कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारले पचपन्न दिन काटिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको सन्दर्भ यतिबेला सबैको चासोको विषय बनेको छ । अब छिट्टै पूर्णता पाउँछ भन्ने आश्वासन सत्ताधारी नेताहरुबाट दिइँदै आए पनि पटक पटक भाखा सारिँदै आएको छ भने सरकार गठन भएको करिव दुई महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको यो ऐतिहासिक नजीर बन्दैछ ।
यसै क्रममा मन्त्रिपरिषद्ले अब एकाध दिनमै पूर्णता पाउने बताइएको छ । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले एकाध दिनभित्रै पूर्णता पाउने बताएका हुन् ।
हाल सरकारमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, नेकपा (माओवादी केन्द्र)का तर्फबाट दुई मन्त्री कार्यरत छन् । सरकार विस्तारमा ढिलाइ भइरहेको भन्दै विभिन्न टिका टिप्पणी भइरहेको सन्दर्भमा नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् ।
गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल छन् । जनमोर्चाले सरकारलाई समर्थन गर्ने बताए पनि मन्त्रिमण्डलमा सहभागी नहुने सार्वजनिक गरिसकेको छ ।
सरकारका प्रवक्ता एवम् मन्त्री कार्कीले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन गर्ने निर्णय भएको पनि बताएका छन् । प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग आफूले सरकारको तर्फबाट छलफल गरेको उल्लेख गर्दै सहमतिका आधारमा बजेट संशोधन हुने उनले बताए ।
ज्ञातव्य छ, सर्वोच्चले गत असार २८ गते परमादेश दिँदै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको थियो ।
pict:rss
प्रतिक्रिया