एमाले अध्यक्ष केपी ओलीले एमाले अब २ जेठ ०७५ मा जस्ताको तस्तै नफर्कने प्रस्ट्याएका छन् । विगतमा माधव नेपालसँग लागेका तेस्रोे पक्षका नेताहरू १०बुँदे सहमतिअनुरूप पार्टी २ जेठ ०७५मा फर्केको भन्दै एकताको पक्षमा अगाडि बढेका बेला अध्यक्ष ओलीले यस्तो प्रष्टिकरण दिएका हुन् । १०बुँदे सम्झौतालाई उपयोग गर्दै अगाडि बढिएको उनको भनाइ छ ।
पोखरामा मंगलबार एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हिजो माधव नेपालसँग लागेर अहिले पार्टीमा रहेकाहरूलाई सजिलोसँग अप्ठ्यारो नमानी अगाडि बढ्न आग्रह गरे । ‘असहज मनका साथ नचलौँ, भारी मनका साथ नचलौँ । कतिपय ठाउँमा विनासित्ति जेठ २ भनेर उचालिएका पनि छन् । यो बिरालो बाँधेजस्तो होइन । यो कसैसँगको पार्टीसँग गरिएको सम्झौता होइन,’ उनले भने, ‘माधव नेपाललाई पनि रोक्नका लागि बनाइएको कार्यदलले गरेको सम्झौता हो । हामीले यसलाई उपयोग गरेका छौँ । यसलाई हाउगुजीका रूपमा नलिनुहोस् । सक्रियताका साथ अगाडि बढौँ ।’
कतिपयले जेठ २ लाई समस्याको रूपमा लिएको र के हुन्छ भनेर हेरेको भन्दै अध्यक्ष ओलीले त्यो १०बुँदे सहमति समस्या समाधानका लागि भएको भनेका छन् । ‘१०बुँदे सहमति जसोजसो गर्दा समस्या समाधान हुन्छ, त्यसैत्यसै गर्नका लागि हो,’ उनले भने ।
हिजो अन्तर्संघर्ष ठानिएर अलमलमा परेका नेता–कार्यकर्ताहरू अहिले पार्टीमा एकढिक्का भएर लागेको उनको दाबी छ । हिजो माधव नेपालतर्फ लाग्नेहरू हामी झुक्किएका रहेछौँ भन्दै आएको र आफूहरू एकै कित्तामा रहेको अध्यक्ष ओलीले बताए । ‘पार्टीमा अन्तर्संघर्ष ठानिएका बेला त्यतातर्फ लागेकाहरू अहिले पार्टी विभाजन गर्ने नियत देखेपछि पार्टी फुट्न हुन्न भनेर लाग्ने र हामी एक कित्तामा छौँ । माधव नेपालको पार्टी फुटाएर प्रतिक्रियावादीहरूलाई फाइदा पुर्याउने नियत रहेछ भन्ने बुझेकाहरू एक ठाउँमा छौँ । बिग्रिएका, सडेगलेको कम्युनिस्ट पार्टी ध्वस्त पार्नुपर्छ भन्नेहरू एकातर्फ छन् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी प्रतिपक्षमा छ भनेर निराश नहुनसमेत पार्टीका कार्यकर्तालाई आग्रह गरे । देशका समस्यातर्फ सरकारको ध्यान नरहेको र देशले दुःख पाउन थालेको उनले बताए । एमाले नेता–कार्यकर्ताहरू धनुषबाट छुटेको वाँणजस्तो गतिमा अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । ‘हामी धनुषबाट छुटेको वाँणजस्तो सन्सनाएर अगाडि बढ्छौँ । हाम्रो संकल्प देश बनाउने हो । देशका दाजुभाइहरूले मनोबल गिराउने काम गर्नुहुँदैन,’ उनले भने ।
ओलीले बेलायतमा ब्रिटिस गोर्खाले गरेको आन्दोलनलाई आफूहरूले सम्बोधन गरेको दाबी गरे । सम्बोधनका क्रममा उनले भने, ‘ब्रटिस गोर्खाको आवाज सम्बोधन गर्यौँ । प्रतिपक्षमा भए पनि हामीले समस्या हल गर्यौँ । हामी प्रतिपक्षमा भए पनि दबाब दिएर यसको निकास दिएका हौँ,’ उनले भने ।
प्रतिक्रिया