प्रतियोगिता हेर्न कसैले निम्तो नदिएको भन्दै गरे गुनासो
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेख्दै टिकट किनेर फुटबल प्रतियोगिता हेर्ने हैसियत आफूसँग नभएको जनाएका छन् ।
नेपाल र भारतबीच आज (१७ भदौ) आयोजना हुँदै गरेको मैत्रीपूर्ण फुटबल हेर्नको लागि आयोजक पक्ष अर्थात् एन्फाले निम्तो तथा पास नदिएको भन्दै गुनासो गरेका श्रेष्ठले टेलिभिजन हेरेरै चित्त बुझाउनु पर्ने अवस्था आएको आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।
स्टाटसमा श्रेष्ठले फुटबल म्याच हेर्न त पर्ने हो तर अहिलेसम्म आफुलाई कसैले निम्तो (पास) नदिएको र दिने कुरा पनि कसैले नगरेको खुलासा गरेका छन् भने प्रतियोगिताको टिकट ज्यादै महँगो भएकोले सो खरिद गर्ने हैसियत पनि आफूसँग नभएको खुलासा गरेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलको नेपालमा आयोजना हुँदा पूर्व एन्फाका पदाधिकारीहरुलाई सम्बन्धित निकाय एन्फाले निमन्त्रणा पठाउनु सामान्य सिष्टाचारको विषय हो । एन्फाले पठाएन त्यो उनीहरुको कमजोरी हो । तर एन्फाले निमन्त्रणा नपठाएको भन्दैमा रङ्गशाला गएर फुटबल नहेर्ने भन्ने सवाल रहँदैन । यदि श्रेष्ठले फुटबललाई माया गर्नुहुन्छ भने दशरथ रङ्गशाला गएर फुटबल हेर्नुपर्छ ।

अर्को कुरा, नरेन्द्र श्रेष्ठजस्ता आर्थिक रूपमा सम्पन्न व्यक्तिले ‘टिकट काट्ने आफ्नो हैसियत छैन’ भनी सार्वजनिक गरेको अभिव्यक्तिले सम्बद्ध क्षेत्रका सबैलाई आश्चर्यमा पारेको छ । पूर्व एन्फा अध्यक्षले यस्तो भन्न कदापि नसुहाउने कुरा भएको प्रतिक्रिया कतिपयले दिएका छन् । एन्फाका पदाधिकारीलाई मात्र नभइ आम फुटबलप्रेमीले समेत उनको हैसियत कस्तो छ भन्ने राम्रो जानकारी राखेका छन् । एन्फाले निमन्त्रणा (पास) नपठाएको कुरा पत्याउन सकिए पनि उनको टिकट काट्ने हैसियत नभएको कुरा पाच्य हुँदैन । जस्तोसुकै महङ्गो टिकट भए पनि उनी किनेर फुटबल हेर्ने हैसियत राख्छन् ।
ज्ञातव्य छ, श्रेष्ठको राजधानीको मुटुमै घर छ भने परिवारका सदस्यहरु विदेशमा छन् । खुद नरेन्द्र श्रेष्ठ प्रत्येक वर्ष लाखौँ खर्च गरेर विदेश ओहरदोहर गर्छन् ! त्यस्तो व्यक्तिले केही सय रुपैयाँ मूल्यको टिकट किन्न हैसियत पुगेन भनी सामाजिक सञ्जालमा स्टाटस लेख्नु आफैमा हास्यास्पद सन्दर्भ बन्न पुगेको छ ।
प्रतिक्रिया