(कथा)
- यश घिमिरे
स्नानगृहमा पानीको पाइप फुटेर बिजोक भयो । सानोतिनो टुट्फुट बनाउन पैसाले पुगिसरी आएका प्लम्बरहरू आउन आनाकानी गर्ने, फुर्सद नभएको बहाना बनाउने गर्छन् भन्ने थाहा थियो । घर बनाउँदा काममा लगाइएको प्लम्बरलाई नै बोलाए समस्याको छिटो समाधान होला भन्ने लाग्यो र मोबाइलमा वहाँँको नम्बर खोज्न थालेँ । ‘सेभ’ गरेको नम्बर खोइ कसरी हो ‘कन्ट्याक्ट् लिस्ट’बाट हराएछ । बोलाउन अब घरै पुग्नुपर्ने भयो । प्लम्बर दाइको घर यो ठाउँमा पर्छ भन्ने त थाहा थियो तर ठ्याक्कै देखेको चाहिँ थिइनँ । सोध्दैखोज्दै पुगेँ ।
आँगनमा १८-१९ वर्षकी छोरी मोबाइलमा कोहीसँग बोल्दै रहिछिन्, म नौलो मान्छे देख्नासाथ फुत्त ढोका खोलेर भित्र कुँदी । मनमनै ‘कस्तो जङ्गली केटी रैछे’ भन्ने लाग्यो ।
भित्रबाट, टिभीमा दोहोरी गीत घन्किएको बाहिरैसम्म सुनिँदै थियो । अर्काको घरको ढोका खोलेर सरासर पस्नु पनि भएन, कलबेल बजाएँ । पाँच-सातचोटि बारम्बार बजाएपछि २०-२१ वर्षको छोरोले कानमा एयरफोन, हातमा मोवाइल र गेममा आँखा हेर्दै ढोका खोल्यो । अनि एकपल्ट पुलुक्क मलाई प्रश्नसूचक नजरले हे ऱ्यो ।
‘बुवा खोइ ?’- सोधेँ ।
आँखा र हातका औंलाहरू मोबाइलमै घुमाउँदै छोटो उत्तर दियो- ‘था’ छैन ।’
बाउसमानको मान्छेलाई देखेर पनि सामान्य अभिवादनको त कुरै छोडौँ ‘के काम थियो होला ?’ भनेर सोध्नसम्म जरुरी सम्झेन केटोले । अझ अचम्मको कुरो त के भने नि, उत्तर फर्काउँदा अनुहारमा हेर्ने जरुरी पनि ठानेन ।
स्वरलाई सकभर नरम बनाउदै सोधेँ- ‘बुवाको मोबाइल नम्बर कति हो बाबू ?’
ऊ झर्को माने जसरी आमातिर फर्केर चिच्यायो- ‘मामु ! बाबाको नम्बर कति हो रे ?’
मूलढोकासँगै गाँसिएको सिटिङ्गरूममा घरै थर्किने आवाजमा दोहोरी गीत सुनिरहेकी मोटीनमोटी भाउजूले छोरोले के भनेको हो बुझिनन् । टिभीको आवाज अलिकति घटाउँदै सोधिन्- ‘के रे ?’
‘बाबाको मोबाइल नम्बर कति हो रे ?’
यति भनिभ्याएर ध्यानजति मोबाइलमै लगाउँदै केटो फनक्क फर्केर आफ्नै कोठातिर लाग्यो र, ढ्याम्म ढोका लगायो । छोरी त अघि नै मान्छे देख्नासाथ कुलेलम ठोकेकी, शायद उ पनि आफ्नै कोठामा होलि, देखिनँ । म भने भिखारीजसरी चुपचाप त्यहिँ उभिइरहेँ ।
सोफाबाट सकसपूर्वक उठेर एक क्विन्टलको शरीर बल्लबल्ल म भएतिर आयो । दिनरातको मिहिनेत र कामैकामले खिरिएको मुस्किलले पैँतालीस किलोको प्लम्बर दाइलाई सम्झिएँ । अनि त्यो भाउजूको भीमकाय स्वरूप हेर्दै मनमनै भनेँ- ‘खानाँ काल !’
उनले बाहिरै ननिस्किइकन भित्रै उभिएर सोधिन्- ‘किन र ?’
‘बाथरुमको पाइप फुट्यो भाउजू, त्यै भएर । दाइको नम्बर कति हो ?’
‘खोइ कुन्नी ! मोबाइलमा होला नम्बर त ।’
उनी टिभी कोठातिरै फर्किइन् अनि सोफा, टेबुल, घर्रातिर यताऊति खोज्न थालिन् । बाहिरैबाट देखेँ, अलकढलक गर्दै आँखा र ध्यानचाहिँ दोहोरीमै लगाउँदै खोजेजस्तो गरेको । ‘उफ्फ, कस्तो झम्पाट परिवार होला ?’ खिन्न हुँदै भिखारी झैँ ढोकाबाहिर उसैगरि उभिइरहेँ ।
निकैबेर उभ्याएपछि नेपालको सरकारी कर्मचारीले ‘फाईल’ नभेटेपछि भन्ने गरेजसरी भनिन्- ‘भोलि बिहानै आउनुस् न है, मोबाइल नै भेटिनँ ।’
‘पानी फुटेर घरभरी छ । भोलि बिहानसम्म कसरी कुर्नु ? तपाईंको नम्बर भन्नू त, म घण्टी बजाइदिन्छु । अँ, त्यो भन्दा पैले टिभी अफ् गर्नुस !’- अलिकति रोष मिसाएर बोलेँ ।
उनले कनिकनी आफ्नो नम्बर भनिन् ।
घण्टी बजेपछि थाहा भयो मोबाइल सोफाको कुनामा सिरानीमुनि रहेछ । अनि ‘बुढो’ भनेर सेभ गरिएको नम्बर हेरेर भनीदिइन् ।
प्लम्बरलाई त्यहीँबाट फोन लगाएँ । वहाँँले ‘जाँदै गर्नु एकैछिनमा आईहालेँ’ भनेपछि सानो समस्याको ठूलो तनाव स्वाट्टै कम भयो ।
०००
शायद यो हल्का तितो लाग्ने घटनाले पनि होला, बाटोमा फर्किंदै गर्दा आफ्नै अतीतमा डुबुल्की मार्न थालेछु । नब्बे वर्षको आयु बाँचेर अमिट छाप छोडेर जानुभएको हजुरबुवाको सौम्य चेहरा आँखामा नाच्न थाल्यो ।
‘नाति ! तिमी १२ वर्षको भयौ । अब त तिमीले घरमा को आउँछन् ? के कामले आएका हुन् ? के नाता हो ? सप्पै जान्नुपर्छ । सबैसँग नम्र भएर आदरपूर्वक बोल्ने, नमस्कार गर्ने गर्नुपर्छ । नदेख्या जस्तो गर्ने, लुक्ने गर्नुहुन्न नि ! फरासिलो ब्यहोराले हो मान्छे राम्रो नराम्रो हुने ; अनुहार, उमेर, जात, धर्मले होइन । यत्ति बुझ्नु !’
हजुरबुबाले यो प्रसङ्ग वहाँँको भान्जालाई मैले चिन्न नसकेर नमस्कार नगरेको विषयलाई लिएर गर्नुभएको टिप्पणी थियो ।
घिमिरे बाजे अर्थात् मेरो हजुरबुबा । हाम्रो १४ जनाको संयुक्त परिवारको मुली । लमजुङको कुनै अनकन्टार पहाडमा जन्म लिनुभएको मेरो हजुरबुवाले कहिल्यै औपचारिक शिक्षा लिन पाउनुभएन । नपाएर के भयो र ? ब्यवहाँरिक ज्ञान, सीप र दक्षतामा कोहीभन्दा कम हुनुहुन्थेन । हलोजुवा, डोको, नाम्लो, दाम्लो आफै तयार पार्नुहुन्थ्यो । घाँसपात, बस्तुभाउको रेखदेखदेखि मौसमको पुर्वानुमान गरी खेती-किसानी वहाँँको कर्म रह्यो । सधैं बिहान झिसमिसेमा उठेर काम सकेर नुहाइधुवाइ गरि चटक्क परेको सफा कपडामा ठाँटिएर दिउँसो बजार घुम्न निस्कनु वहाँँको दैनिकी हुन्थ्यो । चियापसलमा बसेर चिया प्युँदै वर्तमान राजनीति बुझ्ने र टिप्पणी गर्ने गर्नुहुन्थ्यो । सधैं कर्ममा विश्वास राख्ने, सेतो स्फटिक दौरा सुरुवाल, कालो कोट र ढाकाटोपीमा सजिने मेरो हजुरबुवा हाम्रो परिवारको शान हुनुहुन्थ्यो । कसैमाथि अन्याय र हेलाहोचो नगर्ने वहाँँको हरेक वाक्य हाम्रो लागि’ ब्रम्हवाक्य’ थियो । कत्ति पनि आनाकानी नगरी वचनको पालना गर्थ्यौं पनि !
वहाँँ जहिलै भन्नुहुन्थ्यो- ‘नाति ! जीवनमा चार ‘स’ कहिलै नभुल्नु- सहयोग, सद्कर्म, सरलता र समानता ।’
यस्तो परिवार र संस्कारमा हुर्किएको मजस्तो पुस्तालाई आजको प्रविधिले बनाएको एकाङ्की ‘जुग’ अनौठो लाग्ने नै भयो । अनि यो जुगान्तरणले कताकता पारिवारिक सम्बन्ध खल्लो र खुकुलो हुँदै गैरहेको जस्तो लाग्यो ।
०००
घर आइपुग्दा प्लम्बर दाइ पनि आइपुग्नुभएको रहेछ । वहाँको हाड र छालाको स्वरूप देख्नासाथ बैराग लागेर आयो । पहिलाभन्दा झन दुब्लाउनुभएछ ।
सोधेँ- दाइ, सञ्चै हुनुहुन्छ ?
‘खोइ … सञ्चो भनुँ कि बिसञ्चो ! अलिकति खोकीले सता’को छ । छाती दुख्छ तर के गर्नु ? काम त गर्नैपऱ्यो । छोराछोरी पढाउनै परो, स्वास्नी पाल्नै परो !’- सदावहारको उही खिसिक्क हाँसेर जवाफ फर्काउनुभयो अनि फेरि झट्पट केही सम्झिएझैँ भन्नभयो- ‘कता हो पाइप फुटेको ?, बिजोक भयो भन्ने सुनेर गर्दै गरेको काम छोडेर दौडेर आ’को । यता बनाएर फर्किहाल्नु छ ।’
मैले फुटेको ठाउँ देखाइदिएँ । वहाँँ आफ्नो काममा लाग्नुभयो । म आफ्नै काम गर्नतिर लागेँ ।
करिव एक घन्टापछि पसिनाले तरबितर हुँदै आउनुभयो । ‘ल सर, ढुक्क हुनुस् अब दुई-चार वर्ष केही हुन्न’- यति भन्न के भ्याउनुभएको थियो जोडजोडसँग खोक्न सुरु गर्नुभयो । खोक्दाखोक्दै ह्वाल्ल रगत बान्ता भयो । हत्त न पत्त वहाँलाई समाएर कुर्चीमा बसालेँ ।
‘दाइ ! तपाईं यस्तो सञ्चो नहुँदानहुँदै पनि किन काममा आउनुभएको ? पहिला पनि रगत बान्ता हुन्थ्यो ?’
‘कहिलेकाहीँ अलिअलि हुन्थ्यो, आज अल्लि बढी भयो’- दम बढेको स्वरमा असजिलो हुँदै जवाफ दिनुभयो- ‘डाक्टरकहाँ जाउँला भन्दै थिएँ ।’
अरु बोल्न सकिरहनुभएको थिएन ।
स्थिति गम्भीर भएको महशुस गरेँ । तुरुन्तै एम्बुलेन्स बोलाएँ अनि अघि ती भाउजुको मोबाइल खोज्दा डायल गरेको नम्बरमा पुनः फोन लगाएँ । तीनचोटिको प्रयासमा फोन उठ्यो । दाइको अवस्थाबारे अवगत गराएँ र भनेँ- ‘ल भाउजू ! तुरुन्त कपडा लाएर पैसाको जोहो गरेर अस्पताल आउनुस् है !’
जवाफ आयो- ‘अलिअलि त पहिले नि छाद्नुहुन्थ्यो । केही भा’थेन त । हस्पिटल लानैपर्ने हो र ? त्यहीँ नजिकैको औषधिपसलबाट औषधि किनेर पठाइदिनुस् न हुन्न ?’
कुरो सुनेर कन्सिरी तातेर आयो । यस्तासँग अरु के बोल्नु ? फोन काटिदिएँ । एम्बुलेन्स पनि आइपुग्यो अनि वहाँलाई केही छिमेकीको सहायताले गाडीमा उचालेर हालेँ । बाटोमा जेनतेन बोल्दै गर्नुभएको दाइ, फेरि रगत उल्टी भएपछिचाहिँ चल्न-चट्पटाउन छोड्नुभयो । इमार्जेन्सीमा केही जाँच गरेपछि रिपोर्ट हेर्दै डक्टरले भन्यो- ‘नो होप ! लिभर र हर्ट पूरै ड्यामेज भैसकेको रहेछ । प्लीज कल हिज रिलेटिभ्स् !’
केही हतास हुँदै फेरि उनै भाउजूलाई फोन लगाउन थालेँ ।…
हाल : भरतपुर–१२ चितवन
प्रतिक्रिया