कुस्तीका राष्ट्रिय खेलाडीको आकस्मिक मृत्यु

कुस्तीका राष्ट्रिय खेलाडीको आकस्मिक मृत्यु



कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।

‘बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पुऱ्याएँ, केही पनि भएको थिएन, अस्पताल पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो’, मृतकका बुवा खड्क भट्टले भने । बताइएअनुसार बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए ।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताउनुभयो । ‘आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो’, प्रशिक्षक चन्दले भने, ‘खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो ।’