सरकारको हैन व्यवस्थाको विकल्प

सरकारको हैन व्यवस्थाको विकल्प


यो व्यवस्था जोगाउन अझै ‘राजा’ शब्दले तर्साउन खोजिँदैछ । व्यवस्था होइन ‘व्यक्ति’ परिवर्तनको कुरा गरिँदैछ । तर, जनताले समाधान दिने नयाँ प्रतिनिधि चुन्ने अधिकारको अपहरण गरेर परमादेशमार्फत व्यवस्थापिका बनाइने, कार्यपालिका गठन गरिने व्यवस्थामा व्यक्ति परिवर्तन बलुवाबाट निकाल्ने तेल हो ।
  • स्वयम्भूनाथ कार्की

काइते पाराले राजालाई पाखा लगाएपछि लामो समयसम्म जनता चुप रहे । चिलले झपट्टा हानेजस्तो कुनबेला थाहै नपाइ अनाहकमा ज्यान जाने त्रासमा सम्पुर्ण नेपाल थियो । बससँगै अवोधहरू दन्दनी बलिरहेका थिए । चन्दा दिन अस्विकार गरेको अपराधमा ८० कटेका वृद्धहरू समेत भुत्तेखुकुरीले रेटिँदै थिए । यात्रुले खचाखच बस अचानक विस्फोटमा पर्दै थिए । त्यो बेलामा जनतालाई व्यवस्था-परम्पराभन्दा कुनै पनि बेला जो-कसैले वरण गर्नुपर्ने कष्टकर मृत्युबाट मुक्ति चाहिएको थियो । राजनैतिक दलहरू त्यस्ता मृत्युहरूलाई ‘राजनैतिक अभीष्ट’को जामा लगाइदिँदै थिए । त्यो आतङ्क मच्चाउन सक्नेसँग गठजोड गर्दै थिए । नागरिक समाजका स्वघोषित अगुवाहरू ती अमानवीय घटनालाई उचित भन्दै थिए । पत्रकारहरू चौकीमा भएको आक्रमणमा आत्मरक्षाको निमित्त सुरक्षकर्मीले चलाएको गोलीले कति घरको भित्ता कुरुप बनायो त्यसको लेखाजोखा गर्दै थिए ।

अचानक आइलागेको गद्दी सम्हाल्न राजाले सकेनन्, किनभने उनी त्यो गद्दी सम्हाल्नुपर्ने मानसिकतामा नै थिएनन् । राजकाजबाट अलग व्यापार र वातावरण संरक्षणको काममा लागेका उनले देखाएको चुकहरूलाई अहिले पनि केहीले अपराध भन्दैछन् । त्यो अचानक कुनै नजानेको काम गर्नु पर्दा हुन सक्ने सामान्य चुक थियो जो सबैबाट हुन्छ । तर त्यो त्यस्ता चुकहरूको बीचबाट पनि मुलुकको भलो हुने कामहरू सुरु भए । भ्रष्टाचारमा कडाइ गरियो, बेथितिलाई लगाम लगाउन खोजियो । हिंसा त्यागेर राष्ट्रको निमित्त मेहेनत गर्न अग्रसर गर्ने कदम चालियो । यो अवस्थामा सत्ताबेगर सास फेर्न पनि नसक्ने मानसिकताका केही नेताहरूले आफ्नो भविष्य अन्धकार देखे । अनि लगातार नेपाल बन्द गरियो । जनता त्राहीमाम भयो, प्याकप्याक भयो । त्यही जनताको निमित्त राजा झुके शान्त र समृद्ध नेपाल बनाउ भनेर दलहरूलाई जिम्मा दिए । जनताको नासो जनतालाई फर्काए ।

जनता त्यही शान्ति र समृद्धिको आशमा सबै कुरा सहेर चुप रहे । उचित लाग्ने बहाना थियो, देश सङ्क्रमणमा छ । बहाना थियो संविधान निर्माण हुँदैछ । त्यसपछि तीनै तहको निर्वाचन भयो, अर्थात् अब परिवर्तन संस्थागत भयो । दश वर्षभन्दा ज्यादा पर्खेका जनताले अब गरिएको वाचा पूरा हुनुपर्ने सोच बनाए । तर अरुलाई गाली गर्न भाषणमा आकासपाताल हाँक्नबाहेक केही नजानेकाहरूबाट यो सम्भव देखिएन । परिवर्तित व्यवस्थाले बनाएका कुनै पनि संरचना, कुनै पनि अङ्गमा जनताले विश्वास गर्न सकेनन् । असन्तोष मच्चियो, अनि स्वघोषित बुद्धिजीवीहरू, अगुवाहरू, अधिकारकर्मीहरू यो असन्तोष व्यवस्थाको विकल्प खोज्नेतर्फ उन्मुख नहोस् भनेर सल्बलाउन थाले । उनीहरूको सल्बलाहटले झन् आगोमा घिउ थप्ने काम गरेको छ । सधैं ताली बजाउने समर्थकहरूलाई त्यसबेला चुप रहेको समाजले पाखा लगाइदिएको छ । अब उनीहरूले समाजका तिखा प्रश्नहरूको सामना गर्नुपरेको छ ।

नेताहरू र पिछलग्गुहरूलाई आफ्नो ‘स्वर्ग’ गुम्ने त्रासले सताउन थालेको छ । उनीहरू आफूले पाखा लगाएको भनिएको राजालाई फेरि गद्दीमा बसेको सपना देख्दैछन् ! राजा भने आफ्नो व्यापार अनि कुलपरम्पराअनुसारको धार्मिक आध्यात्मिक गतिविधिमा छन् । नातेदारको जन्मदिनको समारोहमा रमाइलो गर्दछन् । देशभित्र तिर्थाटन गर्दछन् । भेटघाट गरेर मुलुकको चिन्ता व्यक्त गर्दछन् । विदेश भ्रमणमा पनि जान्छन् । अहिलेसम्म गद्दी फर्काउन खोजेको भान पर्ने कुनै काम गरेका छैनन् । जो गरेका छन् त्यो राजनीति भन्दा पर रहेको एक चेतनशील राष्ट्रभक्तले गर्ने र गर्न पाउनेबाहेक केही गरेका छैनन् । तर जनता उनलाई वा उनको परिवारका कसैलाई पनि देख्नेबित्तिकै ‘राजा आउ देश बचाउ’ भन्न पुग्छ । जताततै जुनसुकै तहमा राजाको अनुपस्थिति खड्किएको चर्चा अब खुलेआम हुन थालेको छ । हिजो एकलख्खे लगाएर पानी पिउँदै माइक नै फोडौँला जस्तो गरेर उनलाई गाली गर्नेहरू पनि उनको अभाव भएको कुरा गर्न थालेका छन् ।

यो व्यवस्था जोगाउन अझै ‘राजा’ शब्दले तर्साउन खोजिँदैछ । व्यवस्था होइन ‘व्यक्ति’ परिवर्तनको कुरा गरिँदैछ । तर, जनताले समाधान दिने नयाँ प्रतिनिधि चुन्ने अधिकारको अपहरण गरेर परमादेशमार्फत व्यवस्थापिका बनाइने, कार्यपालिका गठन गरिने व्यवस्थामा व्यक्ति परिवर्तन बलुवाबाट निकाल्ने तेल हो । केही व्यक्तिहरू सदैव शक्तिमा रहुन् भनेर गरिने संसद्, सरकारका थमौती अनि दल विभाजन आदि कुराहरूले यो व्यवस्था जनमुखी हैन नेतामुखी भएको जनाउँछ । त्यसैले सर्वत्र भइरहेको विकल्पको खोजी सरकारको हैन, व्यवस्थाको हो ।