विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आज (१ असोज)देखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुरु भएको छ । नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो ।

बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार बन्दीपुर पुगिसकेका छन् । बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिएका छन् । बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैले मेस चलाउने उनको भनाइ छ । बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ ।

बताइएअनुसार बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन् । बैठककक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको छ ।

एटमले जानकारी दिएअनुसार बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।

गत हप्ताको लागि नै तयारी गरिएको बैठक एमसीसी परियोजनाका उपाध्यक्षको नेपाल आगमनलाई लिएर केही राजनीतिक घटनाक्रम बढ्ने बुझाइले स्थगित गरिएको सम्बद्ध पक्षले जनाएको छ ।