युवाशक्तिको सदुपयोग अपरिहार्य

युवाशक्तिको सदुपयोग अपरिहार्य


युवाशक्ति लागूऔषधको दुष्चक्रमा फस्नुको मूल कारण बढ्दो बेरोजगारी, अवसरको कमी, देशमा मौलाएको भ्रष्टाचार, अस्थीर राजनीति तथा नागरिक र राज्यबीच बढ्दो दूरी प्रमुख हो । आफ्ना नागरिकको अवस्था र मानसिकता बुझेर राज्यले नागरिक एवम् युवा शक्तिसँग जोडिने प्रयत्न गर्ने हो भने यस्ता खालका विसङ्गति पैदा हुने थिएन । कसरी रोजगारी सिर्जना गर्ने, कसरी युवालगायत सवल वर्गलाई देशको समृद्धिसँग जोड्ने, कसरी उत्पादन बढाउने, जनताको घर-आँगनमा सेवा-सुविधा बढीभन्दा बढी कसरी लैजाने भन्ने सवालमा यदि राज्य वा सरकार केन्द्रित हुन्थ्यो भने युवा वर्ग आज यसरी निरुत्साहित भइ खराव मार्गमा अवश्य लाग्ने थिएन ।
  • इन्दु भुसाल, रुपन्देही

देश विकासमा युवा वर्गको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सबैलाई अवगत नै छ । इतिहासका पाना पल्टाउँदै जाँदा प्रत्येक देशका सीमारेखाहरू युवावर्गको पसिना र रगतबाट कोरिएका भेटिन्छन् । यस्तो महत्वपूर्ण युवा वर्गलाई विचलित हुन नदिइ तिनको समयोचित लाभ देशको विकास र उन्नतिमा लगाउनका लागि राज्यले विशेष सोचका साथ पहलकदमी लिनुपर्ने हुन्छ ।

युवा वर्गमा विकृति-विसंगति, निराशा, कुण्ठा जागृत हुन नदिई, दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर राष्ट्रिय स्वार्थमा उनीहरूलाई प्रयोग गर्दा कुनै पनि राष्ट्रको कायापलट नै हुनेमा सन्देह राख्नै पर्दैन भन्ने कुरा विश्वका अनेक मुलुकका उदाहरणले प्रष्ट्याएको छ । देशविकासको गहकिलो माध्यम युवा नै भएकाले तिनलाई कुलतमा लाग्न र फजुलका कुरामा बरालिन नदिन परिवार, समाज र राज्यले नै विशेष ध्यान पुऱ्याउनैपर्छ । उनीहरूलाई जोश र होसका साथ कम्मर कसेर कर्मक्षेत्रमा जुट्नका लागि अनुकूल वातावरण बनाइदिएमा मुलुकको विकासले फड्को मार्ने कुरामा विमति राख्न सकिन्न ।

लागूऔषधको प्रयोग र यसमा युवावर्गको संलग्नता पछिल्लो समय नेपाली समाजमा खतराको घण्टीकै रूपमा देखिएको छ, यो अत्यन्त चिन्ताको विषय हो । अहिले नेपालका कुल युवाको करिव १० प्रतिशतले लागूऔषधको प्रयोग गर्ने गरेको विभिन्न अध्ययन-अनुसन्धानको आधारमा अनुमान गरिउको छ । यसबाट समाजमा विकृति, अशान्ति र अराजकताको अवस्था सिर्जना हुन गएको छ भने अर्कातर्फ ती युवाहरूबाट राष्ट्रले पाउनुपर्ने सेवा पनि प्राप्त गर्न नसकी मुलुक नै कमजोर बन्ने खतरा बढेको छ ।

कुलतमा लागेका युवाबाट सिर्जित विकृतिको नियन्त्रणका लागि बेग्लै लगानी लगाउनुपर्ने दायित्वभार राज्यमाथि थपिएको छ । त्यस्ता युवाहरूलाई नवसिर्जना र राष्ट्रको निर्माणमा लगाइ देशको समृद्धिको अभियानलाई सार्थक र सफल गर्न आवश्यक रहेको परिस्थितिमा राजनीतिले बाटो बिराउनु विडम्बना हो । राजनीतिलाई फोहोरी खेल भनेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतामा परिवर्तन ल्याउन पनि राजनीति स्वयमले आफ्नो मार्ग सङ्ग्लो पार्नुपर्छ ।

यसरी युवाशक्ति लागूऔषधको दुष्चक्रमा फस्नुको मूल कारण बढ्दो बेरोजगारी, अवसरको कमी, देशमा मौलाएको भ्रष्टाचार, अस्थीर राजनीति तथा नागरिक र राज्यबीच बढ्दो दूरी प्रमुख हो । आफ्ना नागरिकको अवस्था र मानसिकता बुझेर राज्यले नागरिक एवम् युवा शक्तिसँग जोडिने प्रयत्न गर्ने हो भने यस्ता खालका विसङ्गति पैदा हुने थिएन । कसरी रोजगारी सिर्जना गर्ने, कसरी युवालगायत सवल वर्गलाई देशको समृद्धिसँग जोड्ने, कसरी उत्पादन बढाउने, जनताको घर-आँगनमा सेवा-सुविधा बढीभन्दा बढी कसरी लैजाने भन्ने सवालमा यदि राज्य वा सरकार केन्द्रित हुन्थ्यो भने युवा वर्ग आज यसरी निरुत्साहित भइ खराव मार्गमा अवश्य लाग्ने थिएन । तर, नेपालको बिग्रँदो राजनीतिले यस सम्वेदनशील विषयतर्फ फर्केर हेर्ने, विचारविमर्श गर्ने र उचित निचोडमा पुगी समस्या समाधान गर्ने कुरामा पटक्कै ध्यान दिएको छैन । यो नेपाल र नेपालीका लागि ठूलो दुर्भाग्य हो ।

यसरी, कुलतमा लागेका युवाबाट सिर्जित विकृतिको नियन्त्रणका लागि बेग्लै लगानी लगाउनुपर्ने दायित्वभार राज्यमाथि थपिएको छ । त्यस्ता युवाहरूलाई नवसिर्जना र राष्ट्रको निर्माणमा लगाइ देशको समृद्धिको अभियानलाई सार्थक र सफल गर्न आवश्यक रहेको परिस्थितिमा राजनीतिले बाटो बिराउनु विडम्बना हो । राजनीतिलाई फोहोरी खेल भनेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतामा परिवर्तन ल्याउन पनि राजनीति स्वयमले आफ्नो मार्ग सङ्ग्लो पार्नुपर्छ । अन्यथा युवा वर्गलाई राजनीतिसँग जोड्न झन् कठिन हुँदै जान्छ । आज जो-जति युवा राजनीतिमा चासो राखिरहेका छन्, तिनमध्ये अधिकांश नेता वा नेतृत्वको चाकडी गरेर व्यक्तिगत लाग लिन मात्र क्रियाशील भएझैँ देखिन्छन् । बाहुबली कार्यकर्ताहरूको वर्चश्व देखिन्छ राजनीतिमा । यसले अन्ततः मुलुकलाई भड्खालोतिर नै लैजान्छ, समृद्धितर्फ होइन ।

अब सबै क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ र मुलुकको नेतृत्व गर्न आफूलाई विकास गर्दै नयाँ सोच, नयाँ विचार र ऊर्जाशील भएर युवाहरू लाग्नुपर्छ । सर्वहिताय र सर्वमान्य खालको राजनीतिक पद्दति र स्थिरता हामी नेपालीले देख्न पाएकै छैनौँ । दूरदर्शी र क्षमतावान नेतृत्व नेपाली जनताको तिर्सनामा नै सीमित भएको छ । हाम्रो विकासका पूर्वाधार निर्माण, स्तरीय जीवनशैली, सुविधायुक्त गाउँबस्ती, स्वच्छ सफा सहर, स्तरीय शैक्षिक र स्वास्थ्य संस्थाका सपना सपनामै खुम्चिएर रहेका छन् । हाम्रा अनगिन्ती सम्भावनाहरू उपयोग हुन नसकेर थन्किएका छन् । संसारका अन्य देशको तुलनामा सभ्यताको यति लामो इतिहास बोक्दाबोक्दै पनि समाज विकासको दृष्टिकोणबाट किन नकारात्मक छ त नेपाल ? आखिर के कारणले सम्भव हुन सकेन त वर्षौंदेखि समृद्ध नेपालको परिकल्पना साकार ? चारैतिर बेथिति र अराजकताको चक्रब्यूहमा फँसेको देशलाई कसरी राहत दिने त ? यसको निकास ल्याउने कसले ? समाज र देशको नेतृत्व गर्ने कसले ? यस्ता प्रश्नहरूमाथि घोत्लिँदा आखिर युवा वर्ग नै सबैको मन-मस्तिष्कमा आउँछ ।

यसर्थ, देशमा चौतर्फी फैलँदै गएको अस्तव्यस्तताको झाडीलाई जरैबाट उखेलेर फाल्न र खनजोत, गोडमेल गरी विकास र समृद्धि रोपेर फलाउन युवा वर्ग नै अघि बढ्नु अहिलेको आवश्यकता हो । यसका लागि उद्यमशील बन्नु, आफू रोजगार हुनु, अरुलाई रोजगार दिनु युवा वर्गको कर्तव्य हो । राज्यले पनि देश, भूगोलअनुसार आवश्यक जनशक्ति तयार गर्न प्राविधिक, शिक्षा, तालिमको व्यवस्था गर्नुपर्छ । विद्यालय तहदेखि प्राविधिक शिक्षाको नीति लागू गर्न जरुरी छ । शहरी क्षेत्रमा त प्राविधिक शिक्षा छ नै तर दुर्गम ठाँउमा पुग्न सकेको छैन । नीति निर्माण तहमा बसेकाहरूलाई युवामुखी कार्यक्रम ल्याउनका लागि निरन्तर दबाब दिनुपर्छ । बेथिति, भ्रष्टाचारका विरुद्ध एकजुट भएर आवाज बुलन्द गर्न सक्नुपर्छ । देशलाई आत्मनिर्भर बनाउन सके स्वाभिमान जाग्छ र जनतामा स्वाभिमान जागे देशको सार्वभौमिकता यसै बलियो हुन्छ भन्ने सत्य मनन गरी समस्त युवा वर्गले मुलुक निर्माणको निम्ति अब प्रण गर्नुपर्छ । अब पनि ढिलो गरे देशकै अस्तित्वमाथि प्रश्नचिन्ह खडा हुनेछ ।