कोइराला खेमामा चिरैचिरा !
आगामी मङ्सिर ९ देखि १४ गतेसम्म हुने महाधिवेशनमा देउवाले आफ्नो सत्ताइस वर्षीय छोरा जयवीर सिंहलाई पनि केन्द्रीय सदस्यको उम्मेदवार बनाएर जिताउनेबारे पारिवारिक छलफल चलिरहेको बुझिएको छ । जयवीर सिंहलाई केन्द्रीय सदस्यको उम्मेदवार नबनाइएको स्थितिमा आरजु राणालाई सह-महामन्त्रीको उम्मेदवार बनाउने बताइएको छ । काङ्ग्रेसभित्रका विभिन्न गुट-उपगुटमध्ये सबैभन्दा सशक्त र बलियो गुट शेरबहादुर देउवाकै मानिन्छ ।
सत्तारुढ नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनको प्रारम्भ भएको छ । वडा तहको अधिवेशन सम्पन्न गरेर काङ्ग्रेसले आफ्नो वैधानिकता जोगाएको छ । काङ्ग्रेसको अधिवेशनमा वैचारिक एवम् सैद्धान्तिक बहस-छलफल हुन छोडेको दशकौँ भइसकेको छ । केवल प्रतिनिधि चुन्ने र अर्को पाँच वर्षका निम्ति नेताहरूले आफ्नो हैसियत सूरक्षित तुल्याउने उद्देश्यले मात्र काङ्ग्रेसको महाधिवेशन हुँदै आएको छ । चौधौँ महाधिवेशनका क्रममा पार्टीको सदस्य सङ्ख्या बढाउन जस्तासुकै व्यक्तिलाई क्रियाशील सदस्यता दिलाएको र पुराना-निष्ठावान एक लाख भन्दा बढी कार्यकर्ताहरूले सदस्यता नवीकरण नगराएकोले काङ्ग्रेसमा अब ‘लठैत’हरूको सङ्ख्या बढेर जाने निश्चित भएको छ । निष्ठावानभन्दा लठैतहरूको सङ्ख्या ज्यादा भएकै कारण महाधिवेशनमा सत्ता र शक्ति भएतिर मतदाताहरू आकर्षित हुने सम्भावना बढेको छ ।
यही भदौ २७ गतेदेखि ७८ वर्ष पूरा भएर उनासीमा प्रवेश गर्न लाग्नुभएका वर्तमान सभापति शेरबहादुर देउवाले अर्को एक कार्यकालका निम्ति पुनः सभापति बन्ने तयारी गर्नुभएको छ । आगामी मङ्सिर ९ देखि १४ गतेसम्म हुने महाधिवेशनमा देउवाले आफ्नो सत्ताइस वर्षीय छोरा जयवीर सिंहलाई पनि केन्द्रीय सदस्यको उम्मेदवार बनाएर जिताउनेबारे पारिवारिक छलफल चलिरहेको बुझिएको छ । जयवीर सिंहलाई केन्द्रीय सदस्यको उम्मेदवार नबनाइएको स्थितिमा आरजु राणालाई सह-महामन्त्रीको उम्मेदवार बनाउने बताइएको छ । काङ्ग्रेसभित्रका विभिन्न गुट-उपगुटमध्ये सबैभन्दा सशक्त र बलियो गुट शेरबहादुर देउवाकै मानिन्छ । जनकपुरका विमलेन्द्र निधिले देउवालाई परित्याग गरेको भए पनि त्यसको खासै असर परेको छैन । त्यसैले निधिले देउवाको निकै कम मात्र मत काट्ने देखिएको छ ।
महामन्त्री पूर्णबहादुर खड्का तथा नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, भीष्म आङ्दम्बे, एनपी सावद, शङ्कर भण्डारी, विश्वप्रकाश शर्मा र रमेश लेखकलगायतले शेरबहादुर देउवालाई बलियो आड दिँदै आएका छन् र, महाधिवेशनमा पनि उहाँहरूको साथ देउवालाई नै हुने निश्चित मानिएको छ । अन्ततः अर्जुन नरसिंह केसीले पनि देउवाको पक्षमा आफूलाई उभ्याउनुभयो भने कुनै आश्चर्य हुने छैन । देवेन्द्र कँडेल, पुष्पा भसाल, अमृत अर्याल, फरमुल्लाह मन्सुर, अजय चौरसियालगायतले पनि आफूलाई देउवाकै पक्षमा उभ्याएका छन् ।

उता कोइराला पक्षमा भने सभापतिको उम्मेदवार बन्न तीन जनाले निकै कसरत गरिरहेका छन् । डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला र रामचन्द्र पौडेलले कोइराला पक्षको साझा उम्मेदवार बन्न चर्को कसरत गरिरहेका छन् । सक्रियता, कार्यक्षमता र योग्यताका दृष्टिले डा. शेखर कोइराला कार्यकर्ताहरू माझ सर्वाधिक रुचाइएका नेता मानिन्छन् । तर कोइराला पक्षका नेताहरू उहाँलाई सभापतिको उम्मेदवार बनाउने पक्षमा देखिँदैनन् । नेता डा. रामशरण महत अलिक सिनियरमध्येबाट सभापतिको साझा उम्मेदवार बनाउने कसरतमा भएको बुझिन्छ । त्यस्तै, प्रकाशमान सिंह पनि आफू सभापतिको उम्मेदवार बन्न नपाउँदा बीपीपुत्र डा. शशाङ्क कोइरालालाई अघि सार्ने मानसिकतामा भएको बुझिन्छ । उता रामचन्द्र पौडेल भने आफूले एक मौका पाउनुपर्ने भन्दै समर्थन जुटाउन प्रयासरत छन् । कोइरला पक्षले पौडेललाई पयसपालि सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत नगर्ने निश्चित मानिएको छ । उम्मेदवार बन्न नपाएमा पौडेलले डा. शशाङ्क या डा. शेखर जोसुकै उम्मेदवार भए पनि समर्थन नगर्ने, बरु ‘अन्तर्घात’ गर्न सक्ने ठानिएको छ । शशाङ्कले सभापतिमा उम्मेदवारी दिएपछि शेखरलाई उपसभापति या महामन्त्रीको उम्मेदवार बनाइन सक्ने सम्भावना छ । त्यस्तो अवस्थामा प्रकाशमान सिंह र डा. रामशरण महतले उपसभापति र महामन्त्री जस्ता पदहरूमा उम्मेदवारी दिन सक्ने देखिए पनि पौडेलका निम्ति कुन पदीय जिम्मेवारी उपलब्ध गराउने भन्ने प्रश्न निकै जटिल बनेर उभिएको छ ।
युवा नेताहरूमध्ये गगन थापाले महामन्त्रीमा र डा. अमरेशकुमार सिंहले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेको बताइन्छ । विश्वप्रकाश शर्माले पनि महामन्त्रीमै इच्छा राखेको बुझिन्छ । तर, सिनियर नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, डा. नारायण खड्का, बालकृण खाण, डा. प्रकाशशरण महत र विजयकुमार गच्छदारलगायतलाई छोडेर विश्वप्रकाश शर्माले कसरी महामन्त्रीको उम्मेदवार बन्ने मौका पाउलान्, यो अझै पनि जिज्ञाशा र प्रतीक्षाको विषय बनेको छ ।
डा. शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाएर आफू महामन्त्रीको उम्मेदवार बन्ने ‘अन्तर्राष्ट्रिय स्तर’को तयारी गगन थापाले गरेका थिए । शेखरले सभापतिमा उम्मेदवारी दिन नपाएको अवस्थामा गगनले महामन्त्री पदमा स्वतन्त्र उम्मेदवारी देलान् या कुनै गुट समातेर आफूलई प्रस्तुत गर्लान् सो यकीन भइसकेको छैन ।
कोरोना प्रकोप बढेन र मङ्सिरमा महाधिवेशन भयो भने काङ्ग्रेसको आन्तरिक राजनीति यसैगरी अघि बढ्ने देखिन्छ, होइन भने विद्यमान स्थितिमा केही परिवर्तन आउने निश्चित मान्न सकिन्छ ।
कुन सभापति कसको पक्षमा ?
काङ्ग्रेसको जिल्ला अधिवेशनबाट शेरबहादुर देउवा र कोइराला पक्षका कति जना सभापतिहरू निर्वाचित हुने हुन्, त्यसको अनुमान गर्न सकिने अवस्था अहिले छैन । तर तेह्रौँ महाधिवेशनबाट देउवा सभापतिमा विजयी बनेको भए पनि उनको पक्षमा सतहत्तरमध्ये उनान्तिस जिल्लाका सभापतिहरू मात्र थिए । कोइराला पक्षका भने सतचालिस जिल्ला सभापतिहरूले चुनाव जितेका थिए । यस प्रकरणले जिल्ला सभापतिहरूमा जुन पक्षको पकड कायम भए पनि केन्द्रीय सभापति बन्न बेग्लै ढङ्गले कसरत गर्नुपर्ने स्पष्ट गरेको छ । पाठकहरूको जानकारीका निम्ति तेह्रौँ महाधिवेशनबाट निर्वाचित दुवै पक्षका जिल्ला सभापतिहरूको नाम यहाँ प्रस्तुत गरिएको छ ।
देउवा पक्ष
१. हर्क जंगबहादुर सिंह, बझाङ
२. अंगरु बुढा, डोल्पा
३. विष्णु पौडेल, स्याङ्जा
४. हरि बोहोरा, कञ्चनपुर
५. नरनारायण शाह, कैलाली
६. प्रदीप देउवा, डोटी
७. कविराज पण्डित, बाजुरा
८. भरत स्वाँर, अछाम
९. प्रदीप सुनुवार, ओखलढुंगा
१०. अजय सुवेदी, पर्सा
११. दिनेश यादव, सप्तरी
१२.जयचन्द्र चौरसिया, बारा
१३. कृष्ण यादव, रौतहट
१४. इन्द्र बानियाँ, मकवानपुर
१५. मदन अमात्य, ललितपुर
१६. दुर्लभ थापा, भक्तपुर
१७. नागेन्द्र राय, सर्लाही
१८. महेन्द्र राय सर्लाही
१९. महेश गिरी, धनुषा
२०. रुद्रबहादुर खड्का, दोलखा
२१. रामचन्द्र यादव, सिरहा
२२. जयपति रोकाय, हुम्ला
२३. कीर्ति खड्का, दाङ
२४. अब्दुल रज्जाक, रूपन्देही
२५. कुमार राना, स्याङ्जा
२६. केशरमान रोकाया, पूर्वी रुकुम
२७. दीपेन्द्र थापा, बागलुङ
२८. सुरेन्द्र आचार्य कपिलवस्तु
२९. खमबहादुर गर्बुजा, म्याग्दी
कोइराला पक्ष
१. अग्नी पौडेल, धनकुटा
२. नन्दमणि राई, भोजपुर
३. हिमालय कर्माचार्य, इलाम
४. नरेन्द्र केरुङ, पाँचथर
५. गोविन्द ढुङ्गाना, तेह्रथुम
६. दीपन श्रेष्ठ, संखुवासभा
७. उज्वल बराल, सिन्धुली
८. लवश्री न्यौपाने, रामेछाप
९. विनोद बस्नेत सोलुखुम्बु
१०. डीकबहादुर लिम्बु, मोरङ
११. राजीव कोइराला, सुनसरी
१२. नरेश श्रेष्ठ, खोटाङ
१३. रमेश धमला, धादिङ
१४. विदुर बस्नेत, उदयपुर
१५. जगदिश नरसिंह केसी, नुवाकोट
१६. कृष्ण सबुज बानियाँ, काठमाडौं
१७.मधु आचार्य, काभ्रे
१८. विकास लामा, सिन्धुपाल्चोक
१९. जितनारायण श्रेष्ठ, चितवन
२०. हरिबहादुर घले, गोरखा
२१. बैकुण्ठ न्यौपाने, तनहुँ
२२. कृष्ण केसी, कास्की
२३. टेबहादुर गुरुङ, मनाङ
२४. भेषबहादुर पौडेल, लमजुङ
२५. याङ्जीङ विष्ट, मुस्ताङ
२६. भुवन श्रेष्ठ, गुल्मी
२७. वीरबहादुर राना, पाल्पा
२८. विष्णु खनाल, अर्घाखाँची
२९. विष्णु लामिछाने, नवलपरासी पूर्व
३०. हर्षबहादुर कम, कालिकोट
३१. खिमप्रसाद भुसाल, पर्वत
३२. अमरसिंह पुन, रोल्पा
३३. दीपबहादुर शाही, जुम्ला
३४. गणेशचन्द्र सल्यान
३५. खड्गबहादुर शाही, मुगु
३६. सञ्जय गौतम, बर्दिया
३७. दीपकजंग शाह, जाजरकोट
३८. अमर भण्डारी, प्युठान
३९. कृष्ण बीसी, दैलेख
४०. कमलराज रेग्मी, सुर्खेत
४१. किरण कोइराला, बाँके
४२. पेम्बा छिरिङ तामाङ, रसुवा
४३. ललितसिंह बोहोरा, दार्चुला
४४. कर्ण मल्ल, डडेल्धुरा
४५. उद्धव थापा, झापा (सिटौला)
४६. लीला बोखिम, ताप्लेजुङ (सिटौला)
४७. नरेन्द्र सिंह थापा, बैतडी
प्रतिक्रिया