प्रथम अन्तर्राष्ट्रिय धावक स्व. जोशीको प्रतिमा अनावरण

प्रथम अन्तर्राष्ट्रिय धावक स्व. जोशीको प्रतिमा अनावरण



सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको प्रथम एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएका नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व. गजराज जोशीको शालिक अनावरण गरिएको छ ।

नेपाल ओलम्पिक संग्रालयको आयोजनामा नेपाल ओलम्पिक कमिटिको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदका प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको अर्धकदको शालिक अनावरण गरेका हुन् । ढलोटबाट बनेको मूर्ति ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा रहेको छ ।

कार्यक्रममा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नेपाली खेलकुदमा जोशीको योगदानबारे अभिव्यक्ति दिएका थिए । कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्तराज वैद्यलगायत अन्य प्रमुख पदाधिकारीको उपस्थित थियो ।

मूर्ति ओलम्पिक भवनको भुइाँतल्लामा नेपाल ओलम्पिक संग्रहालयअगाडि रहनेछ ।

सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले जोशीलाई आफुले एक खेलाडीको रुपमा मात्र स्मरण गरेकोमा आज आएर उनका बारेमा विविध जानकारी हासिल गर्न पाएको बताए । श्रेष्ठले आउँदो पिँढीको लागि जोशीको योगदानबाट प्रेरणा मिल्ने धारणा राखे ।

जोशी नेपाली खेलकुदको इतिहासमा अन्तर्राष्ट्रिय सहभागिता जनाउने क्रममा पहिलो पुस्ताका खेलाडीमा पर्छन् । नेपाली खेलकुदमा उनले पुऱ्याएको अतुलनीय योगदानका लागि नेपाल खेलकुद पत्रकार मञ्चले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ समेत सम्मान गरेको थियो ।

सैनिक जवाका रूपमा नेपालको प्रतिनिधित्व गरेका जोशी दक्षिण एसियाली खेलकुदमा सहभागी टिमका एक सदस्यमा थिए । दौड स्पर्धामा सहभागिता जनाएका उनले एथलेटिक्ससंगै महावीर र एनआटीबाट फुटबल पनि खेलेका थिए ।

गजराजको जन्म वि.सं १९७९ सालमा गाईजात्राका दिनमा टोखामा भएको थियो । जोशी युवा अवस्थामा इन्डियन ब्रिटिस आर्मीमा भर्ती भएर दोस्रो विश्वयुद्धमा बर्मामा सहभागि समेत भएका थिए । दोस्रो विश्वयुद्धको समाप्तिसंगै नेपाल फर्केका जोशीले त्यसपछि नेपाल आर्मीमा भर्ती भएका थिए । काठमाडौँ चक्रपथ निर्माणको जिम्मेवारी सेनालाई दिँदा उनीपनि त्यस टोलीमा आवद्ध थिए । उनको २०६६ फागुन १६ मा निधन भएको थियो ।

ओलम्पिक संग्राहलयमा खेल क्षेत्रलाई विकास गर्न योगदान गर्ने खेलकर्मी र विभिन्न खेलाडीहरुको प्रतिमा स्थापना गर्ने लक्ष्य रहेता पनि स्व. गजराज जोशीको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरिएको योगदानको कदर गर्दै उनको प्रतिमा स्थापना गरिएको नेपाल ओलम्पिक संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए ।

उक्त अवसरमा गजराज जोशीका छोरा, नेपाल फुटभली संघका अध्यक्ष एवम् भेट्रान एथलेटिक्स खेलाडी मनिष जोशीलाई मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो ।