एमसीसीलाई राजनीतिकरण गर्न खोजिएको प्रधानमन्त्री देउवाको आरोप

एमसीसीलाई राजनीतिकरण गर्न खोजिएको प्रधानमन्त्री देउवाको आरोप



प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा राजनीतिकरण गर्न खोजिएको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीका बारेमा भ्रम सिर्जना गर्न र राजनीतिकरण गर्न खोजिएको बताए । नेपालको विकासका लागि एमसीसी एकाएक आएको विषय नभएको भन्दै उनले कानूनी प्रक्रिया पूरा गरेर सरकारले प्राप्त गरेको अनुदान भएको उल्लेख गरे ।

कांग्रेस सचेतक पुष्पा भुसालले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताइन् । एसीसीका बारेमा अन्य दलसँग पनि छलफल र सम्वाद गरिने भुसालले जानकारी दिइन् ।

बैठकमा देउवाले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न र अनिवार्य उपस्थीत हुन निर्देशन दिएका थिए । त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा अध्यादेश पेश गर्ने जानकारी दिए । राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार नै सदनमा पेश गर्ने र अन्य अध्यादेशलाई पनि क्रमश पेश गर्ने कांग्रेस सचेतक भुसालले बताइन् ।

कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाका बारेमा जानकारी गराउंदै बुधबारको संसद बैठकमा सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन पेश गर्ने बताएका थिए । संघीय संसदको दुवै सदनको अधिवेशन बुधबार अपरान्ह चार बजे बोलाइएको छ ।