प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल विस्तार गरिएको छ । विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ ।
नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हिराकुमार थापा रहेका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्ति गरिएको छ ।
प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासीले बुधबार साँझ मुख्यमन्त्री भीमप्रसाद आचार्यको सिफारिसमा नियुक्त मन्त्री न्यौपाने र थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार शपथ गराएका हुन् ।
यसैगरी मुख्यमन्त्री आचार्यले राज्यमन्त्री बस्नेत, राजवंशी र अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए । सो समारोहमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचार तथा सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

pict:rss
प्रतिक्रिया