म राष्ट्रिय एकताको एउटा यस्तो कडी हो, जसले मेची-महाकाली मात्र होइन हिमालदेखि तराईसम्मलाई एउटै धागोमा उन्ने÷बुन्ने काम सदैव गरिरहन सक्दछ । हिमाली भेगका बसोबासीहरू आफ्नो पवित्र तीर्थस्थल लुम्बिनी रहेको तराईमा जान्छन् भने तराईका हिन्दू धर्मावलम्बीहरू मुक्तिनाथ र गोसाइँकुण्डलगायतलाई आफ्नो पवित्र तीर्थस्थल मान्दछन् । बुद्धलाई विष्णुको अवतारका रूपमा स्वीकार गर्ने हिन्दूहरू पशुपतिनाथको दर्शन गरेपछि स्वयम्भुनाथको दर्शन नगरीकन कार्य शिद्धि नहुने ठान्दछन् । अन्य धर्महरूमा देवता एउटै छन्, सोच र सूत्र एकै छन्, तर सनातन धर्म आफैमा यति फराकिलो, उदार र विविधतापूर्ण छ कि प्रजातन्त्रको उच्चतम् अभ्यास यहाँ गर्न सकिन्छ । सनातनीहरू निराकार ईश्वरलाई मान्न सक्छन्, आकारलाई पनि सक्छन् । देवता या देवीहरूको सङ्ख्या पनि ठूलो छ, व्यक्ति जुनसुकै देवी या देवतालाई पुज्न स्वतन्त्र छन् । विभिन्न ऋषिमुनिहरूद्वारा प्रतिपादित दर्शन सनातन धर्मको जग हो र यसमा चार्वाकजस्तो चरम भौतिकवादी दर्शनलाई पनि उच्च महत्वका साथ समेटिएको छ । क्रिश्चियनहरू यशुलाई र मुसलमानहरू मोहम्मदलाई ईश्वरका दूत मान्दछन्, तिनकै उपदेश या आदेशहरूको पालना गर्नैपर्ने बाध्यता उनीहरूमा हुन्छ । सनातनीहरू वैदिक सूत्रहरूलाई गौरवपूर्ण रूपमा स्वीकार गर्दै आफ्नो चाहनामुताबिक विशिष्ट ढङ्गले धार्मिक पद्धति निर्वाह गर्न सक्दछन् । कुनै पनि धर्म आफैमा खराब हुन सक्दैनन्, तर कुन बढी वैज्ञानिक या सत्यमा आधारित छ, दर्शन र ज्ञानको गहिराइ कति छ तथा कुन धर्म आफैमा उदार एवम् विविधतापूर्ण र गतिशील छ भन्ने आधारमा मापन गर्ने हो भने सनातन हिन्दूधर्मसँग अरू कसैलाई तुलना गरिरहन पर्दैन । विगतमा हिन्दूराष्ट्रको पहिचानभित्र यो मुलुक दशकौँसम्म रहँदा पनि अल्पसङ्ख्यक धर्म सम्प्रदायले असहज महसूस गर्न नपर्नाको कारण हिन्दुत्वमा अन्तरनिहीत उदारता नै थियो भन्न सकिन्छ । देशलाई धर्मनिरपेक्ष घोषणा गरिएपछि बरु धार्मिक क्षेत्रमा पनि तनाव बढेको महसूस गर्न थालिएको छ ।

हिन्दूराष्ट्रको हाम्रो पहिचान मेट्नुपर्ने कारण थिएन, जनताको त्यस्तो माग थिएन र यो पहिचान मेट्न खोज्नु या सक्नु कुनै बहादुरी पनि होइन । अल्पसङ्ख्यकलाई खुसी तुल्याउनु भनेको बहुसङ्ख्यकलाई दुःखी तुल्याउनु या चिढ्याउनु अवश्य होइन । त्यसैले ‘नेपाली’ राजनीतिकर्मीहरूले हिन्दूराष्ट्रको पहिचान कायम राख्ने प्रतिबद्धता जनाउँदै बहुसङ्ख्यक नेपालीको भावनाको सम्मान गर्ने तत्परता लिन आवश्यक छ । लोकतन्त्र नै हिन्दूराष्ट्रको पहिचान कायम राख्न तत्पर हुन्छ भने दक्षिणपन्थीहरूको हातमा यो प्रभावकारी अस्त्र पनि रहने छैन र कथित प्रतिगमनको खतराबाट देशलाई मुक्त राख्न सकिनेछ । होइन भने बहुसङ्ख्यकलाई दुःखाएर लोकतन्त्र स्थिर र संस्थागत हुने या यो उपलब्धिमूलक हुने कल्पना गर्नु एउटा दिवास्वप्न मात्र हुनेछ ।

(२०६६ चैत्र २५ गते घटना र विचार साप्ताहिकमा प्रकाशित यो लेख सान्दर्भिक भएकोले पुनः प्रकाशन गरिएको छ । -सं.)