मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपाल भारतसित पराजित

मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपाल भारतसित पराजित


भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न खेलमा भारतले नेपालमाथि जित हासिल गरेको हो ।

भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरे । नेपालका लागि सान्त्वना गोल तेज तामाङले गरे । पहिलो हाफमा प्रदर्शन गरेको खेललाई दोस्रो हाफमा निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो । नेपाल र भारत दुवैले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट पटकपटक गोलको प्रयास गरे पनि सफल भने हुन सकेन ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले खेलको ६२औँ मिनेटमा भारतका लागि पहिलो गोल गर्नुभएको थियो । यस्तै खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । उनी बिनाअवरोध सहजै गोल गर्न सफल भएका थिए । भारतले दुई गोल गरेपछि नेपालले आक्रामक खेल खेल्न पुगेको थियो । खेलको ८७औँ मिनेटमा नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । उनले झण्डै २० यार्ड टाढाबाट गोल गरेका थिए ।

नेपाली टोलीले दोस्रो हाफमा पनि गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन । यसअघि गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक–एक गोलको बराबरी खेलेका थिए । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए भने भारतका लागि अनिरुद्ध थापाले गोल गर्न सफल भए । खेलको ७४औँ मिनेटमा भारतीय टोलीका प्रशिक्षक इगिर स्टिमिकले पहेँलो कार्ड पाएका थिए । भारतविरुद्धको दोस्रो खेलमा नेपालका राजन गुरुङ र गोलकिपर विशाल श्रेष्ठले डेब्यु गरेका थिए ।

खेलको म्यान अफ दि म्याच नेपालका तर्फबाट तेज तामाङ तथा भारतका तर्फबाट अनिरुद्ध थापा घोषित भए । दुवैले जनही रु २५ हजारको चेक र ट्रफी प्राप्त गरेका छन् । यस्तै प्लेयर अफ दी सिरिज भारतका रहिम अली घोषित भए । उनले रु एक लाखको चेक र ट्रफी हात पारे । विजेता खेलाडीहरूलाई गृहमन्त्री बालकृष्ण खाण, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले चेक र ट्रफी वितरण गरे ।

आइतबारको खेलसँगै नेपाल र भारतबीच २१ पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १४ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घ (फिफा) को बरियतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ । भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा रहेको छ ।

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ ।

कप्तान चेम्जोङको कीर्तिमान

भारतविरुद्धको आइतारको खेलसँगै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

सन् २००८ मा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले पहिलो खेल कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध खेलेका थिए । उचाइ ६ फिट २ इन्च भएका उनी १८ वर्षको उमेरमा नै राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । भारतविरुद्धको आइतबारको खेलसँगै राष्ट्रिय टोलीबाट चेम्जोङले खेलेको खेलको सङ्ख्या ७४ पुगेको छ ।

pict:rss