पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहद्वारा राजीनामा

पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहद्वारा राजीनामा


नवजोत सिंह सिद्दु मुख्यमन्त्री बन्दै


भारतको पञ्जाब राज्यका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाएका हुन् ।

मुख्यमन्त्री सिंह र पञ्जाब कांग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच पञ्जाबमा शक्ति संघर्ष चल्दा पञ्जाब कांग्रेसमा लामो समयदेखि विवाद चर्किएको थियो । उक्त विवादका बीच केही समयअघि कांग्रेसले सिद्दुलाई पञ्जाब कांग्रेसको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

भारतीय कांग्रेसको ‘उच्च नेतृत्व’ले सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न बाध्य पारेको दाबी गरिएको छ ।

सञ्चारमाध्यमहरूमा आएका रिपोर्टहरूमा पञ्जाब कांग्रेसका ८० मध्ये ५० जना सांसदले पार्टीअध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेर सिंहलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेपछि उनले पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ ।

सिंहलाई संसदीय दलको नेताबाट हटाउनको लागि शनिबार साँझ बैठक बोलाइएको तर त्यसअघि नै सिंहले राजीनामा दिएका एएनआईल जनाएको छ ।

राजीनामासँगै सिंहले क्रिकेटरबाट राजनीतिज्ञ बनेका सिद्दुलाई पञ्जाबको मुख्यमन्त्री बनाउन नहुने अभिव्यक्ति दिएका छन् । देश हित चाहनेले सिद्दुको समर्थन गर्न गर्न नसक्ने उनको तर्क छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेना प्रमुख जनरल कमर जावेद बाजवा सिद्दुको खास मित्र रहेकाले उनलाई मुख्यमन्त्री बनाउन नहुने जिकिर उनले गरेका छन् । तर, अमरेन्द्र सिंहको विरोधका बाबजुद मुख्यमन्त्रीमा सिद्दु नै सोनिया गान्धीको छनोटमा परेका भारतीय मिडियाहरुले जनाएका छन् ।