गोल संख्या १११ पुऱ्याएर रोनाल्डोले रचे इतिहास

गोल संख्या १११ पुऱ्याएर रोनाल्डोले रचे इतिहास



पोर्चुगलका विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले फुटबलमा इतिहास रचेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गरेर उनले इतिहास रचेका हुन् । इरानका पूर्व स्ट्राइकर अली दाइको कीर्तिमान तोड्दै रोनाल्डोले फुटबल दुनियाँको ऐतिहासिक पात्रको दर्जामा मजबुत पकड बनाएका हुन् ।

रोनाल्डोले विश्वकप छनोेठ चरणअन्तर्गत आयरल्याण्डविरुद्धको खेलमा गोल गरेर अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए । हालै आयोजित आयरल्याण्डविरुद्धको खेलमा रोनाल्डोले २ गोल गरेका थिए । रोनाल्डोको गोलको सहयोगले नै पोर्चुगलले आयरल्याण्डमाथि ३-१ ले विजय प्राप्त गऱ्यो । उक्त खेलमा रोनाल्डो पेनाल्टीबाट गोल गर्न भने चुकेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा इरानका अली दाइले १ सय ९ गोल गरेर सबैभन्दा बढी गोल गर्ने खेलाडीको नाम आफ्नो नाममा दर्ता गराएका थिए । यसअघि नै दाइको कीर्तिमानसँग बराबरी गरिसकेका रोनाल्डोले आयरल्याण्डविरुद्धको खेलमा दुई गोल गरेर उक्त कीर्तिमान आफ्नो पक्षमा पारेका हुन् । यी दुई गोलसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोलको संख्या १११ पुगेको छ । रोनाल्डो यो उपलब्धि आफ्नो मुलुकबाट १ सय ८० खेल खेल्दै बनाएका हुन् ।

अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाएपछि रोनाल्डोले खुशी व्यक्त गरेका छन् । उनले भने- ‘म असाध्यै खुशी छु, यसको लागि म टीमका सम्पूर्ण खेलाडी साथीहरूलाई धन्यवाद दिन चाहन्छु । उनीहरुकै सहयोग र शुभेच्छाले मैले यो कीर्तिमान बनाउन सकेको हुँ ।’