राखेपमातहत देशभरका सम्पत्तिको विवरण बुझाइयो

राखेपमातहत देशभरका सम्पत्तिको विवरण बुझाइयो



राष्ट्रिय खेलकुद परिषदअन्तर्गत देशव्यापी रहेका भौतिक पूर्वाधार र जग्गाको अध्ययन गरी विवरण संकलन गर्न गठित भौतिक पूर्वाधार व्यवस्थानसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएको छ ।

राखेपकी सदस्य एवम् कार्यदलकी संयोजक सुवर्णकेशरी श्रेष्ठले राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई एक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गरेकी हुन् ।

गत चैत २३ गते राखेपले श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका हिमालराज दाहाल, युवा तथा खेलकुद मन्त्रालयकी रेखा सिग्देल, भौतिक पूर्वाधार तथा निर्माण शाखाका राजु श्रेष्ठ, सामान्य प्रशासन शाखाकी सारदा दाहाल र आर्थिक प्रशासन शाखाका टंकराज कट्टेल रहेका छन् । सचिवमा प्रशासन विभागका भोजानन्द राई छन् ।

संयोजक श्रेष्ठले राखेप मातहतका सम्पत्तिको उचित संरक्षण र सम्बद्र्धन गर्न सके वार्षिक कम्तीमा १० करोड आम्दानी गर्न सकिने निस्कर्षसहितको प्रतिवेदन बुझाएको जानकारी गराउँदै प्रतिवेदन कार्यन्वयन हुनेमा आफू विश्वस्त रहेको बताइन् ।

संयोजक श्रेष्ठले कतिपय स्थानमा कार्यदलले स्थलगत अध्ययनगरी प्रतिवेदन तयार पारेको बताउँदै कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाका कारण विवरण संकलन गर्न ढिला भएको जानकारी गराइन् ।

सदस्यसचिव सिलवालले परिषदमातहतका सम्पत्तिको यथार्थ अवस्था बुझ्न प्रतिवेदनले ठूलो मद्दत पुग्ने बताउँदै प्रतिवेदन पूर्ण रूपमा अध्ययन गरी कार्यन्वयनतर्फ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे ।