कल्याण गुरुङद्वारा कांग्रेस सभापतिमा उम्मेदवार घोषणा

कल्याण गुरुङद्वारा कांग्रेस सभापतिमा उम्मेदवार घोषणा



निकै अघिदेखि आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले आगामी मंसिरमा हुने कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी नेता गुरुङले उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै गुरुङले आफूले सभापति पदमा विजयी बनेमा पटक-पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुन पाउने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा बढी समय प्रधानमन्त्री र मन्त्री हुन नपाउने अनिवार्य व्यवस्था गर्ने बताए । यस्तै, कांग्रेसको संरचनामा वडादेखि केन्द्रीय सभापतिलाई व्यवस्थित बनाउने दाबी गरे ।

प्रखर नेता गुरुङले आफू प्रधानमन्त्री भए मुलुकमा ६ महिनाभित्र भ्रष्टाचार नियन्त्रण गर्ने योजना रहेको जानकारी समेत दिए ।

०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका गुरुङ पार्टीको १२ औं महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनीत भएका थिए । १३औं महाधिवेशनमा रामचन्द्र पौडेलको टिमबाट आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनले अब आफैं सभापतिको भूमिकामा रही कांग्रेस हाँक्ने बताएका हुन् ।

यसअघि कांग्रेसको भावी सभापतिका लागि विमलेन्द्र निधिले पनि सभापतिमा उठ्ने औपचारिक घोषणा गरिसकेका छन् भने हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहलगायतले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

ज्ञातव्य छ, कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङ आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा हुन् ।